Comments Add Comment

सर्वोच्चको फैसला : सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ

३० चैत, काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुवै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो ।

संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्नेछ ।

तर सुवेदीले राजपत्रांकित प्रथम श्रेणीको पदमा १० वर्ष ४ महिना १८ दिन मात्र काम गरेका थिए । त्यसपछि उनी उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए । उच्च अदालतको मुख्य न्यायाधीश भई उनले ३ वर्ष २ महिना ३ दिन काम गरेका थिए ।

सर्वोच्चले मुख्य न्यायाधीश पदलाई पनि राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिल्लो पद मानी सुवेदीको योग्यता पुगेको फैसला सुनाएको हो ।

‘एउटै सेवामा राजपत्रांकित प्रथम श्रेणी सहसचिवस्तरदेखि विशिष्ट श्रेणीको मुख्य रजिष्टार र सोभन्दा माथिको मुख्य न्यायाधीश पदसम्मको नियमित रुपमा कार्य गरेको अनुभव उसको योग्यताभित्र नै पदर्छ । संविधानको धारा १२९ को उपधारा ५ को व्यवस्थालाई हेर्दा राजपत्रांकित प्रथम श्रेणी सहसचिवस्तरदेखि विशिष्ट श्रेणीको मुख्य रजिस्टारसम्म र सोभन्दा माथिल्लो पद मुख्य न्यायाधीशको अनुभव दुई अलग अलग क्षेत्रको भएको हुँदा एउटा क्षेत्रको पदको अनुभव अवधि अर्को क्षेत्रको अनुभवको अवधिमा जोड्न र गणना गर्न मिल्दैन भन्ने भनाइ संविधानसम्मत देखिन आउँदैन’ फैसलामा भनिएको छ ।

२८ फागुनमा न्यायपरिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । तर सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दिएका थिए । उनले न्याय सेवाको कर्मचारी भएर काम गरेको अवधि र मुख्य न्यायाधीश भएको अवधिलाई जोड्न नमिल्ने जिकिर गरेका थिए ।

फैसलामा मुख्य न्यायाधीश पद न्याय सेवाको विशिष्ट श्रेणी भन्दा माथिल्लो पद भनेर व्याख्या गरिएको छ । ‘न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिवस्तरको पददेखि माथि विशिष्ट श्रेणीको सचिव र मुख्य सचिवस्तरको मुख्य रजिस्टारको पद रहेको र सोभन्दा माथिल्लो पदमा मुख्य न्यायाधीश पद रहेको छ’ फैसलामा भनिएको छ ।

हेर्नुहोस् फैसला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment