Comments Add Comment

पाटन दरबार परिसर : सम्साँझै धपाइन्छन् पर्यटक (भिडियो)

२२ चैत, काठमाडौं । बिहीबार साँझ ८.२० बजे भारतीय पर्यटक कृष्ण महासेठ आफ्ना दाइसँग पाटन दरबार क्षेत्र पुगे । ९ बजेसम्म दरबार परिसरको शान्त पाटीमा बसेर थकान मेटाउने उनीहरूको योजना दरबार क्षेत्र छिर्दा-छिर्दै बिथोलियो । दरबार क्षेत्रमा खटिएका प्रहरीले सिट्ठी बजाउँदै पर्यटकहरूलाई त्यहाँ नबस्‍न भनिरहेका थिए ।

प्रहरीले आफ्ना दाजुलाई साँझको फोटो खिच्ने अवसर पनि नदिएको भारतीय पर्यटक महासेठले बताए । ‘लगातार सिट्ठी फुक्दै गइहाल्नुस् भन्दै थर्काए । ‘पैसा खर्च गरेर टाढाबाट आएका पर्यटकलाई यसरी निराश पार्न त नहुने हो’ उनले भने, ‘नेपालमा ८ नबज्दै सुरक्षा चुनौती महसूस हुने अवस्था त पक्कै पनि छैन होला !’

पाटन दरबार क्षेत्र साँझमा चम्किन्छ । मन्दिरसहितका मल्लकालीन सम्पदाहरूमा झलमल्ल बत्ती बल्छन् । साँझमा परिवार, आफन्तजन, साथीसँगीसँग घुम्न आउनेहरूको संख्या बाक्लो हुन्छ ।

मन्दिरका पेटी र पाटीहरूमा बसेर धेरैले आनन्दको सास फेर्छन् । फोटो, भिडियो खिच्नेदेखि टिकटक बनाउनेहरूसम्म यहाँ हुन्छन् । धार्मिक क्षेत्र समेत भएकाले साँझमा यहाँ धर्म-कर्म गर्नेहरू पनि आउँछन् ।

साँझको समयमा यहाँको कला, संस्कृति र जनजीवन नियाल्न आउने पर्यटकहरू पनि उत्तिकै हुन्छन् । कतिलाई यहाँको ढुंगेधाराको पानी खान मन पर्छ त कसैलाई यहाँ बसेर गीत गुन्गुनाउन । परिवार र साथीसंगीसँग साँझमा पाटन दरबार क्षेत्रमा रमाउने बानी परेकाहरू धेरै छन् । स्थानीय बासिन्दाका लागि त यो क्षेत्र आफू हुर्केको आँगनजस्तै हो ।

पाटनका बासिन्दा रामुसुन्दर मानन्धरलाई साँझको खाना खाएपछि पाटन दरबार क्षेत्रमा आएर सुस्ताउने बानी नै परेको छ । प्रायः परिवारका सदस्य नै लिएर उनी आउँछन् । ‘तर, गत असारमा लकडाउन खुलेपछि यहाँ धेरैबेर बस्न दिंदैनन्’ उनी भन्छन्, ‘गर्मी याममा राति ९–१० बजेसम्म शीतल हावा खाने ठाउँमा अहिले ८ बजे नै निषेधको सिट्ठी बजाउँछन् ।’

शुरुमा त उनलाई पनि लागेको थियो– महामारीमा भीड हटाउनु ठीकै हो । आजभोलि चाहिं उनलाई लागेको छ– सम्साँझै पर्यटक धपाउने प्रहरी प्रशासनको काम ठीक छैन । ‘यहाँ पर्यटक मात्र होइन, बाहिर जिल्लाबाट आएकाहरू पनि दिउँसो काम सकेर साँझमा सुस्ताउन आउँछन्’ मानन्धर भन्छन्, ‘साथीभाइ र परिवारसँग आएर शान्त भावमा बसिरहेकाहरूलाई धपाउनु ठीक हैन ।’

साँझमा पाटन दरबार परिसरमा घुम्न नपाएका मोरङका युगीन भट्टराई भन्छन्, ‘महामारी रोक्न भीड हुन नदिने भन्ने हो भने स्वास्थ्य प्रोटोकल अनिवार्य गर्दा भयो । उच्छृङ्खल गतिविधि हुन्छ भने प्रहरीले नियन्त्रण गर्ने हो । ऐतिहासिक–सांस्कृतिक स्थलबाट साँझ ८ नबज्दै पर्यटक लखेट्ने काम त विल्कुलै गलत हो ।’

व्यापारी पनि असहमत

स्थानीय व्यवसायी पनि चाँडै चहलपहल बन्द गराउन जायज नभएको बताउँछन् । दरबार क्षेत्रभित्र आइसक्रिम र कफी पसल चलाइरहेका अभिशेष प्रधानाङ्ग महामारीको नाममा साँझमै पर्यटक लखेट्दा व्यापार प्रभावित भएको बताउँछन् ।

शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा काठमाडौं उपत्यकामा खुला सार्वजनिक स्थलहरू त्यसै पनि कम रहेकाले दरबार क्षेत्रहरूमा प्रतिबन्ध लागू गर्न नहुने बताउँछन् ।

ललितपुर महानगरपालिकाले रात्रिकालीन बजार चलाउने भनिरहँदा यस किसिमको प्रशासनिक रबैया देखाउनु सही नभएको बताउँदै उनी भन्छन्, ‘यहाँ त रातभर ढुक्कसँग पर्यटक आउने, घुम्ने वातावरण बनाउनुपर्छ ।’

शहरविज्ञहरू पर्यटकलाई निरुत्साहित गर्ने गतिविधि हुन नहुने बताउँछन् । शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा काठमाडौं उपत्यकामा खुला सार्वजनिक स्थलहरू त्यसै पनि कम रहेकोले दरबार क्षेत्रहरूमा प्रतिबन्ध लागू गर्न नहुने बताउँछन् ।

‘त्यसो गर्दा त हाम्रो शहर पर्यटनमैत्री नै रहँदैन, पर्यटकलाई सिट्ठी फुक्दै धपाउँदा सन्देश पनि राम्रो जाँदैन’ उनी भन्छन्, ‘शहरलाई सकेसम्म २४ घण्टै खुला राख्नुपर्छ। त्यसको लागि सार्वजनिक स्थलमा सुरक्षाको प्रत्याभूति दिने काम प्रहरी प्रशासनको हो । सार्वजनिक स्थलमा आउनेलाई नियमभित्र राख्न मिल्छ, निषेध गर्न मिल्दैन ।’

सरकारी निकायको भनाइ

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आफू सार्वजनिक स्थललाई खुला राख्ने पक्षमा रहेको बताउँछन् । तर, रातिसम्म बस्नेहरूले दरबार क्षेत्रमा फोहोर गरेकाले प्रहरीले नियन्त्रणको प्रयास गरेको उनले बताए ।

‘अहिले विदेशी पर्यटक खासै छैनन्, दरबार क्षेत्रमा आएर बस्ने जोडीहरूलाई निरुत्साहित गर्ने अभिप्राय हो’ उनी भन्छन्, ‘फोहोर नहोस् भन्नेबाहेक अरू कुनै उद्देश्यले त्यसो गरेका होइनौं ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला पर्यटक हटाउन प्रहरीलाई कुनै निर्देशन नदिएको बताउँछन् । तर, महामारीको जोखिम बढेकाले त्यहाँ जाने पर्यटकबीच सामाजिक दूरी र अन्य स्वास्थ्य प्रोटोकल पालना गराउनुपर्ने देखिएको उनको भनाइ छ।

‘सार्वजनिक स्थल भएकाले यति बजेदेखि मान्छे बस्न नदिनू भनेका छैनौं’ उनले भने, ‘होटल–रेस्टुरेन्ट भने ११ बजेपछि खुला नराख्‍न भनिएको छ ।’

ललितपुरकी वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले पाटन दरबार क्षेत्र विकास समितिको आग्रहमा ८ बजेपछि मान्छेहरूलाई घर जान आग्रह गर्ने गरेको बताइन् । सो क्षेत्रमा राति होहल्ला नहोस् भनेर पनि त्यस्तो गरिएको उनी बताउँछिन् ।

‘केही युवाको समूहले त्यहाँ बियर ल्याएर खाएको, होहल्ला गरेको भन्ने गुनासो आएको थियो’ उनले भनिन्, ‘पाटन दरबार क्षेत्र विकास समितिले पनि आग्रह गरेकाले ८ बजेपछि पर्यटकलाई घर गइदिनुस् भनेका हौं ।’

फोटो/भिडियोः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment