Comments Add Comment

वीरगञ्‍ज नाकामा परीक्षण गर्दा दुईजनामा ‘एन्टिजेन पोजिटिभ’

३० चैत, पर्सा । वीरगञ्ज नाकामा परीक्षणका क्रममा दुईजनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको झारखण्डबाट आएकी २८ वर्षीया महिला र वीरगञ्ज– १३ का ३४ वर्षीय पुरुषमा एन्टिजेन पोजिटिभ पुष्टि भएको हो ।

झारखण्डबाट श्रीमान्‌लाई भेट्न आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि भारततर्फ नै फर्काउने तयारी भइरहेको छ भने ३४ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका छन् । महिलामा कुनै किसिमको लक्षण देखिएको छैन भने पुरुषलाई १०० डिग्री ज्वरो आएको छ ।

हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले शुरुमा ती महिलाले एन्टिजेन परीक्षण गराउन नमानेको बताए । ‘ चेक गराउन मानिरहनुभएको थिएन, जाँच नगराइ जान नदिने अडान लिएपछि बल्ल परीक्षणका लागि तयार हुनुभएको हो ।’ उनले भने ‘ पछि त उहाँमा नै एन्टिजेन पोजिटिभ पुष्टि भयो ।’

हेल्थ डेस्कले संक्रमित फेला पारिसकेपछि व्यवस्थापनमा भने समस्या भइरहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । जिम्मेवार व्यक्ति नतोकिदिँदा आफूहरुलाई समस्या भएको उनीहरुले बताएका छन् ।

‘संक्रमितको जिम्मेवारी न नारायणी अस्तालले लिन्छ, न महानगरपालिकाले नै । महानगरले नारायणी अस्पताललाई भनेको छ भन्छ, तर नारायणीले लिन मानिरहेको छैन,’ हेल्थ असिस्टेन्ट हवारीले भने ‘ यहाँ चेकजाँच गर्ने कि संक्रमितको व्यवस्थापनमा लाग्ने ? समस्या हुन्छ ।’

भारतीय नागरिकलाई भारततर्फ नै फर्काउने र नेपाली नागरिकलाई होम आइसोलेसनमा बस्न सुझाव दिएर पठाउने गरेको उनले बताए । वीरगञ्ज नाका हुँदै बंगाल, उत्तर प्रदेश, मद्रास, दिल्ली, मुम्बई, तमिलनाडुबाट मानिस आइरहेका छन् । सोमबार दिउँसोसम्‍म हेल्थ डेस्कमा ६० जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

‘सबै मानिसलाई चेक गर्न भ्याइरहेको छैनौं, चेक गर्न जाँदा मानिसहरु भागिरहेका छन् ।’ हेल्थ असिस्टेन्ट हवारीले भने ‘ कोरोनाको केस बढिरहेको छ, बोर्डर सिल गर्ने हो वा अझै व्यवस्थित गर्ने हो। तर छिटो गर्नुपर्छ । अन्यथा स्थिति बिग्रिन सक्छ ।’

यता, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सिरियस अवस्था नभइ अस्पताल लैजान नपर्ने बताए । ‘ नाकामा पोजेटिभ केस भेटिए, सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा पठाउने हो । एकदमै सिरियस छ भने मात्रै अस्पताल पठाउन भनेका छौं ।’ उनले भने ‘ भारतीय नागरिकलाई त फिर्ता नै पठाउनुपर्छ ।’ महानगरपालिकाले खरिद गरेको दुईवटा एम्बुलेन्स आइपुगेपछि संक्रमितको व्यवस्थापनमा खासै समस्या नहुने तर्क उनको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी) पर्साको आईतबार बसेको बैठकले नाकाको हेल्थ डेस्क मार्फत स्वास्थ्य जाँच र अभिलेखलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । तर जनशक्ति अभावका कारण हेल्थ डेस्कका स्वास्थ्यकर्मीले सबैको चेकजाँच गर्न सकिरहेका छैनन् ।

यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जनशक्ति थपेरै भएपनि हेल्थ डेस्कलाई व्यवस्थित गरिने बताए । ‘आवश्यकताका आधारमा हेल्थ डेस्कमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाएका छौं, सर्वसाधारणको आवागमनलाई कम गर्न प्रयास गरिरहेका छौं ।’ उनले भने ‘जनशक्ति कम भएको छ, थप जनशक्ति परिचालन गर्न महानगरपालिकालाई आग्रह गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment