२९ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा सिटी १० खेलाडीमा झरेको लिड्ससँग २-१ ले स्तब्ध बनेको हो ।
लिड्सका लागि दुवै गोल स्टुअर्ड डल्लासले गरे । उनले इन्जुरी टाइममा निर्णायक गोल गर्दै लिड्सको जित पक्का गरेका थिए ।
खेलको ४२औं मिनेटमा स्टुअर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा लियम कुपरले रातो कार्ड पाएपछि लिड्स दश खेलाडीमा समेटियो ।
दोस्रो हाफमा दुवै टोलीले एक-एक गोल गरे । ७६औं मिनेटमा फेरान टोरेसले सिटीका लागि बराबरी गोल फर्काए । तर एक खेलाडी कम भए पनि स्टुअर्डले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।
पराजित सिटी ३२ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमै छ । ३० खेलबाट ६० अंकसहित म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । सिटीलाई अब उपाधि जित्न ६ खेलमा ११ अंकको आवश्यकता छ ।
३१ खेलबाट ४५ अंकसहित लिड्स १०औं स्थानमा छ ।
प्रतिक्रिया 4