+
+
Shares

सत्र नलाग्दै चुरोट र सुर्तीको लत !

रासस रासस
२०७७ चैत २६ गते १२:४३

२६ चैत, बलेवा । सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर-किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन नियम र मापदण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रमका सहभागीले युवा र किशोर अवस्थामा सुर्तीजन्य वस्तुको सेवनबाट बचाउनुपर्ने आवश्यकताबारे चिन्ता व्यक्त गरे ।

बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले किशोर अवस्थामा कुलतबाट जोगाउन सकेमात्र भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने भन्दै प्रशासनबाट नियमन कडाइ गरिने बताए । उनले सार्वजनिकस्थलमा चुरोट र सुर्तीजन्य बस्तु सेवन गर्नेलाई कारबाही गरिने बताए ।

‘कारबाही गर्ने अधिकारीका रूपमा प्रजिअलाई तोकेको छ, अब हामी कडाइका साथ अनुगमन पनि गर्छौं’, कार्कीले भने, ‘अब जता पायो त्यतै जहाँ पायो त्यहीँ धुमपान गर्दा कारबाही भोग्नुपर्छ ।’

सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृत्ति बढेको, त्यसपछि क्रमशः युवा दुर्व्यसनमा फस्ने तथा लागुपदार्थ सेवनमा लाग्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनेजस्ता काम भइरहेको उनले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले एक तिहाइ नेपालीले अहिले पनि धुमपान गरेको तथ्य बताए । साथै उनले १७ वर्षमुनिबाटै धुमपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै विद्यालय तहलाई समयमै सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए ।

अहिले पनि सत्र वर्षमुनिका झण्डै १९ प्रतिशत किशोरकिशोरी त्यस्तो लतमा देखिएको बताइएको छ । त्यस्ता वस्तुको सेवनले क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र अन्य धेरै नसर्ने रोग लाग्ने गरेको तथ्यसमेत भेटिएको छ ।

विश्वमा अहिले पनि एक अर्ब मानिस सुर्तीजन्य वस्तुको सेवनबाट नसर्ने प्रकृतिका जटिल रोग बोकेर बसेकोसमेत गुरौले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?