Comments Add Comment

विश्व बैंकको नयाँ प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत

फाइल तस्वीर

१८ चैत, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ । विश्व बैंकले बुधबार दक्षिण एसियाली भेगको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार देखिने उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो । यसमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो । तर, यो वृद्धिदरसमेत सरकारको अनुमान भन्दा भने निकै कम हो । कोरोना महामारीका बीचमा समेत सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीको वृद्धिदरको पूर्वानुमान गरेको छ ।

विश्व बैंकको पूर्वानुमानमा संशोधन

विश्व बैंकले यसअघि गत जनवरी र सन् २०२० को अक्टोवरमा गरेका पूर्वानुमानमा समेत संशोधन गरेको छ । संशोधन अनुसार नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो पुनरुत्थानको बाटोमा देखिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा १.४ प्रतिशतको मात्र वृद्धिदर हुने अनुमान जनवरीमा भएको थियो । तर, यसमा सुधार गर्दै विश्व बैंकले सो आवमा ३.९ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरेको छ । त्यसपछिको आव २०७९/८० मा भने नेपालले ५.१ प्रतिशतको वृद्धिदर कायम गर्न सक्नेछ । यो करिब कोरोना महामारी भन्दा अगाडिकै अवस्था हो ।

रेमिट्यान्स र खोप अभियानको सकारात्मक प्रभाव

नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीहरुले पठाउने रेमिट्यान्स मुख्य कारण मानिएको छ ।

संसारभर महामारी तीव्र रुपमा फैलिरहेको समयमा पनि नेपलमा रेमिट्यान्स आउने क्रम रोकिएको थिएन । यसबीचमा खोप अभियान समेत नेपालमा प्रभावकारी रुपमा अगाडि बढ्यो । यसले समेत आर्थिक गतिविधिमा वृद्धि देखिएको विश्व बैंकको भनाइ छ ।

भारतको लोभलाग्दो सुधार

विश्व बैंकको प्रक्षेपण अनुसार यो बीचमा भारतले अर्थतन्त्रमा लोभलाग्दो सुधार गर्ने भएको छ । गत आवमा भारतको आर्थिक वृद्धिदर माइनस ८.५ प्रतिशत रहेको थियो ।

यसमा ठूलो सुधार हुँदै चालु आवमै १०.१ प्रतिशत सम्म आर्थिक वृद्धिदर पुग्नेछ । त्यसपछिका दुई वर्षमा क्रमशः ५.८ प्रतिशत र ६.५ प्रतिशतको वृद्धिदर कायम रहने छ । यो वृद्धिदर अर्थतन्त्रका लागि निकै सन्तुलित अवस्था मानिन्छ । विश्व बैंकले भारतका लागि गरिएको पूर्वानुमानका तथ्यांक समेत सच्याएको छ ।

दक्षिण एसियामै सुधारको लहर

नयाँ प्रक्षेपण अनुसार सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधारको लहर आउने छ । यसमा ठूलो भूमिका भारतको रहने छ । सन् २०२० मा माइनस ५.४ प्रतिशतको नकारात्मक वृद्धिदर भोगेको यो भेगमा सन् २०२१ मा ७.२ प्रतिशतको वृद्धिदर कायम हुने पूर्वानुमान विश्व बैंकले गरेको छ । सन् २०२२ मा भने यस भेगमा ४.४ प्रतिशतको वृद्धिदर रहने भएको छ ।

तर, चुनौती अझै छन्

यद्यपि कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौतीहरु भने अहिले पनि कायम नै रहेको विश्व बैंकको भनाइ छ । यस भेगका करोडौं मानिसको रोजगारी गुमेको छ । आर्थिक गतिविधिहरु पूर्ण रुपमा सञ्चालनमा आउने सकेका छैनन् । सेवा क्षेत्रमा अहिले पनि अन्यौल र अवरोध कायम छन् । यसले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको जोखिम भने कायमै रहने विश्व बैंकको भनाइ छ । पर्यटनमा आधारित अर्थतन्त्र भएको माल्दिभ्सले सन् २०२० मा माइनस २८ प्रतिशतको नेगेटिभ वृद्धिदर भोगेको थियो । चालु वर्ष सन् २०२१ मा यो मुलुकको वृद्धिदर १७.१ प्रतिशत रहने छ । श्रीलंका र नेपाल समेत सेवा क्षेत्र र त्यसमा पनि पर्यटकबाट हुने आम्दानीमा बढी निर्भर रहेका मुलुक हुन् । विश्व बैंकले साउथ एसिया इकोनोमिक फोसक स्प्रिङ २०२१ नामक रिर्पोट सार्वजनिक गर्दै यस्तो बताएको हो ।

यस्तो रहने छ नेपालको आर्थिक वृद्धिदर

  • आव २०७६/७७ : –१.९ प्रतिशत (प्रारम्भिक)
  • आव २०७७/७८ : २.७ प्रतिशत (पूर्वानुमान)
  • आव २०७८/७९ : ३.९ प्रतिशत (पूर्वानुमान)
  • आव २०७९/८० : ५.१ प्रतिशत (पूर्वानुमान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment