Comments Add Comment

भारतीय खेलाडी विनित भन्छन्– नेपालमा चार वर्षमा भलिबलका नयाँ खेलाडी नै देखिएनन्

२४ चैत काठमाडौं । काठमाडौंमा जारी पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा भारतीय र पाकिस्तानी खेलाडीले पनि खेलिरहेका छन् ।

आयोजकले एक टिमले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान बनाएपछि हेल्प नेपाल स्पोर्टस् क्लबले १३औं दक्षिण एसियाली खेलकुद सागमा भारतको कप्तानी गर्दै स्वर्ण जितेका विनितसहित तीन भारतीय खेलाडी टिममा राखेको छ ।

हेल्प नेपाल लिगमा लगातार पाँच खेल जित्दै अन्तिम लिग खेल अघि नै फाइनल पुगिसकेको छ । यस्तै बुलबुले रारा क्लबले पाकिस्तानी राष्ट्रिय टिमका तीन खेलाडीलाई अनुबन्ध गरेर खेलिरहेको छ । जसको प्रभाव कोर्टमा पनि देखिएको छ । एपीएफसँग पहिलो खेल हारेपनि बुलबले राराले त्यसपछि भने त्रिभुवन आर्मी र नेपाल पुलिसलाई लगातार हरायो ।

हेल्प नेपालसँग पराजित भएको बुलबुले राराले अन्तिम दुई खेल जित्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ, तर अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ ।

हेल्प नेपाल लिगको एक्लो अपराजित टोली हो । हेल्प नेपालको लागि भारतीय खेलाडी विनितले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनको अगाडि नेपाली खेलाडीको प्रदर्शन निकै कमजोर देखिन्छ । हरेक खेलमा उनले उच्च स्कोर गर्दै आएका छन् । विनितको स्पाइक डिफेण्ड गर्न विपक्षी टोलीलाई हम्मेहम्मे पर्छ ।

मंगलबार हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दा विनितले सर्वाधिक स्कोर गरे । उनले तीन सेटमा गरेर कुल २२ अंक जोडे । उनले दोस्रो सेटमा मात्रै ११ अंक स्कोर गरेका थिए ।

यस्तै अर्का भारतीय खेलाडी रोहित कुमारले १६ अंक जोडेका थिए । अर्का भारतीय खेलाडी विकास भने सेटर हुन् । उनले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले आर्मीविरुद्ध कुल ७ अंक जोडे ।

हेल्प नेपालको हरेक जितमा उत्कृष्ट प्रदर्शन गर्दै आएका विनितले नेपाली दर्शकको अगाडि खेल्न रमाइलो लागेको बताए । ‘नेपाली दर्शकको समर्थन राम्रो छ । त्यसले हाम्रो आत्मविश्वास बढेको छ,’ विनितले भने ।

तेस्रो पटक नेपालमा खेल्न आएका विनितले नेपाली खेलाडीहरुको भलिबलको बेसिक नै कमजोर रहेको बताए । ‘उनीहरुको भलिबल बेसिक कमजोर भएकोले धेरै गल्ती गरिरहेका हुन्छन्,’ उनले भने । नेपाली खेलाडीको फिटनेस भने राम्रो रहेको र आफ्नो टिममेट अमृत केसीको खेल पनि राम्रो रहेको विनितले बताए । उनी यसअघि २०१५ को क्लब लिग र २०१९ को १३ औं साग खेल्न नेपाल आएका थिए ।

फाइल तस्वीर

साग ठूलो प्रतियोगिता भएकाले त्यसबेला र अहिले खेल्दा फरक रहेको बताए । ‘सागमा ७ राष्ट्रले खेलेका थिए, यो क्लब लिग हो,’ उत्तर प्रदेशका विनितले भने ।

विनितले नेपालमा पछिल्लो चार वर्ष उही खेलाडी रहेको र नयाँ खेलाडी नदेखिएको बताए । ‘भारतमा धेरै खेलाडी छन्, नेपालमा कम खेलाडी छन्,’ भारत र नेपालको भलिबलबारे सोध्दा उनले भने,’ चार वर्षदेखि यहाँ उही खेलाडी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment