
३१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव बूढानीलकण्ठ पुगेका थिए । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको एक नेताले जानकारी दिए ।
आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको कांग्रेसका सभापति देउवाले केही दिन पहिले तीन दलको बैठक राखेर धारणा मागेका थिए । त्यसपछि जसपाका पदाधिकारीहरुबीच दुई दिन छलफल भए पनि कुनै निर्णय हुनसकेको छैन ।
भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पक्षमा रहे तापनि पार्टीमा निर्णय गराउन सकेका छैनन् । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमा छन् ।
उनीहरुले जसले माग सम्बोधन गर्छ, उसैलाई सम्बोधन गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले पनि मुद्दा फिर्तालगायतका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
प्रतिक्रिया 4