Comments Add Comment

बढ्दैछ विद्युतीय चुल्होकाे प्रयाेग

१६ चैत, काठमाडौं । मानिसहरूले घरायसी रूपमा प्रयोग गर्ने ऊर्जा ग्याँसको विकल्पका रूपमा विद्युतलाई लिन थालेको तथ्यांकहरूले देखाएको छ । नियमित विद्युत आपूर्तिसँगै खाना पकाउने वैकल्पिक ऊर्जाको स्रोतका रूपमा विद्युतीय चुल्हो (इन्डक्सन तथा इन्फारेड) बन्न थालेको हो ।

वैकल्पिक ऊर्जाका रूपमा विद्युतीय चुल्होको प्रयोग बढेपछि यसको आयात हजारबाट लाखको संख्यामा हुन थालेको छ । जसले गर्दा ग्याँसको बिक्रीमा असर परेको छ ।

खाना पकाउने ग्याँसको आयातमा संकुचन देखिएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै भारतबाट खरिद गरिने खाना पकाउने ग्याँसको आयात झण्डै २५ लाख किलोले घट्दा विद्युतीय चुल्होको आयात ४६९ गुणाले बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा ६९ लाख ५२ हजार रुपैयाँ बराबरको २५६ थान विद्युतीय चुल्हो आयात हुँदा चालु आवमा सो चुल्होको आयात परिणाम एक लाख २० हजार २६८ थान पुगेको छ । आयात रकम पनि १९ करोड ४ लाख ६१ हजार रुपैयाँभन्दा धेरै छ ।

बढ्दै विद्युतीय चुल्होको आयात

आर्थिक वर्ष २०७३/७४ मा नेपालमा ९६ लाख ७ हजार रुपैयाँ बराबरको दुई हजार ७७४ थान विद्युुतीय चुल्हो आयात भएको थियो । यसभन्दा अघिका वर्षहरूमा अत्यन्तै न्यून मात्रामा आयात हुने इन्डक्सन तथा इन्फारेड चुल्होको आयात त्यसपछि एकाध वर्षबाहेक बढ्दै गएको भन्सार विभागको विवरणमा देखिन्छ ।

चालु आर्थिक वर्षको आठ महिनामा मात्रै भारतबाट खरिद गरिने खाना पकाउने ग्याँसको आयात झण्डै २५ लाख किलोले घट्दा विद्युतीय चुल्होको आयात ४६९ गुणाले बढेको छ ।

आव २०७३/७४ को तुलनामा झण्डै दोब्बरले आव २०७४/७५ मा विद्युतीय चुल्होको आयात बढेको देखिन्छ । उक्त आर्थिक वर्षमा १४ करोड ७८ लाख ८ हजार रुपैयाँ बराबरको ५ हजार ५९५ थान विद्युतीय चुल्हो आयात भएको तथ्यांक छ ।

आव २०७५/७६ मा खस्किएको विद्युतीय चुल्होको आयात २०७६/७७ मा भने निकै बढेको छ । आव २०७५/७६ मा ५९७ थान आयात भएको यस्ता चुल्हो त्यसको पछिल्लो वर्ष २ करोड ४८ लाख ९८ हजार रुपैयाँ बराबरको १० हजार ४३५ थान नेपाल भित्रिएको थियो । आव २०७६/७७ को फागुनसम्म २५६ थान मात्रै भित्रिएको सो चुल्होको चालु आवको फागुनसम्म तुलना गर्ने हो भने झण्डै ४६९ गुणाले धेरै छ । यस वर्षको फागुनसम्म एक लाख २० हजार २६८ थान विद्युतीय चुल्हो नेपाल भित्रिइसकेको छ ।

एक सिलिण्डर ग्याँसले ६ महिना धान्न थाल्यो !

निकै बचत गरेर प्रयोग गर्दा पनि दुई महिनामा एक सिलिण्डर ग्याँसको खपत गर्ने ग्राहक अहिले ६ महिनामा नयाँ सिलिण्डरका लागि आउने गरेको सानोभ¥याङ काठमाडौंमा रहेको साईबाबा र श्रीराम ग्याँसकी खुद्रा बिक्रेता बताउँछिन् ।

ठूलो असर छैन तर ग्याँसका उपभोक्ता विस्तारै विद्युतीय चुल्होमा सर्दै गरेको देखिएको उनको अनुभव छ । ‘आफूले मन खाएका र चिनिरहेका ग्राहकहरूलाई किन ग्याँस नलगेको भनेर सोध्दा उनीहरूले इन्डक्सन किनेका छौं, बिजुली आइराखेको छ,’ भन्ने जवाफ दिएको उनले सुनाइन् ।

केही वर्षदेखि खाना पकाउने ग्याँसको खुद्रा बिक्री गर्दै आएका काठमाडौं वनस्थलीस्थित नर्सरी चोकको गोरखाकाली ग्याँस स्टोरका सञ्चालक शिवलाल अधिकारी इन्डक्सनको असर ग्याँसमा परेको स्वीकार्छन् ।

‘ठूलो परिमाणमा त होइन तर हरेक घरमा इन्डक्सन प्रयोग गर्दा ग्याँसको बिक्रीमा केही कमी आएको छ । डेट नै टिपेर ग्याँस मगाउने ग्राहकहरू अहिले इन्डक्सनका कारण घटेका छन्,’ अधिकारीले अनलाइनखबरसँग भने ।

शहरी क्षेत्रमा विद्युतीय चुल्होको असर ग्याँसको बिक्रीमा आंशिक रूपमा परेको नेपाल एलपी ग्याँस उद्योग संघले जनाएको छ । ग्याँसको वितरणमा विभिन्न समयमा देखिएको समस्याका कारण आंशिक रूपमा विद्युतीय चुल्होको प्रयोग बढेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । देशभर दैनिक एक लाख सिलिण्डर ग्याँसको खपत रहेको र शहरमा ग्याँस प्रयोगमा संकुचन आएको छ । तर ग्रामीण क्षेत्रमा फैलिएको ग्याँसको प्रयोग र खपतका कारण आयातमै भने असर नपरेको भण्डारीले बताए ।

 

खोसाखोस विद्युतीय चुल्हो

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्ष र यस वर्ष गरी दुईपटक विद्युतीय चुल्होको बिक्री गर्‍यो । सरकारी कम्पनीले बिक्री गर्न राखेको दुवै पटक उपभोक्ताले विद्युतीय चुल्हो किन्न खोसाखोसकै अवस्था आएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

‘हामीले पहिला चाइनिज इन्फारेड र पछि बाल्ट्राको इन्डक्सन बिक्रीमा राख्यौं दुवैपटक उपभोक्ताले निकै रुचाएर खरिद गरे,’ सूचना अधिकारी सुवेदी भन्छिन्, ‘विद्युतीय चुल्हो खाना पकाउने ग्याँसभन्दा तुलनात्मक रूपमा सस्तो र छिटो हुने भएपछि उपभोक्ताहरूको आकर्षण बढेको देखियो ।’

कम्पनीले दुई पटकमा गरेर ७ हजार ४२७ थान विद्युतीय चुल्होको व्यापार गरेको र अझै थप बिक्रीको तयारी गरिरहेको जनाएको छ ।

ग्याँसको वितरणमा विभिन्न समयमा देखिएको समस्याका कारण आंशिक रूपमा विद्युतीय चुल्होको प्रयोग बढेको संघका अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।

ग्याँस र विद्युतीय चुल्होमा कुन सस्तो ?

२०७६ साल माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले एलपी ग्याँस, विद्युतीय चुल्हो र मट्टीतेलबाट खाना पकाउँदा लाग्ने खर्चबारे एक अध्ययन गरेको थियो । खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालकै पहिलो दाबी गरिएको उक्त अध्ययनअनुसार ग्याँसको तुलनामा विद्युतीय ऊर्जा प्रयोग गरेर खाना पकाउँदा ६० प्रतिशतले सस्तो हुन जाने देखिएको थियो ।

अध्ययन केन्द्रको अनुसन्धान अनुसार ग्राहकको रोजाइको विद्युतीय खाना पकाउने भाँडो भन्नाले माटोको हिटर, कुनै पनि ब्राण्ड वा कम्पनीको प्रेसर कुकर, कुनै पनि प्रकारका विद्युतीय हट प्लेटलगायत पर्दछन् । तर ती सामग्रीको सट्टामा विद्युतीय इन्डक्सन चुल्हो उपभोक्ताले प्रयोग गरे भने त्यसबाट हुने फाइदा अझ धेरै हुने अध्ययन केन्द्रको भनाइ छ ।अध्ययन टोलीका अनुसार ग्राहकको रोजाइको विद्युतीय सामग्रीबाट खाना बनाउँदा पाँच जनाको परिवारमा मट्टीतेलमा भन्दा १२६ रुपैयाँ र एलपीजीको तुलनामा ३६४ रुपैयाँ उपभोक्तालाई सस्तो पर्ने अध्ययनमा देखिएको थियो ।

घट्न थाल्यो ग्याँसको आयात

विद्युतीय चुल्होको आयात बढेसँगै भारतबाट खरिद गरिने खाना पकाउने ग्याँसको आयात पनि घट्न थालेको छ । आव २०७५/७६ मा ३५ अर्ब ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँ बराबरको ४२ करोड ८८ लाख ४० हजार १५७ किलो ग्याँस आयात भएको थियो ।

२०७६/७७ मा २७ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ बराबरको ४० करोड ६ लाख १८ हजार २९९ किलो ग्याँस आयात भएको छ । २०७७/७८ को प्रथम आठ महिनामा २१ अर्ब ५ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ करोड १० लाख १८ हजार ९६७ किलो मात्रै ग्याँस आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही समयावधिको तुलनामा २५ लाखभन्दा धेरै किलोले कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment