+
+
Shares

काठमाडौंमै पानी जहाज चल्छ, चलाऔं

अनुप खनाल अनुप खनाल
२०७७ चैत २६ गते ११:०३

नेपालमा पानीजहाज सम्बन्धी कुरा सुन्‍नेबित्तिकै धेरैले प्रधानमन्त्रीको हावादारी गफको रूपमा लिने गर्छन् । अझै त्यसमा पनि काठमाडौंमा पानीजहाज चलाउने कुरा सुन्दा जो-कोहीलाई अनौठो लाग्नु स्वाभाविकै हो । प्राविधिक दृष्टिकोणले भने काठमाडौंमै पनि पानीजहाज चलाई मनग्य फाइदा लिन सम्भव देखिन्छ ।

साना खोला तथा सिंचाइका नहरहरूमा समेत पानीजहाज संचालन गरी आर्थिक फड्को मारेका देश विश्वमा धेरै छन् । इजिप्टमा नाइल नदी र मेरिडेटेरीनियन समुद्र जोडेर बनाइएको जम्मा २.५५ मिटर गहिरो सिँचाइको नहरमा धेरै पहिलेदेखि पानीजहाज संचालन भइरहेका छन् ।

काठमाडौँका खोलामा पानीजहाज चलाउन केही सामान्य संरचना निर्माण भने अवश्य गर्नुपर्ने हुन्छ । काठमाडौंका वागमती, विष्णुमती तथा धोबीखोलामा बाँध थुनेर ताल बनाई सानो खालको जहाज चलाउन सकिन्छ ।

धोबीखोला पाइलट प्रोजेक्ट

कम चौडाइ, उपयुक्त गहिराइ तथा तेर्सो भएर बग्ने हुँदा धोबीखोलामा सानो बाँध बनाउँदा पनि निकै लामो दूरीसम्म ताल बन्दछ । यो खोलामा २/३ मिटर अग्लो बाँध बनाएर पानी थुन्ने हो भने करिब ३-४ किलोमिटर क्षेत्रमा ताल बन्दछ । उक्त तालमा करीब १५-२० सिट क्षमताको पानीजहाज चलाउन सकिन्छ ।

बाँधमा पानी थुन्न र छोड्नको लागि दुई वटा गेट राख्न सकिन्छ जसले गर्दा वर्षात्को समयमा दुईवटै गेट पूरै खोली बाढीलाई पुरानै अवस्थामा बग्न दिने र सुक्खायाममा दुवै गेट बन्द गर्दा बन्ने लामो तालमा सानो पानीजहाज चलाउन सकिन्छ । काठमाडौंको बिच भागमा बग्ने धोबी खोलामा ताल बनाएर पानीजहाज चलाउँदा यसले निकै महत्व पाउनुको साथै नेपालका अन्य धेरै खोलामा पनि पानीजहाज चलाउन सम्भव छ भन्ने सन्देश जान सक्दछ ।

भर्खरै वितरणमा आएको मेलम्चीको पानी प्रत्यक्ष रूपमा खोलामा नछाडिए पनि यो सबै पानी कुनै न कुनै रूपमा खोलामा नै मिसिन्छ जसले गर्दा पानीको बहाव बढ्न गई तालमा धेरै पानी जम्मा भई पानीजहाज चलाउन थप सहजता मिल्नेछ ।

यस्तो परियोजना संचालनको जिम्मा प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई दिन सकिन्छ । निजी कम्पनीहरूले यसलाई संचालन गरी लाखौं रुपैयाँ आयआर्जन गर्न सक्नेछन् । यस्तो अनुमति दिए सरकारले पनि वार्षिक रूपमा उल्लेखनीय राजस्व संकलन गर्न सक्नेछ ।

धोबीखोलामा अहिले बगिरहेको थोरै पानीले त्यो बाटो भएर हिँड्ने कसैलाई पनि आकर्षण गरिरहेको छैन । खोला थुनेर ताल बनाउँदा यो कोरिडोर भएर हिँड्ने जो–कोहीलाई छुट्टै अनुभूति गराउँछ । खोलामा पानी थुनेर लामो समयसम्म राख्दा जमीन मुनिको समेत रिचार्ज भई मूलहरू सुक्ने समस्या पनि केही हदसम्म समाधान हुन्छ ।

धोबीखोलाको अहिलेको अवस्था/आयोजना निर्माण पछि हुने अवस्था। तस्वीर स्केचः आर्किटेक्ट रन्जित काफ्ले

आयोजनाका चुनौती

यसरी काठमाडौंका खोलामा बाँध बाँधी ताल बनाएर पानीजहाज चलाउने कार्यका केही चुनौती भने अवश्य छन् । खोलामा फालिएका प्लास्टिक, बोतल तथा अन्य फोहोरहरू तैरिन गई तालको शोभा बिगार्छन् । त्यसैले यस्ता फोहोरलाई नियमित सफा गर्नुपर्ने हुन्छ । यस्ता फोहोर खोलामा फाल्न पूर्णरूपमा बन्देज गरिनुपर्दछ।

यसैगरी खोलाको होचो भागमा छोडिएका ढलका पाइपहरू तालको पानीको सतहभन्दा तल पर्न गए ढल निकास बन्द हुने मात्र नभई तालको पानी पनि ढलभित्र छिर्न सक्दछ । यसको लागि होचो सतहमा छोडिएका ढलका पाइपहरूलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

यस्ता चुनौतीको राम्रो अध्ययन गरी काठमाडौंको कम्तीमा एउटा खोलामा पाइलट प्रोजेक्टको रूपमा बाँध थुनेर ताल बनाई सानो पानीजहाज चलाएर देखाउन सके नेपालमा पानीजहाज सम्बन्धी हुने बहस सार्थक हुने थियो । देशको केन्द्रबाट यस्ता परियोजना शुरू गर्ने हो भने नेपालमा पानी जहाजले अझै निकै महत्व पाउनेथियो ।

(खनाल नेपालमा भइरहेको पानीजहाजको अध्ययनमा संलग्न इन्जिनियर हुन् ।)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?