२९ चैत, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।
शनिबार राति १० बजे होटलको २०४ नम्बर कोठामा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ । तर, होटलमा बस्दा उनले आफूलाई राजु क्षेत्रीको रुपमा चिनाएका थिए ।
मृतकको घुँडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । मृत्युको थप कारण पोष्टमाेर्टमपछि मात्रै थाहा हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । शव पोष्टमाेर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।
गाहा आरुबारी र बस्नेत सुनवलबाट पक्राउ गरेका हुन् । प्रारम्भिक सोधपुछमा दुवैजनाको बयान बाझिएको छ । त्यसैले प्रहरीले घटनालाई शंकास्पद मानेको छ ।
प्रतिक्रिया 4