Comments Add Comment

शिक्षण संस्था बन्द गर्ने सरकारी निर्णय स्वेच्छिक कि वाध्यकारी ?

१८ चैत, काठमाडौं । उपत्यका बाहिरका धेरै स्थानीय तहले आफ्नो क्षेत्रमा वायु प्रदूषण नभएको भन्दै विद्यालय बन्द सञ्चालन गरिरहेका छन् ।

गत मंगलबारदेखि वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकामा केही निजी विद्यालयहरु खुलेका छन् । उपमहानगरपालिकाको असहमति हुँदा हुँदै वायु प्रदूषण नभएको भन्दै विद्यालयहरु खुलेका छन् ।

उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाधर रिमालले केही निजी विद्यालय खुले पनि कति वटा विद्यालय खुले भन्ने जानकारी नभएको बताए । उनले भने, ‘हामीले संघीय सरकारको निर्णय मानेका छौं । हामीसँग प्रदूषण मापन यन्त्र पनि छैन । खुला आँखाले घाम लागेको देखेर प्रदूषण छैन भन्न सकिने अवस्था छैन । खुल्ने विद्यालयले भोलि केही समस्या आए आफैं जिम्मेवार हुनेछन् ।’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सबै क्षेत्रमा प्रदूषण मापन केन्द्र नभएकोले र एक रुपता दिनको लागि यस्तो निर्णय गरेको बताउँछन् । ‘स्थानीय तहलाई निर्णय गर्नुहोस् भन्न सकिने अवस्था भएन किनभने सबै स्थानमा वायु प्रदूषण मापन यन्त्र छैन ।’

मेयर संघका महासचिव तथा धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले वायु प्रदूषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै सरकारले विद्यालय बन्द गर्ने निर्णय अधिकांश स्थानीय तहले स्वीकार गरेको बताए ।

‘संघीय सरकारले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकता दिएर बन्द गर्न अनुरोध गरेको थियो । उपत्यकाका सबैले स्वीकार गरेका छौं । बाहिरको केही स्थानीय तहले खोलेको जानकारी पाएका छौं ।’ उनले भने ‘उहाँहरुले वायु प्रदूषणको मापन गरेकै आधारमा निर्णय गर्नुभएको होला भन्ने अपेक्षा छ ।’

मोरङको विराटनगर नगरपालिका, कटहरी गाउँपालिका, इलामको इलाम नगरपालिका, रोङ गाउँपालिका, वीरगञ्ज महानगरपालिका, तनहुँको भिमाद गाउँपालिका, बुटवलको शुद्घोधन गाउँपालिका, बाराको कलैया उपमहानगरपालिकाले विद्यालय सञ्चालन गरिरहेका छन् ।

इलाम जिल्लाका १० स्थानीय तहमध्ये माई नगरपालिका र चुलाचुली गाउँपालिकाबाहेक ८ वटा स्थानीय तहले विद्यालय सञ्चालन गरिरहेका छन् । इलाम नगरपालिकाकी शिक्षा शाखा अधिकृत राधिका घिमिरेले इलामको मौसम सामान्य भएकोले विद्यालय बन्द नगरेको बताइन् ।

उनले भनिन् ‘यहाँको अवस्था विद्यालय नै बन्द गर्नुपर्ने खालको छैन र अप्ठ्यारो अवस्था आए बन्द गर्ने भनेर नगरस्तरीय निर्णय विद्यालय खोलिरहेका छौं ।’

विराटनगर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेको वायु प्रदूषण मापन यन्त्रले खतरा नदेखाएको भन्दै विद्यालय सञ्चालन गरिरहेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताए ।

‘हामीले विद्यालय संचालन गरिरहेका छौं’, उनले भने ‘कोभिडका कारण लामो समय बन्द भएर पठन पाठनमा समस्या भयो । अहिले पनि बन्द गर्दा थप समस्या होला भनेर सरकारले पत्र पठाए पनि बन्द नगर्ने नगरस्तरीय निर्णय गरेका हौं ।’

सरकारको निर्णय आएपछि सरोकारवाला निकायहरुले केन्द्र सरकारले स्थानीय सरकारको अधिकार खोसेको भन्दै असन्तुष्टि जनाएका थिए । कोभिड संक्रमणको बेला तयार पारिएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ ले स्थानीय तहलाई विद्यालय सञ्चालन तथा बन्द गर्ने निर्णय गर्ने अधिकार दिएको छ ।

तर शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सबै क्षेत्रमा प्रदूषण मापन केन्द्र नभएकोले र एक रुपता दिनको लागि यस्तो निर्णय गरेको बताउँछन् । ‘स्थानीय तहलाई निर्णय गर्नुहोस् भन्न सकिने अवस्था भएन किनभने सबै स्थानमा वायु प्रदूषण मापन यन्त्र छैन । त्यसैले यस्तो निर्णय गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment