Comments Add Comment

पत्रकार महासंघको निर्वाचन र अबको बाटो

नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दैछन् । यो एउटा ऐतिहासिक क्षण हुनेछ ।

एक दशक लामो प्रयासपछि परिषद् सदस्य (पार्षद्) प्रणाली अन्त्य गरी महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा जानु आम पत्रकारहरुका लागि खुसीको कुरा हो । त्यसैले पत्रकारहरु एकदमै उत्साही छन् ।

नेपाल पत्रकार महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजानुको मुख्य कारण सबै पत्रकारहरुले आफ्नो नेतृत्व आफैं छान्ने अधिकार पाउन् र संस्थाप्रति अपनत्व होस् भन्ने हो । महासंघ नेतृत्व पनि आफ्ना सदस्यहरुप्रति जवाफदेही हुन यो प्रणालीले थप सहयोग पुग्नेछ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदाको अर्को लक्ष्य सदस्यता शुद्धीकरणको प्रतिवद्धता पनि थियो । तर यो पटक पनि कार्यान्वयन हुन सकेन । शुद्धीकरण अभियान साँच्चै कार्यान्वयनमा आएको भए पत्रकारहरुको संख्या सात हजार आसपासमा कायम हुने अनुमान थियो । तर चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिले निर्वाचनको मनोनयन हुने अघिल्लो रातसम्म पनि महासंघमा सदस्यताको सौदाबाजी चलिरहृयो ।

विधानलाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउन महासंघको कार्यसमिति नै उद्दत रह्यो । यो प्रवृत्तिले श्रमजीवी पत्रकारहरु झन्–झन् किनारामा पर्दै जाने खतरा पनि छ ।

महासंघको विधानले भनेको छ– कुनै पनि राजनैतिक दल तथा तिनका भातृ संगठनको कुनै पनि तहको कार्यसमितिमा पदाधिकारी तथा सदस्य रहेको व्यक्ति महासंघको सदस्य बन्न योग्य मानिने छैन । साथै तीनै तहको सरकारको कुनै पनि पदमा रहेका व्यक्ति महासंघको सदस्य बन्न योग्य हुने छैनन् ।

तर, विधानलाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउन महासंघको कार्यसमिति नै उद्दत रह्यो । यो प्रवृत्तिले श्रमजीवी पत्रकारहरु झन्–झन् किनारामा पर्दै जाने खतरा पनि छ । त्यही कारण मतदाताले उम्मेद्वार नचिन्ने र उम्मेदवारले मतदातासँग मत माग्न नपाउने स्थिति बनेको छ । देशैभरका पत्रकारहरुको एउटै गुनासो छ, आफ्ना उम्मेदवार चिन्न र देख्न समेत पाइएन । को असल पत्रकार हो, को होइन भन्ने कसरी छुट्याउने ?अर्को कुरा, पहिलो पटक देशैभर एकैदिन सबै पत्रकार चुनावी मैदानमा उत्रिँदा अपनाउनुपर्ने निर्वाचन प्रणालीबारे महासंघ नेतृत्व प्रष्ट नहुँदा सदस्यता विवाददेखि चुनावी तालिकासमेत प्रभावित भएको छ । जम्मा १० दिनको समयमा १३ हजार मतदातासम्म पुग्ने गरी चुनावी कार्ययोजना बन्यो । त्यो अवधिमा ७७ वटै जिल्लामा पुग्नु असम्भव थियो ।

त्यसैले पहिलो अभ्यासबाट पाठ सिकेर आगामी दिनमा राष्ट्रिय सम्मेलन अघि नै जिल्ला र प्रदेश महासंघसम्मको अधिवेशन गर्नुपर्छ । यसले सदस्यता विवाद शुरुमै टुंगिन्छ । किनभने जिल्लास्तरमा अधिवेशन हुँदा सदस्यहरुको नामावली आइसक्छ । त्यसले केन्द्रीय समितिले सदस्यता विवादमा खेल्न सक्दैन । एउटै मितिमा निर्वाचन गर्ने हो भनेपनि कम्तिमा एक महिनाको चुनावी अवधि चाहिन्छ ।

प्रत्यक्ष निर्वाचन प्रणाली अपाउँदा पनि हामीले सुधार्न नसकेको अर्को पक्ष हो– व्यावसायिक र श्रमजीवी पत्रकारका कुरा गर्ने तर आफू नेतृत्वमा पुग्न पत्रकारलाई नै विश्वास नगर्ने । पत्रकारहरुबीच प्रतिस्पर्धा नगरी दलको दैलोमा धाएर उम्मेदवार बन्ने प्रवृत्ति यस पटक पनि देखिएको छ ।

राजनीतिक दलहरुमा हुने गुटबन्दी र व्यक्तिवादको विरोधमा कलम चलाउने पत्रकारहरुले नै नेताको आशिर्वाद नपाएसम्म महासंघमा पुग्न सकिन्न भन्ने मानसिकता नत्यागे महासंघमा सच्चा पत्रकारहरु पुग्न कठिन छ ।

अरु बेला श्रमजीवी पत्रकारका कुरा गरिरहने, अभिव्यक्ति स्वतन्त्रता, पेशागत सुरक्षा र ‘सेल्फ सेन्सरसिप’को कुरा गर्ने तर महासंघमा पुग्न पत्रकारको नभई दलको आशिर्वाद थाप्ने प्रवृत्तिविरुद्ध अर्को संघर्ष गर्नुपर्ने देखिएको छ ।

तर पनि पत्रकार महासंघ नेपाली पत्रकारहरुको एक मात्र छाता संगठन हो । यसमा कुनै विवाद छैन । तर महासंघमा जाने अनि दलीय आस्थाका आधारमा काम गर्ने प्रवृत्तिले धेरै पत्रकारलाई महासंघले अप्ठ्यारो पर्दा विज्ञप्ति निकाल्ने बाहेक केही गर्दैन भन्ने परेको छ । पत्रकारका मुद्दामा काम गर्नुभन्दा पनि राजनीतिक दलका लागि काम गर्छ महासंघले भन्ने देशभरका श्रमजीवी पत्रकारको गुनासो सुनिन्छ ।

नेपाली पत्रकारिता जगतमा बग्रेल्ती समस्या छन् । आमसञ्चार माध्यमको स्वरुप बदलिँदो छ । छापा माध्यम कमजोर हुँदै जाँदा इन्टरनेटमा आधारित अनलाइन सञ्चारमाध्यमहरु सशक्त रुपमा आइरहेका छन् । तर यी र यस्ता विषयमा अहिलेसम्म महासंघले नीतिगत बहस गरेको छैन ।

लोकतन्त्रमा दलप्रति आस्था राख्नु विचारको अधिकार हो । तर यहाँ पत्रकार भन्ने बित्तिकै कुन दलको भन्ने प्रश्न आइहाल्ने अवस्था छ । यी सबै समस्याहरुको समाधान गर्ने र बहस गर्ने थलो पत्रकार महासंघ हुनुपर्छ ।

त्यस कारण सबै पत्रकारले महासंघप्रति अपनत्व महसुस गर्ने अवस्था सिर्जना गर्न पनि यो पहिलो निर्वाचन प्रणाली सफल हुनुपर्छ । अब यसलाई संस्थागत गर्न योग्य र सक्षम पत्रकारलाई महासंघको नेतृत्वमा पुर्‍याउने जिम्मा देशभरका पत्रकारको हातमा आइपुगेको छ ।

(भण्डारी कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment