Comments Add Comment

सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशलाई प्रश्न : बेन्च सेटिङ हुन्छ कि हुँदैन ?

३ वैशाख, काठमाडौं । सांसदहरुले अदालतमा इजलास तोक्ने क्रममा सेटिङ हुने गरेको भन्दै प्रस्तावित न्यायाधीशसँग सुधारको योजना माग गरेका छन् ।

शुक्रबार संसदको संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालको सुनुवाइका क्रममा सांसदहरुले अदालतको इजलास गठन गर्ने क्रममा सेटिङ (बेन्च सेटिङ) हुन्छ कि हुँदैन भनी प्रश्न गरे ।

सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश चुडालले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । तर सांसदहरुले उनको कार्ययोजना कार्यान्वयन हुनेमा पनि आशंका गरे । उनीहरुले नागरिकमा अदालतप्रति आशंका र अविश्वास बढेको भन्दै सुधारको योजना पनि मागेका छन् ।

सांसहरुले न्याय महँगो भएको भन्ने जनगुनासो बढेकाले पैसा नहुनेले पनि न्याय पाउँछ भन्ने मान्यता स्थापित कसरी गर्ने भनेर पनि प्रश्न गरे ।

सांसद राजेन्द्र श्रेष्ठले बेञ्च सेटिङ अन्त्यका लागि के योजना छ भनी प्रस्तावित न्यायाधीश चुडाललाई प्रश्न गरे । ‘बाहिर चर्चामा भएको सेटिङ अन्त्यका विषयमा कस्तो कार्ययोजना छ ? पैसा बिना न्याय पाइदैन भन्ने अवधारणा बनिरहेको छ । न्यायपालिका क्षेत्रलाई प्रभावकारी बनाउनु छ । यी समस्या कसरी समाधान गर्नुहुन्छ’ उनले प्रश्न गरे ।

सांसद सुरेन्द्र पाण्डेले अदालतको भ्रष्टाचार कसरी नियन्त्रण गर्नुहुन्छ भनी चुडाललाई प्रश्न गरे । उनले अदालतको निर्णयका कारण विकास निर्माणमा बाधा परेको गुनासो आएको भन्दै त्यसमा पनि चुडालको धारणा माग गरे ।

‘न्यायाधीशले न्यायका हिसाबले मात्रै होइन विकास निर्माणको विषयमा पनि ध्यान दिनुपर्‍यो । अहिले यस्ता धेरै चुनौती छन् । आर्थिक क्षेत्रतर्फको विषयलाई पनि न्यायलयले हेर्नुपर्‍यो नि’ उनले भने ।

सांसद भीमसेनदास प्रधानले अदालतप्रति मानिसको विश्वास कम भइरहेको भन्दै कसरी विश्वास दिलाउनुहुन्छ भनी प्रश्न गरे । ‘बहुदल आएपछि न्यायाधीश बदनाम भएको अवस्था छ । यसमा सुधार आओस्’ उनले भने ।

सांसद जितेन्द्रनारायण देवले अदालतले राजनीतिलाई प्रभावित पार्ने काम गरिरहेको भन्दै त्यसमा सुधार गर्न के गर्नुहुन्छ भनी प्रश्न गरे । ‘…न्यायापालिको निर्णय समयमा नआउने आए पनि अप्रत्याशित आउ ने। बाहिरी राजनीतिलाई प्रभावित पार्ने कहिले सुतेर बस्ने समस्या पनि न्यायालयमा देखिएको छ । तपाईं यो कुरो मान्नु हुन्छ या मान्नुहुन्न’ उनले प्रश्न गरे ‘मान्नुहुन्छ भने यी सुधारका लागि तपाईंको भूमिका के रहन्छ ?’

सांसद निरुदेवी पालले अदालतमा बेन्च सेटिङ हुन्छ कि हुँदैन भनी प्रश्न गरिन् । ‘बेन्च सेटिङका हल्ला आउँछन् यो हुन्छ कि हुँदैन के हो तपाईंले यो विषयमा जानकारी गराइदिए हुन्थ्यो’ उनले प्रश्न गरिन् ।

सांसद देव गुरुङले न्यायापालिका अहिले पनि रुपान्तरण हुन नसकेको र भ्रष्टाचारको अखडा भएको गुनासो आएको बताए । ‘न्यायालयले कतिपय अवस्थामा हस्तक्षेप गर्ने काम पनि गरेको छ । अदालतप्रति अहिले धेरै प्रश्न उठेको छ । निच स्वार्थ र भ्रस्टाचारमा फस्ने कामले स्वतन्त्र र निष्पक्ष न्यायालय हुन सकेको अवस्था छैन’ उनले भने ।

सांसद पूर्णाकुमारी सुवेदीले जनताले किन अदालतप्रती विश्वास गर्न नसकेको भनी प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment