Comments Add Comment

‘विद्यालय पूर्ण रुपमा बन्द नगर्ने उपायहरु छन्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम बढेका १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपिल गरेको छ । विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको भन्दै निजी विद्यालय सञ्चालकहरु विद्यालय बन्दको विपक्षमा छन् । केही स्थानीय तहले भने कोरोना प्रभावित शैक्षिक संस्था अर्को सूचना नभएसम्मका लागि बन्द गर्न सूचना जारी गरेका छन् । विद्यार्थी र अभिभावक अलमलमा छन् ।

किन यस्तो भइरहेको छ र कोरोना महामारीको समयमा कसरी शिक्षण सिकाइ गर्न सकिन्छ भन्ने विषयमा शिक्षाविद् विद्यानाथ कोइरालासँग गरिएको संक्षिप्त कुराकानी :

स्वास्थ्य मन्त्रालयले जोखिम बढेको जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपिल गरेको छ । विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको भन्दै निजी विद्यालय सञ्चालकहरु विद्यालय बन्दको विपक्षमा छन् । किन यस्तो भइरहेको हो ?

शिक्षा मन्त्रालय स्पष्ट नहुँदा यस्तो अवस्था आएको हो । सरकारले जोखिमको अवस्था बुझेर तत्काल स्पष्ट निर्णय गर्नुपर्छ ।

निजी संस्थाहरू सरकारको अघिल्लो निर्देशनबाट तर्सिएका छन् । लकडाउनमा ‘अनलाइनबाट पढाऊ, शुल्क चाहिँ नलेऊ’ भन्यो । उनीहरूले आफ्नो क्षमताले भ्याएकोसम्म गरे । पछि पारिश्रमिक पाएनन् । त्यसले गर्दा विद्यालय र पढाउने शिक्षकहरू मारमा परे । यसपटक पनि त्यस्तै हुने हो कि भन्ने शंकाले उनीहरू विद्यालय बन्द गर्न हुँदैन भनिरहेका छन् ।

विद्यालय खोल्ने अथवा बन्द गर्ने अधिकार त स्थानीय सरकारसँग पनि छ नि । तर किन निर्णय गर्न सकिरहेका छैनन् ?

स्थानीय सरकारले अधिकार पाएको छ त भन्छन्, तर त्यसमा पनि स्पष्ट भनेको छैन । स्थानीय तहहरुले संविधानको अनुसूची ८ अनुसार निर्णय गर्न पाउने हो कि ९ अनुसार हो । यदि अनुसुची ८ अनुसारको अधिकार दिएको भए उसले तत्काल निर्णय गर्न पाउने अधिकार राख्छ ।

विद्यालय लाग्दा संक्रमणको डर । विद्यालय बन्द भए शैक्षिक सत्र फेरि धकेलिने हो कि भन्ने पीर ।

तर अनुसुची ९ अनुसार हो भने त उनले अरुले गरेको निर्णय कार्यान्वयन गराउने मात्रै अधिकार छ । यो स्पष्ट पार्नुपछ ।

जोखिम क्षेत्रका विद्यालय त बन्द गर्नुपर्ने होला नि ?

अवस्था अनुसार गर्नुपर्छ । सरकारले वैकल्पिक पाटोबाट भएको सिकाइ र आमने सामने पाटोको सिकाइ समान हुन् भनेर स्पष्ट रुपमा भन्दिनुपर्छ । यी दुवै माध्यामबाट बढेका विद्यार्थीको समान मूल्यांकन हुन्छ । जोखिम क्षेत्रकै भएपनि विद्यालय पूर्ण रुपमा बन्द नगरेर विभिन्न तरिकाले जान सकिन्छ । त्यसका लागि विद्यालयले काम गर्नुपर्छ ।

नियमित विद्यालय आउने, कहिलेकाहीँ विद्यालय आउने अथवा विद्यालय आउन नसक्ने विद्यार्थीहरुको सूची तयार गरेर त्यही आधारमा पठनपाठन गराउन सकिन्छ । उनीहरूको अवस्था अनुसार सिकाइसँग जोड्ने वातावरण बनाउनुपर्छ ।

शिक्षक, विद्यार्थी अभिभावक संक्रमित भएको अवस्थामा भने विद्यालय बन्द हुनुपर्छ ।

स्वास्थ्य र शिक्षा मन्त्रालयको कारण पनि अभिभावक दोधारमा परिरहेका छन् । समाधान के हुनसक्ला ?

विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावकको राय बुझेर काम गर्नुपर्छ । दीर्घकालीन समाधानका लागि विद्यालयले नै काम गर्नसक्छन् । विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षकको अवस्था बुझ्नुपर्छ । यदि उनीहरू विद्यालय आउन डराएका छन् भने वैकल्पिक सिकाइमा जोड्नुपर्छ । उनीहरूलाई घरैबाट सिकाइमा जोड्नका लागि काम गर्नुपर्छ । उनीहरूको अवस्था अनुसार समानान्तर तरिकाले जाने हो भने दीर्घकालीन समाधान होला ।

त्यसो गर्दा स्वास्थ्य मन्त्रालयले भने जसरी जोखिम पनि कम हुन्छ, अभिभावक, विद्यार्थी पनि ढुक्क हुन्छन् ।

अहिलेको अवस्थाले फेरि शैक्षिक सत्र सर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

हो, यो कुराले अहिले अभिभावक र विद्यार्थी दोहोरो त्रासमा परिरहेको मैले बुझेको छु । एउटा, विद्यालय लाग्दा संक्रमणको डर । अर्को, विद्यालय बन्द भए शैक्षिक सत्र फेरि धकेलिने हो कि भन्ने पीर ।

मैले त पहिलादेखि भन्दै आएको कुरा के हो भने बालबालिकाले घरमा सिकेको हरेक सिकाईलाई पठनपाठनसँग जोडौं । त्यसो गरेको भए जेठसम्म शैक्षिक सत्र तन्काउनुपर्ने अवस्था हुँदैनथ्यो । अब त झन बालबालिकाले केही समय भए पनि विद्यालय गएर पढेका पनि छन् । शैक्षिक सत्र सानु जरुरी देख्दिनँ । हेरौं, सरकारले के गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment