Comments Add Comment

माधव नेपाल समूहको निष्कर्ष : विभाजन रोक्ने, समर्पण नगर्ने

नेपाल समूहको भेलाको फाइल तस्वीर ।

१५ चैत, काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले पार्टीभित्र समानान्तर संगठन निर्माणलाई निरन्तरता दिने भएको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य एवम् सांसदहरुको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निष्कर्ष निकालेको हो ।

गएको ४–५ चैतमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाकै म्याण्डेटअनुसार, पार्टीभित्रै अन्तरसंघर्ष गर्न समानान्तर कमिटी निर्माणको अभियान तीव्र पारिने केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन् । ‘राष्ट्रिय भेलाको निर्णय कार्यान्वयन गर्नेतिर जान्छौं । त्यो भनेको पार्टी पुनर्गठन प्रमुख हो’, उनी भन्छन् ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि यो समूहले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना र विधानअनुसार बैठक बोलाउनुपर्ने माग राख्दै आएको छ । तर, यसबीचमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यको बैठक राखी विभिन्न निर्णय गरेका थिए र उक्त निर्णय फिर्ता नहुने अडानमा छन् । शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा पनि ओलीले कुनैपनि बैठकले गरेको निर्णय फिर्ता नहुने बताएका थिए ।

बरू, नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई समानान्तर गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरण सोधिएपछि कालीमाटीमा भएको अनौपचारिक छलफलले समानान्तर संगठन निर्माणलाई जोड दिँदै अन्तरसंघर्ष गर्ने निष्कर्ष निकालेको छ ।

‘हामी प्रष्ट छौं । पार्टीलाई विभाजनबाट रोक्ने, तर समर्पण नगर्ने’, केन्द्रीय सदस्य गैरे भन्छन् । अर्थात्, छुट्टै पार्टी निर्माण नगर्ने, तर एमालेभित्रै समानान्तर संगठन बनाउने यो समूहको निष्कर्ष छ । ओलीले भने नेपाल र रावलको स्पष्टिकरणपत्र कार्बाही योग्य भएको बताएका छन् । भुसाल र पाण्डेले भने पत्र पठाएको छैनन् ।

दस्तावेज सहित जाने

अखिल नेपाल महिला संघ, अनेरास्ववियु र युवा संघमा समानान्तर नेतृत्व चयन गरिसकेको यो समूहले प्रदेश र जिल्ला संगठनमा पनि छुट्टै नेतृत्व चयन गर्ने प्रक्रिया नरोक्ने भएको छ । ‘राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार, पार्टी पुनर्गठनलाई नरोक्ने निर्णय भएको छ’, केन्द्रीय सदस्य दिलु पन्तले भनिन् ।

समानान्तर संगठन निर्माण गरिरहँदा विभिन्न दस्तावेज समेत लिएर जाने यो समूहले तयारी गरेको छ । राष्ट्रिय भेलामा नेता नेपालले प्रस्तुत गरेको दस्तावेज थप परिस्कृत गरेर मातहतको कमिटीमा पठाइने भएको छ । सँगै, ओलीले पठाएको र त्यसको प्रतिस्पष्टिकरणमा लेखिएको पत्र पनि सामेल गरिने भएको छ । यसबाहेक एमाले कसरी ब्यूँतियो र अब पार्टीभित्रै कसरी अगाडि बढ्ने भन्नेबारे दस्तावेज पनि पठाउने तयारी यो समूहले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment