Comments Add Comment

सरकारको नेतृत्वमा जसपाको पनि दाबी !

रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच भेटवार्ता

२२ चैत, काठमाडौं । प्रतिनिधिसभामा बहुमत जुटाउन निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) मा गठबन्धन सरकारको नेतृत्व दाबी गर्नुपर्ने मत बलियो देखिएको छ । उनीहरुले ‘आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ भन्ने नेपाली कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

माओवादी केन्द्र र जसपाको एउटा खेमाले सरकारको नेतृत्व लिन निरन्तर आग्रह गर्दा पनि अग्रसरता नदेखाएका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गराएका थिए ।

त्यही निर्णय लिएर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइतबार जसपा अध्यक्ष महन्थ ठाकुर निवास पुगे । कांग्रेस नेताहरुका अनुसार शुक्रबार नेताहरुबीच भएको छलफलका क्रममा नेता पौडेलले जसपा नेताहरुलाई सहमत गराउन समन्वय गर्ने दाबी गरेका थिए । सभापति देउवाले पनि तपाईंको जिम्मा भयो भनेकाले पौडेल बिहानै हात्तीवनस्थित ठाकुर निवासमा पुगेका थिए ।

भेटमा ठाकुरले गठबन्धन सरकार भन्ने, तर पहिल्यै आफ्नो दलको नेतृत्वमा भनेर निर्णय गर्ने भनेर असन्तुष्टि जनाएका छन् । ठाकुरको आशय गठबन्धन सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहन्छ भन्ने भएको जसपा नेताहरु बताउँछन् ।

जसपा सांसद राजकिशोर यादव सरकारको नेतृत्वमा आफूहरुको दाबी स्वाभाविक मान्छन् । संसदमा कुनै पनि दलको बहुमत नभएको भन्दै उनले भने, ‘जसपाको नेतृत्वमा सरकार एउटा विकल्प हो ।’

जसपामा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुरलाई हेरिएको छ ।

यद्यपि पार्टीको औपचारिक बैठक बसेर सरकारको नेतृत्व दावी गर्ने निर्णय भएको छैन । कांग्रेसको नयाँ निर्णयपछि कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक छलफल चलिरहेको छ । राजधानी बाहिर रहेका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो फर्किएपछि बैठक बस्ने जसपाका नेताहरुले बताए ।

कति सम्भव छ जसपाको नेतृत्वमा सरकार ?

संसदको चौथो ठूलो दल हो जसपा । सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् भने कांग्रेसका ६१ (निलम्बनमा परेका दुई बाहेक) र माओवादी केन्द्रका ४९ (चार जना एमाले प्रवेश गरेका बाहेक) सांसद छन् । जसपाका ३२ (दुई निलम्बित बाहेक) सांसद छन् ।

यद्यपि सरकार गठनका लागि चाहिने बहुमत १३८ पुर्‍याउन एमाले वा कांग्रेस–माओवादी केन्द्र दुवै गठबन्धनलाई जसपाको साथ अनिवार्य चाहिन्छ । नेताहरुका अनुसार ‘किङमेकर’को भूमिकामा देखिएको जसपाले दाबी गर्नु अस्वाभाविक त होइन, तर सहज पनि छैन ।

खासगरी चर्को दबाबपछि मात्र सरकार गठनको पहल गर्ने निर्णय गर्न सहमत भएका कांग्रेस सभापति देउवाले जसपाको नेतृत्व स्वीकार गर्ने सम्भावना कम छ । यद्यपि आइतबार पार्टी अध्यक्ष ठाकुरसँग भएको भेटमा कांग्रेस वरिष्ठ नेता पौडेलले सरकारको नेतृत्वबारे छलफल गर्न सकिने बताएको जसपाका एक नेताले बताए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कांग्रेसले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय नगरेको बताउँछन् । कांग्रेससँग सरकार गठनका लागि बहुमत नभएकै कारण आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको भन्दै उनले भने, ‘अब जसपाले केपी ओलीलाई विदा गरौं भनेर अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गर्नुपर्‍यो कि माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्‍यो ।’

त्यसपछि बल्ल सरकार गठन दोस्रो चरणमा प्रवेश गर्ने र त्यही क्रममा नेतृत्वबारे छलफल हुने उनले बताए । भट्टराई निकट जसपाका एक नेताले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारकै निरन्तरता हुने गरी प्रधानमन्त्रीमा दाबी नगर्ने बताए ।

‘दलहरुबीच सहमति जुट्दा हामी पनि सरकारको नेतृत्वबाट पछि हट्दैनौं । तर हामीले लिएको अडानका कारण यही सरकारले टिकिराख्ने अवस्था बनाउँदैनौं’ ती नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment