Comments Add Comment

बन्दीपुरलाई साहसिक पर्यटकीयस्थल बनाउन पहल

फाइल तस्वीर

२४ चैत, दमौली । पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण अगाडि बढेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजमले शुरु गरेको करिब दुई अर्ब रुपैयाँ लागतको पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयवासी गाउँ फर्किने र नयाँ व्यवसायमा अगाडि बढ्ने क्रम बढिरहेको छ ।

बन्दीपुर गाउँपालिकाको सहजीकरणको कारण यस क्षेत्रमा लगानीको माहोल बनेको लगानीकर्ता बताउँछन् । बन्दीपुरको मिनी ग्रेटवाल, साइकल लेन, जंगल सफारीका पूर्वाधारमा सो केबुलकारले थप प्रवद्र्धनको योजना बनाएपछि यो क्षेत्र साहसिक पर्यटकीयस्थलको रुपमा विकसित हुने सो केबुलकारका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

साहसिकस्थललाई केन्द्रमा राखी सो केबुलकारले आफ्ना सहायक कम्पनीमार्फत अग्लो बन्जी जम्पको निर्माण प्रक्रिया थालेको छ । यस्तै जंगल पिङ, एक हजार ८ सय मिटर लामो स्पाइडर जीप लाइन, ६ सय मिटर लामो भीरमा टुँडिखेलसम्म वाक थ्रु, ५० मिटर लामो सिसाको पुलसमेत बनाउने गरी डिपिआर तयार गरिएको छ ।

यस्तै स्काई साइकिलिङलगायतका मनमोहक मनोरञ्जन पूर्वाधार निर्माण गरी दैनिक पाँच हजारभन्दा बढी पर्यटक बन्दीपुरमा भित्र्याउने लक्ष्य राखिएको छ । पाँचवटा सहायक कम्पनीमार्फत थप एक अर्ब रुपैयाँ लगानी यो क्षेत्रमा गर्ने योजना बनाइएको शर्माले बताए । ‘हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४० किमि साइक्लिङ सेवासमेत शुरु गरेर गाउँ–गाउँसम्म पर्यटकीय गतिविधि चलाउने योजना छ,’ शर्माले भने ।

बन्दीपुरमा निर्माणाधीन केबुलकारको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । माथिल्लो स्टेसनमा १५ तल्ले क्विनटावर निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ । क्विनटावरबाट फराकिलो कुहिरोको समुद्र देखाउने साथै हिमालय दर्शन गराएर बन्दीपुरको सुन्दरता अनुभव गराउने तयारी छ ।

बन्दीपुरको विकासका लागि आगामी १० वर्षभित्र १० लाख लगानीकर्तामार्फत १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ । ‘बन्दीपुर अवधारणा देश र विदेशमा प्रचारप्रसार गर्ने र देश समृद्ध बनाउने कम्पनीको सोच छ’ शर्माले भने ।

आरकेडी समूहअन्तर्गत रहेको उक्त कम्पनीमा स्वदेश र विदेशमा गरी तीन हजार सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment