Comments Add Comment

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि

प्रतीकात्मक तस्वीर

२७ चैत, कञ्चनपुर। कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र आगलागीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ ।

आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ । वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटना मात्रै प्राकृतिक कारणले हुने गरेको छ ।

चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् ।

‘गत वर्ष १५० हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको थियो,’ डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भने, ‘यस वर्ष अहिलेसम्म २०० हेक्टर वन क्षेत्रमा आगलागी भइसकेको छ । गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आगलागीका घटनामा वृद्धि हुनसक्ने देखिएको छ ।’ पानी नपरेका कारण पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको उनले बताए ।

सामुदायिक वनका पदाधिकारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रिय रूपमा लागेका छन् । हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगलागीका कारण व्यापक क्षति भएको छ । आगलागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्षति पुगेको छ ।

रातदिन नभनी वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लागेको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बर्ता । ‘वनका उपभोक्तासहित पालो मिलाएर आगो नियन्त्रणमा लागेका छौं,’ उनले भने, ‘लाखौं मूल्यको काठ जलेर नोक्सानी भएको छ । बाह्य क्षेत्रबाट काठ निर्यात गरेर ल्याउँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment