
३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच देखिएका समस्या आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्यालगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताए ।
‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका, नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन्’ उनले भने, ‘सीमा लगायतका कतिपय सन्धि सम्झौताहरुमा नमिलेका विषयहरु छन्, जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं ।’
‘पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ भयो र दुवै देश आपसी विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाइ लाग्छ, इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन’ उनले अघि भने ।
नेपालले भारतसँग भएका कुनैपनि समस्या समाधान गर्न सकिँदैन भन्ने नठानेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘भारतसँग छलफलद्वारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनै पनि विषय छन् भन्ने हामी ठान्दैनौं । किनभने नेपाल र भारत प्रतिस्पर्धी होइनन् । नेपाल र भारत मित्रहरु हुन्’ उनले अघि भने, ‘मित्रहरुका बीचमा समस्या छन् भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन ।’
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड– १९ विरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ अगाडि बढेको बताए । । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको स्मरण गर्दै उनले खुला सीमामा हुने आवगमनका कारण महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको बताए ।
प्रतिक्रिया 4