Comments Add Comment

२८ बर्षमा वर्षा, भन्छिन्–‘फिल्म क्षेत्रबाट खुशी छु’

नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी नायिका वर्षा सिवाकोटी पछिल्लो समय सर्वाधिक व्यस्त छिन् । चलचित्रको सेड्यूल मिलाउन धौ–धौ परेपछि उनले केही चलचित्र छाड्नु पनि परेको छ ।

उनै, वर्षा आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले जन्मदिनको अवसरमा खासै योजना नभएको बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्–‘सिद्धिबिनायक मन्दिर पुगेर पूजा गरेर फर्किएँ । अरु, खासै कार्यक्रम त छैन । परिवारसँग सेलिव्रेशन गर्ने योजना छ ।’

वर्षाले नेपाली चलचित्रको आफ्नो यात्रालाई सुखद रुपमा लिएको बताइन् । उनले भनिन्–‘मेरा चलचित्रहरुले बम्पर व्यापार नगरेपनि मेकरले मलाई पत्याउनु भएको छ । यो कुराले मलाई खुशी बनाउँछ । चलचित्र क्षेत्रमा लागेर म निकै खुशी छु । यही क्षेत्रले मलाई धेरै कुराहरु दिएको छ । मेरा सपनाहरु पुरा गरेको छ ।’

चलचित्र क्षेत्रमा लागेर आफूमा कुनै पछुतो नभएको उनले बताइन् । भनिन्–‘मेरो सबै मेकरसँग राम्रो सम्बन्ध छ । तर, मलाई धेरैजसो नयाँ मेकरहरुले संझिनुहुन्छ । सायद, मेरो रिजर्भ बस्ने बानी, कम विवादित र काम गर्न सजिलो लागेरै हुनसक्छ नयाँ मेकरले संझिनुहुन्छ ।’ वर्षाले नयाँ मेकरसँग काम गर्दा आफूले पनि धेरै कुरा सिक्न पाएको बताइन् ।

चलचित्र क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ती पनि रहेको वर्षा बताउँछिन् । आफ्नो पनि रिस गर्ने, खुट्टा तान्ने केही मानिसहरु भएको बताउँदै उनले भनिन्–‘पहिले त कसैले केही भनिहाल्यो भने जवाफ फर्काउन मन लाग्थ्यो । तर, हिजोआज म यी कुराहरुलाई सामान्य रुपमा लिन थालेकी छु । आखिर, यो सानो नगरीमा कोहीसँग झगडा गरेर, जवाफ फर्काएर के नै हुने हो र भन्ने लाग्न थालेको छ ।’

वर्षाको प्रेम सम्बन्धको चर्चा पनि मिडियामा खुबै हुन्छ । तर, वर्षा मिडियामा अड्कलबाजीको आधारमा समाचार आएको बताउँछिन् । भन्छिन्–‘मैले नभनेसम्म प्रेमको कुरा कसरी पुष्टी हुन्छ र ? अब, कोहीसँग बोल्दैमा र कोहीसँग गफ गर्दैमा प्रेम हो भनेर आउँछ भने त मैले के नै गर्न सक्छु र ?’

वर्षाले २ बर्ष भित्रमा बिहे गर्ने पनि बताइन् । आफूलाई २९ बर्षमा राम्रो योग रहेको भनेर ज्योतिषले भनेको भन्दै वर्षाले २ बर्ष भित्र बिहे गर्ने योजना सुनाएकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा लागेर आफूले घरमा पनि अभिभावकको भूमिका निर्वाहा गरेको भन्दै वर्षाले अन्य क्षेत्रमा लागेको भए यो अवस्था नआउने पनि बताइन् । भनिन्–‘सायद, अरु क्षेत्रमा लागेको भए म बिहे गरेर घरजम गरिरहेकी हुन्थेँ होला । चलचित्र क्षेत्रले मेरो यो यात्रालाई रोकेको छ । मैले कलेज पढ्दा सुनेका थुप्रै ठाउँहरु म यही क्षेत्रका कारणले पुगेकी छु ।’

नेपाली चलचित्र क्षेत्रमा निरन्तर लाग्ने र राम्रो काम गर्ने योजना वर्षाले सुनाइन् । नायिका सिवाकोटीलाई जन्मदिनको धेरै–धेरै शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment