Comments Add Comment

एनएसजेएफ एकेडेमीको औपचारिक शुभारम्भ

१८ चैत काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ)ले एनएसजेफ एकेडेमीको औपचारिक शुरुवात गरेको छ । बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै एनएसजेएफ एकेडेमीको शुभारम्भ गरिएको हो ।

मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्देश्यका साथ एकेडेमीको औपचारिक शुरुवात गरेको एनएसजेएफ एकेडेमीका संयोजक निरन्जन अधिकारीले बताए ।

खेलकुद पत्रकारको व्यावसायिक क्षमताको अभिवृद्धिका लागि एकेडेमीमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । तालिम, अनुसन्धान र खेलको अभिलेखलाई एकेडेमीमार्फत काम गर्ने मञ्चको योजना छ ।

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले खेल पत्रकारको व्यावसायिक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए । उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने बताए । ‘सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोगविना एकेडेमीको काम अघि बढाउन कठिन छ । एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षतासमेत अभिवृद्धि गर्नुपर्ने बताए । ‘धेरै खेलको रिपोर्टिङ भएको छैन । समाचारमा खेलको विस्तृत विश्लेषण हुँदैन । अब एकेडेमीले समग्रतामा सिंगो खेलकुदलाई मद्दत गर्छ ।’ उनले भने, ‘यसले खेलकुदलाई परिवर्तन गर्नेछ । ओलम्पिक कमिटी सहकार्य गर्न तयार छ ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै उनले खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए ।

नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानले अन्य एकेडेमीभन्दा एनएसजेएफले यसको महत्वलाई राम्रोसँग बुझाउन सक्ने धारणा राखे । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

एनएसजेएफका महासचिव प्रज्वल ओलीले खेलकुद विकासमा खेल पत्रकारको दक्षता अभिवृद्धिको विषयले भूमिका खेल्ने बताए । यसैगरी एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले एकेडेमीको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।

खेलकुद क्षेत्रको सम्मानका लागि हरेक वर्ष स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको मञ्चले खेलकुद पत्रकारको क्षमता वृद्धिका लागि एकेडेमी सञ्चालनमा ल्याएको हो । मञ्चले काठमाडौं र देशभरि गर्दै आएको प्रशिक्षण तथा अनुसन्धानका कार्यक्रमलाई एकेडेमी अन्तर्गत राखेर सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment