Comments Add Comment

पर्वतारोहण सिजनले बढायो पर्यटक आगमन, लकडाउनपछि मार्चमा सर्वाधिक विदेशी भित्रिए

फाइल तस्वीर

१९ चैत, काठमाडौं । वसन्त ऋतुको पर्वतारोहण सिजन जारी छ । यस प्रयोजनका लागि नेपाल आउने पर्यटकको संख्या बढ्दा यसको सकारात्मक प्रभाव समग्र पर्यटक आगमनमा देखिएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार मार्च २०२१ मा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आए । यो संख्या गत एक वर्ष यताकै सबैभन्दा धेरै हो । सरकारले ११ चैत २०७६ मा लकडाउन सुरु गरेयता उक्त संख्यामा पर्यटक आएका थिएनन् ।

विभागका अनुसार मार्चमा ११ हजार २ पुरुष, ३ हजार ३ सय ६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएको देखिएको छ । मार्चमा भित्रिएको १५ हजार संख्यासहित सन् २०२१ को पहिलो तीन महिनामा कुल ३२ हजार ९ सय ९७ जना पर्यटक नेपाल आएका छन् । कोरोना र लकडाउन अगाडी यो सिजनमा मासिक डेढ लाख सम्म पर्यटक नेपाल आउने गरेका थिए । उद्दपी क्रमशः पर्यटक आगमन वृद्धि हुने संकेत भने देखिएको छ ।

सन् २०२१ मा भित्रिएका पर्यटक

  • जनवरी : ८८७४
  • फेब्रुअरी : ९१४६
  • मार्च : १४९७७
  • भारतबाट मात्र : ७६५८ पर्यटक

एक महिनाको अविधिमा भारतबाट मात्र ७६५८ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हरेक महिनामा पर्यटक आगमनमा उच्च दरमा बढिरहेको छ । यसअघि जनवरी र फेब्रुअरी महिनामा भारतबाट ८७९१ जना पर्यटक नेपाल आएका थिए । यसबीचमा भारतबाट समेत उल्लेख्य पर्यटक नेपाल आएका छन् ।

भारतपछि अमेरिकाबाट दोस्रो बढी संख्यामा पर्यटक आएका छन् । अमेरिकाबाट मार्च महिनामा मात्र १७०३ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा चीन रहेको छ । चीनबाट १२०७ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । चौथो स्थानमा बेलायत रहेको छ । यहाँबाट ६६५ जना नेपाल आएको तथ्यांक छ । यस महिनामा बंगलादेशबाट भने ५६८ जना पर्यटक आएका छन् ।

एक महिनामा नेपाल भित्रने यात्रु ७१ हजार

एक महिनाको अवधिमा हवाईमार्गबाट नेपाल भित्रने यात्रुको संख्या भने ७१ हजार २ सय ७० रहेको छ ।

यसबीचमा १४ हजार ९ सय ७७ विदेशी हुन् भने ५६ हजार २ सय ९३ जना भने नेपाली यात्रु हुन् । यो बीचमा कुल ५८ हजार ५ सय ९२ जना यात्रु भने नेपालबाट विदेश गएका छन् । यसरी नेपालबाट विदेशिनेमध्ये ४९ हजार ५ जना नेपाली छन् । ९ हजार ५ सय ८७ जना विदेशी नेपालबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment