१ वैशाख, काठमाडौं । नयाँ बसपार्कको गोदावरी सन्तोषी गेस्ट हाउसमा मृत भेटिएका स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको मृत्युको कारण खुल्न सकेको छैन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टमले मृत्युको कारण खुलाउन नसकेको हो ।
अनुसन्धानमा संलग्न काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार क्षेत्रीको ‘कज अफ डेथ अनडिटरमाइन्ड’ भनी चिकित्सकले भनेका छन् । शनिबार राति १० बजे होटलको २०४ नम्बर कोठामा घर्तीको शव भेटिएको थियो ।
उनको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि होटलमा सँगै छिरेका साथी राजकुमार गाहालाई आरुबारी र झक्कुरराम बस्नेतलाई सुनवलबाट पक्राउ गरेको थियो । प्रहरीले गरेको सोधपुछका क्रममा दुवैको बयान पनि बाझिएको अधिकृतहरु बताउँछन् ।
तर, घर्तीको मृत्युको कारण नै स्पष्ट नभएपछि गाहा र बस्नेतविरुद्ध अभद्र व्यवहारको कसूरमा म्याद थप गरिएको छ । प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्का दुवैजनाविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताउँछन् ।
अनुसन्धान अधिकृतहरुले घर्तीलाई लागूऔषधको ओभरडोज भएको हुनसक्ने आशंका गरेका छन् । पोष्टमार्टमबाट मृत्युको कारण नखुलेपछि प्रहरीले भिसेरा परीक्षणको तयारी थालेको छ । डीएसपी खड्का अनुसार केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भिसेरा जाँच हुनेछ । रिपोर्टबाट घर्तीले मृत्यु अघि के खाएका थिए भन्ने खुल्ने प्रहरी बताउँछ ।
घर्तीले होटलमा बस्न आफूलाई राजु क्षेत्रीको रुपमा चिनाएका थिए । उनको घुँडामा चोट लागेको जस्तो देखिएको थियो, अन्य भागमा कुनै चोटपटक थिएन ।
प्रतिक्रिया 4