Comments Add Comment
वर्ष साहित्य : २०७७ :

महामारीबीच गतिशील बनेको साहित्य

पूर्वार्द्धका ६ महीना ठप्प, उत्तरार्द्धमा गतिशील

३१ चैत, काठमाडौं । कोरोना महामारीले वर्ष २०७७ मा नेपालमा पनि शिक्षा, रोजगार, उद्योगलगायत अत्यावश्यक क्षेत्र ठप्प भए । आम मानिसको दैनिकीमा धक्का पुग्यो । कैयौं बेरोजगार बने । मजदूर, श्रमिकको बिचल्ली भयो । नयाँ रोजगार सिर्जना भएनन् ।

कोरोना महामारीबाट नेपाली साहित्य क्षेत्र पनि अछुतो रहेन । बढ्दो महामारीले गर्दा साहित्यिक कार्यक्रम, पुस्तक प्रकाशन तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय समारोह स्थगित भए ।

यद्यपि, कोरोना छ भन्दैमा स्रष्टाहरू हात बाँधेर बसेको भने पाइएन । असोजदेखि लकडाउन खुकुलो हुनासाथ बजारमा बहुल विधाका पुस्तकहरू प्रकाशन भए ।

लकडाउनकै अवधिमा पनि दैनिकजसो भर्चुअल साहित्यिक कार्यक्रम हुँदै गरे । सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा स्रष्टाहरूका नयाँ–नयाँ रचना आइरहे ।

साहित्यतर्फ निजी प्रकाशन गृहले वर्षको अन्तिम चार महीनामा प्रत्येक साता जस्तो पुस्तक प्रकाशन गरे । तथ्यांकअनुसार पनि पुस्तक प्रकाशन ग्राफ अन्य वर्षकै हाराहारीमा रह्यो । किताब यात्रा, थुप्रै डटकम तथा अनलाइन बिक्रेताले होम डेलिभरीसहित अनलाइन पुस्तक बिक्रीको बाटो अपनाए ।

प्रकाशन गृह शिखा बुक्सले ४३, सांग्रिलाले ३६, बुकहिलले १८, फाइन प्रिन्टले १८, इन्डिगो इन्कले ९, घोस्ट राइटिङ नेपालले ९, फिनिक्सले ६ थान पुस्तक प्रकाशन गरेको तथ्य सार्वजनिक गरे । यसबाहेक पुराना पुस्तक पुनःप्रकाशन र पुनःमुद्रणको गति रोकिएन । अघिल्लो वर्ष यीमध्ये केही प्रकाशन गृहको पुस्तक प्रकाशन संख्या योभन्दा कम थियो ।

लेखक अमर न्यौपाने तथा बुद्धिसागरले आफ्ना उपन्यासको १० वर्षे संस्करण नयाँ कलेवरसहित प्रकाशित गरे । ऐतिहासिक संकलन मानिने तुलसी दिवसको ‘नेपाली लोककथा’, दमनराज तुलाधरको बहुचर्चित आत्मकथा पुनःप्रकाशन भए ।

समीक्षक राजकुमार बानियाँको भनाइ छ– किताबलाई कोरोना लागेन । त्यस्तो भयानक सफलता वा उत्साहजनक उपलब्धि त साहित्यमा भएको छैन तर विषम परिस्थितिमा यसप्रकारको गतिशीलता आउनु सकारात्मक संकेत हो ।

यता अघिल्लो वर्ष पुस्तक आयातमा लगाएको कर कात्तिकमा विष्णु पौडेल अर्थमन्त्री भएपछि हटाइयो । मन्त्रिपरिषदको त्यो निर्णयसँगै आर्थिक वर्ष २०७६/७७ देखि आयातित पुस्तकमाथि लाग्दै आएको भन्सार शुल्क हट्ने निश्चित भयो ।

वार्षिक हुने गरेका साहित्यिक विमर्श तथा महोत्सवहरू भने फागुन र चैतमा बढी भए । मंसिरमा नेपाल लिटरेचर फेस्टिभल पोखरा र त्यसपछि किताब जात्रा, जनकपुर साहित्य महोत्सव, कर्णाली साहित्य उत्सव, आदिवासी जनजाति लेखक–साहित्यकार महासंघ गठन जस्ता गतिविधि भए ।

सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले असारमा रोकिएको राष्ट्रिय कविता महोत्सव तथा पुस्तक प्रदर्शनी मंसिरमा गर्याे । साझा प्रकाशनको नयाँ नेतृत्वको निर्वाचन तथा स्थानीय निकायले गर्ने साहित्य महोत्सवहरू हिउँदकेन्द्रित भए ।

पुस ५ गते केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै अधिकांश साहित्यकार सडक संघर्षमा उत्रिए । माघ ३० गते साहित्यकारहरूले प्रतिगमन विरूद्ध ‘स्रष्टा आन्दोलन २०७७’ गरे । आन्दोलनका क्रममा दर्जनौं कविता वाचन, नाटक प्रस्तुति गरियो ।

यद्यपि थिएटरमै हुने नाटक मञ्चन भने पूर्ण प्रभावित भयो । दर्शकसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदर्शन गर्नुपर्ने विधा भएकाले प्रदर्शनभन्दा बढी विमर्श तथा लेखनमै नाट्य–स्रष्टाहरू व्यस्त रहे ।

यो पनि पढ्नुहोस लकडाउनपछिको रंगमञ्च : लय समात्ने प्रयासमा

विधागत रूपमा आख्यान, गैरआख्यान र कविताकै वर्चश्व रह्यो । यसबाहेक बालसाहित्य, गजल, मुक्तक, हाइकू, चित्रकथा पनि प्रकाशित भए ।

लकडाउन र महामारी भए पनि अन्य वर्षकै अनुपातमा पुस्तक प्रकाशन भएको बताउँछन् शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेल । उनका अनुसार पुस्तकको अर्थबजार खस्किए पनि गतिविधि राम्रो भएको छ ।

पौडेल सुनाउँछन्, ‘तुलनात्मक रूपमा बजारमा पुस्तकको बिक्री त कम हुने नै भयो । यद्यपि पुस्तककेन्द्रित गतिविधि उल्लेख्य भएका छन् ।

फाइन प्रिन्टका अजित बराल भने लकडाउनले सात–आठ महीना रोकिएको पुस्तक बजार एकैपटक खुल्दा पुस्तकको बाढी आएको जस्तो देखिएको बताउँछन् । बरालका अनुसार पुस्तक प्रकाशनसँगै रोकिएका साहित्यिक कार्यक्रम गर्न सकिएकाले साहित्य बजार गतिशील बनेको हो ।

सेलाएको आख्यान बजार

वर्ष २०७७ मा उपन्यास तथा कथाको प्रकाशन संख्या उच्च रहे पनि सेलिब्रेटी आख्यानकारहरू गुप्तवासमै रहे । भदौमा २० जना युवा कथाकारको कथासंग्रह ‘छकालै’ प्रकाशन भयो भने असोजमा केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ बजारमा आयो ।

कथातर्फ बिना थिङको कथा ‘याम्बुनेर’, सुरेश बडालको ‘रहर’, श्याम साहको ‘पथेर’, तीर्थ गुरूङको ‘आप्पा क्हार्प’, शशि थापा पण्डितको ‘उठ तिलोत्तमा’, उपन्यासतर्फ सरला गौतमको ‘डुमेरो’, गणेश लाठको ‘क्षमादान’, सुमित शर्माको ‘प्रवास’, गोपी सापकोटाको ‘काँचो कागज’, प्रभा बरालको ‘फिलिङ्गो’, पदम गौतमको ‘विश्रामपुर’ पाठकको रोजाइमा परे ।

भुवन ढुंगानाको ‘परित्यक्ता’, कृष्ण अविरलको ‘करिया’, जेसन कुँवरको ‘रमिते’ पनि यही वर्ष प्रकाशित भए । कुमार नगरकोटीको कथाकृति ‘कल्प–ग्रन्थ’ चैतमा प्रकाशित हुने भनिए वैशाखमा सार्वजनिक हुने भएको छ ।

गैरआख्यानको दबदबा

वर्ष २०७७ मा प्रकाशन तथ्यांकको आधारमा गैरआख्यानको दबदबा रहेको देखियो । इतिहासविद् महेशराज पन्तको पुस्तकदेखि रवीन्द्र मिश्रको राजनीतिक निबन्ध र बाबुराम भट्टराईको युद्धकालीन सम्झना बजारमा आए ।

दिवंगत कलाकार मनुजबाबु मिश्रका चुनिएका निबन्धहरूको सँगालो ‘एकलानुभूति’, रमेशनाथ पाण्डेको ‘क्रान्ति–प्रतिक्रान्ति’देखि यसै वर्ष मदन पुरस्कार प्राप्त गरेका लेखक चन्द्रप्रकाश बानियाँको ‘भौंज्याहा’ प्रकाशित भयो ।

पछिल्लो एक दशकमा झैं स्थापित अनुहारका आत्मकथाले यो वर्ष पनि प्रधानता पायो । नागरिक अभियन्ता देवेन्द्रराज पाण्डेको ‘एकज्यान दुई जुनी’, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको ‘न्यायालयमा चार दशक’, पूर्वसचिव डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’, पूर्वमन्त्री जयप्रकाश गुप्ताको ‘अख्तियारको थुना : मेरो सम्झना’लगायत आत्मकथा प्रकाशित भए ।

उपप्राध्यापक डा. बिन्दु शर्मा भन्छिन्– मैले यसरी लकडाउनलाई सदुपयोग गरेँ भन्दै पुस्तक संख्या बढाउने ध्याउन्नमा स्रष्टाहरू छन्, त्यसले समाजबाट निरपेक्ष सृजनाहरू बजारमा आइरहेका छन् ।

अंग्रेजी भाषामा लेखिएको प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘जिजीविषा’ नेपालीमा प्रकाशित भयो । अंग्रेजीमै लेखिएको जोन स्टेनबेकको विश्वचर्चित उपन्यास ‘मुषा मानुष’, इरावती कर्वेको कृति ‘युगान्त’, शिवा शाहको ‘कान्छी महारानी’ अनूदित भयो ।

पत्रकार विजयकुमारको ‘सम्बन्धहरू’, डा. मदनकुमार भट्टराईको ‘परराष्ट्रका प्रशासक’, डा. गोविन्द टण्डनको ‘इतिहासका थप पृष्ठहरू’, बिएन जोशीको ‘श्रमाटन’, खाडी मुलुकका नेपालीको पीडा उतारिएको होम कार्कीको ‘सनैया’, उद्यमी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’, चिन्तक आहुतिको ‘जात वार्ता’, खगेन्द्र संग्रौलाको ‘कोरोना कैरन’, रेशम विरहीको ‘सत्ता र स्वप्नदोष’, हरि अधिकारीको संकलित गद्यरचना यही वर्ष सार्वजनिक भए ।

साहित्य–समालोचना र सिद्धान्तका पुस्तकहरू नेपाल प्रज्ञा प्रतिष्ठान तथा निजी प्रकाशन गृहबाट प्रकाशित भए ।

कोरोना भर्सेस कविता

कोरोनाकालमा कविता सिर्जनाको संख्या सम्भवतः उच्च रह्यो । कवि श्रवण मुकारूङको मूल्यांकनमा पनि अन्य समयको तुलनामा लकडाउनमा कविहरू बढी सक्रिय देखिए ।

मुकारूङ स्वयंले एक सय दिनसम्म आफूलाई मन परेका नेपाली कविताहरू वाचन गरेर फेसबुकमा राखे । उनी सुनाउँछन्, ‘यो वर्ष कोरोनाले दिएको विश्व चेतना र नेपालको आन्तरिक राजनीति समेटिएको दुईखाले कविता आयो । अलि फुर्सदिलो भएकाले पनि हामीले धेरै कविता पढ्न पायौं ।’

२०७७ मा असीम सागरको ‘क’, समालोचक नेत्र एटमको ‘प्रिय ! मौनता’, गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, सुवास खनालको ‘सपनाको अवयव’, कल्पना चिलुवालको ‘चुल्ठो’ विशेष चर्चामा रहे ।

यस्तै महेश कार्की क्षितिजको ‘एक्लो महारथी’, सुमन पोखरेलको ‘जीवनको छेउबाट’, सविता गौतम दाहालको ‘तिमीलाई कस्तो छ’, सुष्मा रानाहँमाको ‘आमाको तास फोटो’ लगायत प्रकाशित भए ।

बृहत् नागरिक आन्दोलन तथा स्रष्टा आन्दोलनका क्रममा एकपछि अर्को कविता वाचन कार्यक्रम भइरह्यो ।

के भन्छन् समीक्षक

कोरोनाले आक्रान्त बने पनि वर्ष २०७७ मा साहित्यिक गतिविधि उल्लेख्य भएको समीक्षकहरूको मत छ । आख्यानकार नारायण ढकाल कोरोनाको बाबजुद पुस्तक लेखन, प्रकाशन र अन्तरक्रिया सहजै भएको सुनाउँछन् । उनी भन्छन्, ‘गुणवत्तालाई एकठाउँमा राखेर हेर्ने हो भने यस वर्षको साहित्य गतिशील देखिन्छ । स्रष्टाहरूले फुर्सद पाएपछि झन् सक्रियता देखाएको महसूस हुन्छ ।’

ढकाल स्वयं पनि वर्षभरि घरैमा बसेर लेख्नेपढ्ने काममा व्यस्त भए । आफूजस्तै फुर्सदिला स्रष्टाहरू त्यसै बसिरहनेभन्दा केही नयाँ लेखनमै जोड गरेको उनको निचोड छ ।

समीक्षक राजकुमार बानियाँ किताबलाई कोरोना नलागेको व्यंग्य गर्दै यस वर्षको साहित्य बजार चलायमान रहेको बताउँछन् । ‘त्यस्तो भयानक सफलता वा उत्साहजनक उपलब्धि त साहित्यमा भएको छैन’ बानियाँले भने, ‘तर विषम परिस्थितिमा यसप्रकारको गतिशीलता आउनु सकारात्मक संकेत हो ।’

संख्यापछि मात्रै स्तरको कुरा आउने धारणा राख्दै बानियाँले पुस्तक प्रकाशनको ग्राफ बढ्नु स्वागतयोग्य भएको बताए ।

उपप्राध्यापक एवं समीक्षक डा. बिन्दु शर्मा भने यस वर्षको साहित्यमाथि भिन्न धारणा राख्छिन् । शर्माका अनुसार साहित्यकार समाजको जिम्मेवार मानिस भएका कारण कोरोनाले थलिएको सामाजिक संवेदनालाई बेवास्ता गर्दै ‘कोठे साहित्य’ लेखनले यो वर्ष प्रधानता पायो ।

बिन्दु सुनाउँछिन्, ‘मैले यसरी लकडाउनलाई सदुपयोग गरें भन्दै पुस्तक संख्या बढाउने ध्याउन्नमा स्रष्टाहरू छन्, त्यसले समाजबाट निरपेक्ष सृजनाहरू बजारमा आइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment