Comments Add Comment

हेल्प नेपालको लगातार चौथो जित, आर्मीले एपीएफलाई हरायो

२३ चैत, काठमाडौं । हेल्प नेपाल स्पोर्टस् क्लबले पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार चौथो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा सोमबार भएको खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । हेल्प नेपालले पुलिसलाई २५–२२, २५–१६, २५–२० ले सहजै पराजित गर्‍यो ।

लगातार चौथो जितपछि हेल्प नेपाल १२ अंकसहित शीर्ष स्थानमा छ । अपराजित हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो समेत बनाएको छ । पुलिसको भने यो दोस्रो हार हो । ४ खेलबाट २ जितसहित पुलिसको ६ अंक छ । हेल्प नेपालले अब लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबसँग खेल्न बाँकी छ ।

पुरुषतर्फ विभागीय टोली एपीएफले भने पहिलो हार बेहोरेको छ । यसअघि लगातार तीन खेल जितेको एपीएफ सोमबार विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मीसँग सोझो सेटमा पराजित भयो ।

आर्मीले एपीएफलाई २५–१५, २५–१८, २८–२६ ले पराजित गरेको हो । शुरुवाती दुई सेट सहजै जितेको आर्मीले तेस्रो सेट जित्न भने संघर्ष गर्नुपर्‍यो ।

तेस्रो सेटमा एपीएफले १५–११ को अग्रता लिएको अवस्थामा त्यसलाई कायम राख्न सकेन र आर्मीले पुनरागमन गर्दै जित हात पारेको हो । २६–२६ को अवस्थामा धनबहादुर भट्टले स्पाइकबाट लगातार अंक ल्याउँदै आर्मीलाई जिताएका थिए । आर्मीको यो तेस्रो जित हो । चार खेलबाट आर्मीले ३ जित र १ हारसहित ९ अंक जोडेको छ ।

एपीएफ पनि राम्रो टिम रहेको तर आफ्नो टिमले राम्रो खेलेर जितेको प्रशिक्षक जगतबहादुर सिंहले बताए । ‘एपीएफ पनि नराम्रो टिम होइन । उपाधिका लागि दाबेदार टिम हो । शुरुवाती दुई सेट राम्रो भएको थियो । तेस्रो सेटमा रिसिभ र ब्लक अली राम्रो भएन तर अन्तिममा जित भयो,’ ‘सिंहले भने, खेलको मुख्य पक्ष नै रिसिभ र ब्लक हो ।’

आर्मीको लक्ष्य अब बाँकी दुई लिग खेलमा राम्रो प्रदर्शन गर्दै फाइनल पुग्ने रहेको प्रशिक्षक जगतबहादुर सिंहले बताए ।

यस्तै एपीएफका प्रशिक्षक महेश चौधरीले रिसिभ राम्रो नहुँदा पराजित हुनुपरेको बताए । ‘आजको मुख्य समस्या नै रिसिभ रह्यो । रिसिभ राम्रो भएन, सर्भिस र स्पाइक पनि बिग्रियो,’  चौधरीले भने, ‘रिदम बिग्रेपछि खेलमा गाह्रो भयो । तेस्रो सेटमा लिड लिँदा पनि रिसिभमा समस्या भयो ।’

चौधरीले फाइनल पुग्न सम्भावना अझै बाँकी रहेको तर खेलमा के हुन्छ भन्न नसकिने उनले बताए । ‘गेम हो भन्न सकिन्न । पुलिसलाई हामी जित्छौं । हेल्प नेपालसँग अली गाह्रो छ । पुलिस मात्र जित्यो भने फाइनल पुग्ने सम्भावना स्कोर हेरेर हुन्छ,’ उनले भने ।

प्रशिक्षक चौधरीले विदेशी खेलाडीहरुसँग खेल्दा सिक्ने अवसरसमेत पाउने बताए । च्याम्पियनसिपमा हेल्प नेपालले भारतका तीन र बुलबुले राराले पाकिस्तानका तीन खेलाडीलाई खेलाएको छ ।

महिलातर्फ आर्मीको पहिलो हार

च्याम्पियनसिप अन्तर्गत सोमबारै भएको महिलातर्फको खेलमा एपीएफले त्रिभुवन आर्मीमाथि पुनरागमन जित हात पारेको छ । पहिलो सेट गुमाएपनि एपीएफले पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल ३–१ ले जितेको हो ।

पहिलो सेट आर्मीले २५–१९ ले जित्दै अग्रता बनाएको थियो । तर दोस्रो सेट एपीएफले २५–१० ले सहजै जित्दै खेल बराबरी गर्‍यो । तेस्रो र चौथो सेट क्रमशः २५–१७, २५–२२ ले जित्दै एपीएफले खेल जित्यो ।

आर्मीको यो पहिलो हार हो । चार खेलबाट आर्मीको ८ अंक छ । दोस्रो जितपछि एपीएफले ३ खेलबाट ७ अंक जोडेको छ । एपीएफ यसअघि नेपाल पुलिससँग पराजित भएको थियो । महिलातर्फ पुलिस अपराजित छ । पुलिस, आर्मी र एपीएफसहित न्यू डायमण्ड पनि उपाधि होडमा छ ।

यस्तै महिलातर्फ भरतपुर मेट्रो खेलकुद परिषदले पहिलो जित हात पारेको छ । यसअघि लिगमा लगातार तीन खेल हारेको भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २५–१२, २५–१३ को सेटमा हरायो । चार खेलबाट भरतपुरले ३ अंक जोडेको छ । भरतपुरले अब एपीएफसँग मंगलबार लिगको अन्तिम खेल खेल्नेछ ।

ढोरपाटनको भने यो लगातार पाँचौं हार हो । भरतपुर र ढोरपाटन दुवै फाइनल होडबाट बाहिरिसकेका छन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment