Comments Add Comment

७२ हजार किलो चिनी खाडल खनेर पुरियो

२६ चैत, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागको केन्द्रीय प्रयोगशालाले खान योग्य भनी प्रमाणित गरेको ७२ हजार किलो चिनी आन्तरिक राजश्व कार्यालय पथलैयाले अखाद्य भन्दै नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको सिफारिसमा उक्त चिनी खाल्डो खनेर पुरिएको हो ।

नष्ट गरिएको चिनीको हालको बजार मूल्य ६१ लाख २० हजार रुपैयाँ भन्दा धेरै हुन्छ । खाद्य ऐनअनुसार प्रयोगका लागि योग्य नभएको खाद्यको रिपोर्टपछि चिनी नष्ट गरिएको आन्तरिक राजश्व कार्यालय पथलैयाका प्रमुख टंकप्रसाद पाण्डेले बताए । ‘लिलामी गर्नेकी भन्ने सोचेका थियौं तर अखाद्य भएपछि एक हजार ४४० बोरा चिनी कार्यालय परिसरमा गाडियो,’ पाण्डेले अनलाइनखबरसँग भने ।

आन्तरिक राजश्वले सोमबार चिनी नष्ट गर्नु अघि गुणस्तर जाँच गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा दुई बोरा नमुना पठाएको थियो । करिब एक वर्ष अघि नियन्त्रणमा लिएको उक्त चिनी गुणस्तरीय भए लिलामी गर्ने कार्यालयको योजना थियो तर खाद्य कार्यालयले अखाद्य भएको रिपोर्ट पठाए पछि नष्ट गर्ने निर्णयमा पुगेको पाण्डेले भने ।

नमुना पठाइएको दुई बोरामध्ये एउटामा उत्पादन मिती नभएको अर्कोमा उपभोग्य म्याद नाघेको पाइएको खाद्य प्रविधि तथा गुणस्तर विभागका जनकपुर कार्यालय प्रमुख विजय खनालले भने । चिनीको केमिकल ल्याव परीक्षण भने नगरेको उनले बताए । म्याद सकिएको र लेबल नराखिएको वस्तु नष्ट गर्ने नीति रहेको उनले बताए ।

पोहोर फागुनमा महोत्तरीको जलेश्वर भन्सार भएर उक्त चिनी नेपाल भित्रिएको थियो । आयातकर्ताले ३७ लाखको स्वघोषणा गरेर थप २३ लाख ५० हजार ९९४ रुपैयाँ राजश्व तिरेर उक्त चिनी भित्र्याएका थिए । नेपाल भित्रिने बितिक्कै आन्तरिक राजश्व कार्यालय पथलैयाले नियन्त्रणमा लिएको चिनी थप अनुसन्धानका लागि केन्द्रीय खाद्य प्रयोगशाला बबरमहल पठाएको थियो ।

प्रयोगशालामा दुई पटक गरिएको परीक्षणमा चिनी खान योग्य रहेको पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस चिनीको चलखेल प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान यो पनि पढ्नुहोस भारतबाट भित्रिएको चिनीमा चलखेल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment