
३१ चैत, जनकपुरधाम । प्रदेश-२ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको बिभिन्न ठाउँमा रहेको कोरोना प्रयोगशालामा १ सय २५ जनाको परीक्षण गर्दा ५६ जना संक्रमित देखिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २६ वटा परीक्षण गर्दा १२ जना संक्रमित देखिका छन् । यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ४ जनाको परीक्षण गर्दा २ र नारायणी अस्पताल बीरगंजमा ९५ जनाको परीक्षण गर्दा ४० जना संक्रमित देखिएका छन् ।
कुन जिल्लामा कति संक्रमित ?
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्साका ३८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने १ जना बहादुरमाई नगरपालिकाका हुन् भने बाँकी सबै बीरगञ्ज महानगरपालिकाका हुन् ।
यस्तै, सिरहामा ७ जना, धनुषा र बारामा ४÷४ जना, सप्तरीमा २ जना र महोत्तरीमा एकजना कोरोना संक्रमित देखिएका छन् ।
योसँगै हालसम्म प्रदेशमा संक्रमित हुनेको संख्या १७ हजार ४ सय ३ पुगेको छ ।
२४ घण्टामा तीनको मृत्यु
यो अवधिमा प्रदेशमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप-महानगरपालिका ९ बस्ने ३७ बर्षीय पुरुष, पर्साको बीरगञ्ज महानगरपालिका-३ बस्ने ६२ बर्षीय पुरुष र पर्साकै कालिकामाई गाउँपालिका २ बस्ने ५५ वर्षीय पुरुष छन् ।
बाराका ३७ बर्षीय पुरुष र बीरगञ्जका ६२ बर्षीय पुरुषको नारायणी अस्पताल बीरगञ्जजमा उपचारका क्रममा र कालिकामाई २ का ५५ वर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।
यससँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २ सय १२ पुगेको छ ।
प्रतिक्रिया 4