Comments Add Comment

ललितपुर मेयर वुमन्स क्रिकेट : लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

२५ चैत काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदूरपश्चिमले अब उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १२.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमको जितमा मञ्जु बोगटीले सर्वाधिक २६ रन बनाइन् । यस्तै रेवती धामीले १७ रन जोडिन् भने विन्दु रावलले अविजित १७ रन बनाइन् । कविता जोशीले अविजित ४ रन बनाइन् । लुम्बिनीकी कृतिका मरासिनीले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीलाई कम स्कोरमा रोक्न सुदूरपश्चिमका लक्ष्मी साउदले ४ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन् । यस्तै कप्तान ऋतु कनौजियाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् । सुनिता लुहार र कविता जोशीले १–१ विकेट लिए ।

लुम्बिनीलाई हराएपछि लिग चरणको सबै खेल खेलिसकेको सुदूरपश्चिम ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।

एक खेलअघि नै फाइनल पुगिसकेको एपीएफ ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । एपीएफले अन्तिम लिग खेल बिहीबार लुम्बिनीसँग खेल्नेछ ।

लगातार तीन खेल हार्दै अंकविहीन रहेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिसकेको छ । यस्तै सुदूरपश्चिमको जितपछि पुसमा प्रधानमन्त्री कपको उपाधि जितेको  प्रदेश १ र ललितपुर मेयर्स–११ पनि बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment