
२८ वैशाख, काठमाडौं । भारतबाट भित्रिएको ७२ हजार किलो चिनीको दोहोरो गुणस्तरबारे अख्तियारले अनुसन्धान सुरु गरेको छ । चिनी विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान सुरु गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरलाई बताए ।
राजश्व अनुसन्धान विभाग पथलैयाको नियन्त्रणमा रहेको चिनीको नमूना अख्तियारले लगेको छ । राजस्व कार्यालयको नियन्त्रणमा रहेको दुई बोरा चिनी ल्याइएको अख्तियार स्रोतले बतायो ।
गत फागुन २५ गते भारतबाट आयात गरिएको चिनी जलेश्वर खाद्य क्वारसेन्टनको परीक्षणले खान अयोग्य भएको भन्दै आयात गर्न नमिल्ने प्रमाणित गरेको थियो । तर भन्सारबाट चिनीको आयात खोलिएको थियो ।
त्यस लगत्तै राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएको चिनीको तीन महिनापछि गुणस्तर फेरिएको थियो ।
वैशाख १५, जेठ ९ र १५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्राप्त चिनीको नमूना परीक्षणमा चिनी नेपाल सरकारको मापदण्ड अनुसारनै भएको पाइएको थियो ।
गुणस्तर प्रमाणीकरणमा शंका छैनः खाद्य
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने गुणस्तर परीक्षणमा विभागको केन्द्रीय ल्याब (खाद्य तथा दान रिफ्रेन्स प्रयोगशाला) मा कुनै गडबडी नरहेको दावी गरेको छ ।
मंगलबार ध्यानाकर्षण पत्र जारी गर्दै विभागले आफ्नो ल्याव अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको र नमूना परिक्षण राजश्व अनुसन्धान विभागको आग्रहमा गुणस्तर मापन गरिएको प्रष्टोक्तिमा भनिएको छ ।
प्रतिक्रिया 4