Comments Add Comment

के बिमस्टेक बैठकमा उठ्ला म्यानमार नरसंहारको विषय ?

१६ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरूको भर्चुअल बैठक आगामी बिहीबार बस्दैछ । त्यसअघि बुधबार बिमस्टेकका उच्च अधिकारीहरूको बैठक बस्नेछ ।

बिमस्टेकको एक सदस्य मुलुक म्यानमारमा भइरहेको नरसंहारको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । भर्जुअल रूपमा आयोजना हुने बिमस्टेकको सातौं बैठकका लागि आयोजक मुलुक श्रीलंकाले म्यानमारसहित सबै सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरूलाई निमन्त्रणा पठाएको छ । श्रीलंकाले म्यानमारलाई पत्र पठाएको विषयमा यस अगाडि नै आलोचना भइसकेको छ ।

म्यानमारको सेनाले फेब्रुअरी १ मा शासनसत्ता आफ्नो हातमा लिएपछि त्यहाँ प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै आन्दोलन भइरहेको छ । म्यानमारमा सैन्य ‘कू’ पछि सरकारले उन्ना माउङ लिउनलाई परराष्ट्रमन्त्री बनाएको छ ।

उनी पहिलो पटक बिमस्टेक बैठकमा सहभागी हुँदैछन् । पछिल्ला दिनहरूमा म्यानमारमा सेनाले दमनलाई तीव्र बनाएको छ । त्यहाँ एकैदिन दर्जनौं प्रदर्शनकारीको हत्या हुन थालेको छ । शनिबार एकै दिन त्यहाँ ९० भन्दा बढी प्रदर्शनकारी मारिएका थिए ।

यस पटकको बैठकको एजेण्डा बिमस्टेक शिखर सम्मेलनको मिति तय गर्नु हो । हरेक दुई वर्षमा हुनुपर्ने बिमस्टेकको शिखर सम्मेलन सन् २०२० मै हुनुपर्ने थियो तर कोरोना महामारीका कारण हुन सकेन । यो वर्ष सकेसम्म भौतिक रूपमा नभए भर्जुअल रूपमा नै पनि सम्मेलन गर्ने तयारी छ ।

भारतलगायत बिमस्टेक सदस्य मुलुकहरूले म्यानमारमा भएको नरसंहारको चर्काे रूपमा विरोध गरेका छैनन् । नेपाल, भारतलगायत मुलुकले ‘कू’ को निन्दा गरे पनि पछिल्लो समयमा भएको नरसंहारको विषयमा भने खासै प्रतिक्रिया जनाएका छैनन् ।

शनिबार एकैदिन ९० जना प्रदर्शनकारीको मृत्यु भएकै दिन त्यहाँको सेनाले आयोजना गरेको सैन्य परेडमा म्यानमारस्थित भारतीय दूतावासका एक प्रतिनिधि सहभागी भएको भनी आलोचना भइरहेको छ ।

के बिमस्टेक परराष्ट्रमन्त्रीहरूको बैठकमा म्यानमार नरसंहारको विषय उठ्ला ? म्यानमारमा भइरहेको हिंसा अब त्यहाँको आन्तरिक मामिलामा सीमित नभएकाले उठ्नुपर्ने विश्लेषकहरू बताउँछन् ।

यस्तो बैठकमा के–के विषय उठाउने वा नउठाउने भन्ने निक्र्योल चार्टरले निर्धारण गर्छ । तर, बिमस्टेकको चार्टरले अहिलेसम्म अन्तिम रूप पाएको छैन ।
सरकारी अधिकारीका अनुसार परराष्ट्रमन्त्रीस्तरीय एजेण्डा पहिला नै तय हुने र त्यसमा मात्रै छलफल हुन्छ । तर, बैठकको एजेण्डा नबने पनि सदस्य मुलुकहरूले नरसंहारको विषय उठाउनुपर्ने विश्लेषकहरूको धारणा छ ।

भूराजनीतिक विश्लेषक चन्द्रदेव भट्ट म्यानमारमा लगातार सर्वसाधारणको हत्या भइरहेकोले बिमस्टेकमा परराष्ट्रमन्त्रीहरूले यो विषय उठाउनुपर्ने बताउँछन् ।

पूर्व राजदूत एवं परराष्ट्रविद् सुरेशचन्द्र चालिसे बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा म्यानमारको विषय उठ्नुपर्ने र नेपाललगायत अन्य मुलुकले विरोध जनाउनुपर्ने बताउँछन् ।

चालिसेले अनलाइनखबरसँग भने, ‘यो म्यानमारको आन्तरिक मामिला मात्रै होइन, मानवताविरुद्धको अपराध हो, त्यसैले बलियोसँग यो विषय उठाउनुपर्छ ।’ उनले नेपालले यो विषय उठाउनुपर्ने र म्यानमारमा भएको नरसंहारको विरोध गर्नुपर्ने बताए ।

‘बिमस्टेक क्षेत्रीय सहकार्यका विषयहरू छलफलका हुन् । तर, एक सदस्य मुलुकमा नरसंहार भइरहेको छ भने अन्य मुलुक चुप लागेर बस्न मिल्दैन,’ उनले थपे ।

नेपाल, श्रीलंका, बंगलादेश, भूटान, भारत, म्यानमार र थाइल्याण्ड बिमस्टेकका सदस्य मुलुक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment