Comments Add Comment

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

२३ चैत, काठमाडौं । सोमबार दिनभरि काठमाडौं उपत्यकामा राम्रोसँग घाम लाग्न पाएन । तुवाँलोले वायुमण्डल ढपक्कै ढाकिरह्यो । धेरैले आँखा पिरो भएको, चिलाएको र नाक पोलेको अनुभव गरे । अघिल्लो साता यसरी नै प्रदूषण बढेपछि सरकारले बुधबारदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय लिएको थियो ।

बुधबार राति नै काठमाडौं उपत्यकासहित पहाडी भूभागमा पानी परेका कारण प्रदूषण केही कम भएको थियो । तर अहिले फेरि प्रदूषण बढ्न थालेको छ ।

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग तुवाँलोले उपत्यकामा वायु प्रदूषित भएको बताउँछन् । उनकाे भनाइलाई वातावरण विभागको आँकडाले पनि पुष्टि गर्छ ।

पोलुनस डट जीओभी डट एनपीका अनुसार सोमबार साँझ काठमाडौं उपत्यकाको भक्तपुरमा एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३३८ छ । भैंसेपाटीको २९५, रत्नपार्कमा २६५ र कीर्तिपुरमा २२४ छ । समयअनुसार यो केही तलमाथि भइरहेको छ ।

तर, काठमाडौंका सबै प्रदूषण जाँच केन्द्रमा प्रदूषणको तह धेरै अस्वस्थकर वा सोभन्दा माथि छ । वातावरण विभागका अनुसार २०१ देखि ३०० एक्यूआई ‘धेरै अस्वस्थकर’ वायुको सूचक हो भने ३०१ देखि ४०० लाई ‘खतरनाक’ मानिन्छ ।

स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार सोमबार काठमाडौंको वायु प्रदूषण विश्वकै ठूला शहरमा सबभन्दा प्रदूषित पाइएको छ । गत चैत १३मा पनि यस्तै नतिजा देखिएको थियो । सोमबार राति १०.०४ बजे काठमाडौंको एक्यूआई ३५३ पुगेको आईक्यूएअरले देखाएको छ । विश्वकै दोस्रो स्थानमा रहेको भारतको राजधानी दिल्लीको एक्यूआई २४६ छ ।

काठमाडौंभन्दा बढी प्रदूषण वीरगञ्ज र धनगढी क्षेत्रमा छ । कैलालीको धनगढीमा एक्यूआई ४३८ छ भने बाराको सिमरामा ४०० छ । पोखरामा एक्यूआई २०७ र रारामा २२२ छ ।

मौसम विज्ञान विभागका अनुसार साँझ काठमाडौंको भिजिबिलिटी २ किलोमिटरसम्म मात्रै छ ।

राति १०.४ को रेकर्डअनुसार विश्वकै प्रदूषित शहरको सूची

डढेलो पनि कारक

मौसमविद् राजु प्रधानांग स्थानीय रुपमा वायुमण्डलमा फैलिएको धुलो र धुवाँले यस्तो अवस्था आएको बताउँछन् ।

‘हुरीबतासको मौसम भएकाले छिमेकी देशका मरुभूमिबाट पनि धुलो आउँछ’ उनले भने, ‘तर उपत्यका वरपरका क्षेत्रमा डढेलो लागेको कारण पनि प्रदूषण बढेको हो ।

वन तथा भूसंरक्षण विभागको डढेलो सम्बन्धी तथ्यांक प्रणाली (मोडिस)का अनुसार सोमबार ५३० स्थानमा ठूलाे वन डढेलो लागेको छ । काठमाडौं वरपर सिन्धुलीमा ३१, मकवानपुरमा २४, चितवनमा २०, काभ्रे र रामेछापमा ८-८, धादिङमा ३, ललितपुर र सिन्धुपाल्चोकमा १-१ स्थानमा डढेलो लागेको छ । काठमाडौं वरपरबाहेक  बर्दियामा ३०, बाँकेमा २९, डडेलधुरा, उदयपुर र सल्यानमा २१-२१ र ओखलढुंगामा २० स्थानमा आगलागी भएको छ । धेरैजसो स्थानमा अझै पनि यि डढेलो सक्रिय छन् । पहाडी भेगमा बढी आगलागी भइरहेकाले माथिल्ला भेगमा प्रदूषण बढी देखिएको छ ।

मैसमविद् प्रधानांगका अनुसार पानी नपरी वा हुरी बतास नआई यस्तो प्रदूषण हट्न सक्ने अवस्था छैन । गत हप्ता परेको पानीले केही दिन प्रदूषणकाे दर घटाएको स्मरण गर्दै उनले केही दिन पानी पर्ने सम्भावना कम देखिएको छ । ‘पश्चिम पहाडी क्षेत्रका केही भूभागमा मंगलबारसम्म पानी पर्न सक्छ, अन्यत्र तत्काल प्रदूषण हट्ने सम्भावना नै छैन’, उनले भने ।

कार्ययोजना अलपत्र

नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्काल सम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्यूआईको स्वस्थप्रद सीमा नाघेको देखाउँदा पनि सरकारले बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना समेत जारी गरेको छैन ।

खुल्ला रुपमा फोहोर बाल्ने कार्य रोक्न स्वयंसेवक खटाउने, ब्रुमर-भ्याकुम प्रयोग गरेर सडक सफा गर्ने, अनावश्यक रुपमा घरबाहिर नआउन र आउनै परे एन-९५ मास्क अनिवार्य लगाउन, सम्भव भएसम्म गाडी नचलाउन, उपत्यकामा उद्योग बन्द गर्ने र मालबाहक बाहेकका गाडी उपत्यका प्रवेश गर्न नदिनुपर्ने कार्ययोजनामा उल्लेख छ । तर सरकारले यस्ता पक्षमा लगातार बेवास्ता गर्दै आएको वातावरणविद् भूषण तुलाधर बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment