+
+

वीरगञ्जमा प्रसाद खेर नफाल्ने अभियान

सुरेश बिडारी सुरेश बिडारी
२०७७ चैत २० गते १९:१०

२० चैत, वीरगञ्ज । शीतला सप्तमीमा पुजाअर्चना पछि शीतलामाताको मूर्ति प्रसादले ढाकिन्थ्यो । त्यसपछि त्यो प्रसाद भुइँभरि छरिन्थ्यो, भक्तजनले कुल्चन्थे अनि फोहोरको रुपमा थुपारिन्थ्यो ।

शीतलालाई बाजराको रोटी, पुरी, मिठ्ठा भात, रावडी, नुन हालेको बेसन पकौडा, चिनीवाला आँटाको पकौडा, दही र जल चढाइन्छ । यो पूजामा पानीको घडादेखि पूजा सामान राख्ने पात्रसम्म माटो हुनुपर्छ । पूजापछि यी सब चिज फोहोरको रुपमा मिल्काइन्थ्यो ।

स्थानीय नुतन सरावगी (४३) लाई यो विषयले सानैदेखि पोल्थ्यो । आमालाई ‘प्रसादी टिपेर कसैलाई दिउँ न’ भन्दा उत्तर पाउँथिन्, ‘हामीले नै मातालाई चढाएको प्रसादी आफैं लिनु हुँदैन, पाप लाग्छ ।’

शीतला माता वीरगञ्जका मारवाडी समुदायको पनि देवी हुन्, जहाँ दुई ठाउँमा शीतला माताको मन्दिर छ । नुतनले प्रसाद जस्तो महत्वपूर्ण चिज फोहोर भएको, खेर गएको कुरा उठाइरहिन् । प्रसादलाई प्रसादकै रुपमा ग्रहण गर्ने÷गराउने प्रयासको क्रममा उनले ‘ज्वाइनिङ ह्यान्ड्स फर गुड रिजन’ समूह गठन गरेर यही प्रस्ताव राखिन् ।

समूहका सदस्यहरु सहमत भएपछि शीतला मातालाई चढाइएको प्रसादी गत वर्षदेखि खेर जान छाडेको छ । जतनसाथ प्रसाद संकलन गरेर वितरण गर्ने, फेरि पनि उब्रिए गाईलाई दिने गरिन्छ । यो कामको विरोध पनि भयो । ‘तर, पूण्य तपाईंहरु गर्नुस्, पापको जिम्मा हामी लिन्छौं भन्दै प्रसाद बाँड्यौं’, नुतन भन्छिन्, ‘यो कामले मनलाई चयन दिएको छ ।’

होली सकिएपछिको शुक्रबार, आइतबार र बुधबार शीतला माताको ब्रत बस्ने परम्परा छ । शीतला माताको पूजा गरे शरीर शीतल हुने, विफर नलाग्ने, पाप मेटिने, धन–धान्यले पूर्ण हुने जनविश्वास छ ।

तराइ–मधेशमा बसोरा, बसौंडा भनिने शीतला माताको ब्रत बस्ने दिनमा ताजा भोजन गरिँदैन । गर्मीको समय शुरु भएपछि शरीरलाई गर्मी पार्ने भोजन गर्नु हुँदैन भन्ने मान्यताअनुसार ब्रतमा अघिल्लो दिन बनाएर राखेको चिसो–चिसो खानेकुरा खाने चलन छ । बिहान चिसो पानीले नुहाएर ब्रतालु महिलाले पूजा गरेपछि दिनभरि चुल्हो बालिदैन ।

शुक्रबार अभियानमा आवद्ध १० जना स्वयंसेवक बिहान पाँचै बजे शीतला माताको मन्दिरहरुमा गएर पूजा चलुञ्जेल नैवेद्य–प्रसाद संकलन गरे । अघिल्लो वर्ष गरेको अनुरोध अनुसार कतिपय भक्तजनले प्लाष्टिकमा प्याकिङ गरेरै प्रसाद ल्याएको नुतनले बताइन् ।

‘त्यसो गर्दा प्रसादी सग्लोसग्लै संकलन गरेर बाँड्न सजिलो हुन्छ’, उनी भन्छिन्, ‘आखिर, प्रसादी खेर फाल्नुभन्दा बाँडेर खानुमा पूण्य छ । शुक्रबारको प्रसादी हामीले माइस्थान मन्दिर अगाडि बाँड्यौं ।’

भक्तजनले पनि यो समूहले थालेको अभियानको प्रशंसा गरेका छन् । ‘श्रद्धापूर्वक देवीलाई चढाएको अन्नको प्रसादी खेर गइरहेको थियो’, माइस्थानमा भेटिएका रत्नमान श्रेष्ठले भने, ‘त्यसको सदुपयोग गर्ने राम्रो काम भएको छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?