Comments Add Comment

जनगणना सफल बनाउन आह्वान

१९ चैत, खोटाङ । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले सचेतना गोष्ठी गरेको हो ।

आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकार लगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी)ले जानकारी दिए ।

“जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो”,उनले भने,“सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचीकरण, जनगणना २०७८ को मुख्य दिन, जनगणनामा समेटिने विवरणका बारेमा पनि जानकारी गराइएको छ ।”

जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा गत चैत ३ गते जिल्ला जनगणना कार्यालय स्थापना गरिएको थियो । आगामी वैशाख १ गतेदेखि ४ गतेसम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहनेगरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइँचुम्मा गाउँपालिका कार्यक्षेत्र रहनेगरी हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा, बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिका कार्यक्षेत्र रहनेगरी खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा तथा रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐँसेलुखर्क गाउँपालिका कार्यक्षेत्र रहनेगरी रावाबेँसी गाउँपालिकाको कुभिण्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिने जनाइएको छ ।

दुई चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करीब ३६० जना जनशक्ति परिचालन गरिने कोइरालाले जानकारी दिए । नियुक्त भएका सुपरिवेक्षकले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम गर्ने जनाइएको छ ।

यस्तै, गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । पहिलो चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको सङ्ख्य, परिवारको कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण सङ्कलन गरिने कोइरालाले जानकारी दिए ।

दोस्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तिको जनसाङ्ख्यिक तथा अन्य विवरण सङ्कलन गरिने कार्यालयले जनाएको छ । जिल्ला जनगणना कार्यालयका अनुसार चैत २० गतेसम्ममा सुरपरिवेक्षकको सूची सार्वजनिक गर्ने, चैत १९ गतेदेखि २५ गतेसम्म स्थानीय जनगणना अधिकारी तालीम सञ्चालन गर्ने, चैत २९ र ३० गते स्थानीय जनगणना अधिकारीको नियुक्ति गर्ने, वैशाख १ गतेदेखि ४ गतेको बीचमा स्थानीय जनणनाको कार्यालय स्थापना गर्ने, वैशाख ११ गतेदेखि १५ गतेभित्रमा जनगणना सामग्री स्थानीय तहमा पठाउने तयारी गरिएको छ ।

यस्तै, वैशाख १३ गतेदेखि १५ गतेसम्ममा सुपरिवेक्षक नियुक्ति गरी जिम्मेवारी तोक्ने र तालीमको तयारी गर्ने, वैशाख १५ गतेभित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गर्ने, वैशाख १६ गतेदेखि २२ गतेको बीचमा सुपरिवेक्षक तालीम आयोजना गर्ने, वैशाख २४ गतेदेखि २५ गतेभित्र सुपरिवेक्षक कार्यक्षेत्रमा पुग्ने, वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने कार्यतालिका तयार गरिएको छ ।

जेठ १० गतेदेखि १४ गतेसम्ममा गणक नियुक्ति तथा जिम्मेवारी तोक्ने, जेठ १७ गतेदेखि २२ गतेसम्म गणकलाई तालीम दिने, जेठ २४ गते गणक कार्यक्षेत्रमा पुग्ने र जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने, जेठ २५ गतेदेखि असार ८ गतेकै अवधिमा गणनाको अनुगमन तथा सुपरिवेक्षणको काम हुने छ ।

असार १५ गतेदेखि २० गतेसममा सङ्कलित फारम रुजु गरी बुझ्ने, असार २३ गतेदेखि २७ गतेसम्ममा कन्ट्रोल फाराम दर्ता गर्ने, असार २८ गतेदेखि ३० गतेभित्र सङ्कलित फारम विभागमा पठाउने र असार असान्तमा जनगणनाको कार्यालय बन्द हुने जनाइएको छ ।

विसं २०६८ को जनगणना अनुसार दश स्थानीय तह रहेको खोटाङ जिल्लाको कूल जनसङ्ख्य दुई लाख छ हजार ३१२ थियो । यसमध्ये १७ हजार ६६२ विदेशमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment