Comments Add Comment
स्मृति :

त्यो वनभोज

फेरि एकचोटि

भयानक बमहरू बोकेर, उडिरहेका हवाईजहाज

र रकेटमुनि बसेर

लेख्नु छ, प्रियजनहरूको नाममा

सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।’

–(भूपि शेरचन, नयाँ वर्ष)

नयाँ वर्षको रौनक नै बेग्लै । नयाँ साल लाग्नु एक महिनाभन्दा अघिको हाम्रो तामझामको त झन् के कुरा ! सधैंजस्तो वैशाख १ गते वनभोज जाने तरखर हुन्थ्यो । गाउँका नौ–दश जना केटाकेटी मिलेर केही पैैसा उठाउँथ्यौं । वनभोजका लागि चाहिने सामान किन्न एक जिल्लाबाट अर्को जिल्ला जान्थ्यौं । अर्थात्, भोजपुरसँग सिमाना जोडिएको खोटाङ पुग्थ्यौं ।

गाउँका ‘भुराभुरी’ मिलेर हामी वैशाख १ गते बिहानै घरबाट स्टिलको थाल र बटुको बोकेर वनभोज खान जान्थ्यौं । कसैले घरबाट कराई, कसैले ताप्के, कसैले डाडु त कसैले पनिउँ बोकेर हिंड्थ्यौं । घरदेखि एक किलोमिटर पश्चिम ‘केप्छाकी टाहार’ सम्म वैशाख १ गते नयाँ वर्ष मनाउन हामी तम्तयार भइहाल्थ्यौं ।

वनभोज गएको समयमा हामी सबै मिलेर खानपिनको काममा व्यस्त र मस्त हुन्थ्यौं । कसैले दाउरा–झिक्रा खोज्ने, कसैले आगो बाल्ने, कसैले पानी ल्याउने त कसैले सब्जी केलाउने । सँगसँगै तयार हुन्थ्यो– बिहानको चिया र खाजा । आफ्नै बलबुताले बनाएको खानेकुरा यसै मीठो लाग्ने !

चिया–खाजा खाएपछि हामी तत्काल राष्ट्रिय खेल ‘डण्डिबियो’ खेल्थ्यौं । ‘डण्डिबियो’मा केही नियम हुन्थे । जस्तो, बियोलाई डण्डीले हान्ने र सीमित एउटा क्षेत्रभन्दा बाहिर गएमा त्यो मानिस आउट हुने । अथवा, त्यो बियो पक्रिएमा आउट हुने । बियोलाई डण्डीले हिर्काएपछि डण्डीले नाप्ने र स्कोर गणना गर्ने चलन हुन्थ्यो । यसरी केही घण्टा ‘डण्डिबियो’ खेलेर थकित ज्यान लिएर हामी पुनः वनभोजमा सरिक हुन्थ्यौं ।

वनभोज सकिएपछि साँझ ऐंसेलु खान्थ्यौं, घँगारुको लठ्ठी बनाउँथ्यौं र गाईवस्तुलाई घाँस काटेर घर फर्किन्थ्यौं । त्यतिबेलासम्म झ्याउँकिरीहरू मधुरो संगीतमा लीन भइसकेका हुन्थे भने जूनकिरीहरू हामी घर जाने बाटोमा मधुरो प्रकाश बनेर छाउँथे । अलि अबेला भयो भने घरमा गाली खाइने डर पनि उत्तिकै हुन्थ्यो । तर मनमा रमाइलोबाहेक अरू हुँदैनथ्यो । अहिले कम्प्युटरको किबोर्डमा लेखिरहँदा ती दिन र स्मृतिहरू आँखामा नाचिरहेका छन् ।

भोजपुरको एउटा विकट गाउँमा जन्मिएर हुर्किएको म हरेक वैशाख १ लाई एउटा स्मृति बनाएर सँगाल्न मन पराउँथें । आजको कोलाहलमा नयाँ वर्षको रौनक कहाँ भेटिनु ! सधैंको भागदौड र व्यस्तताले मान्छे बाँधिएको छ ।

नयाँ वर्ष आउनुपूर्व विद्यालयमा वार्षिक परीक्षा हुन्थ्यो । वार्षिक परीक्षा सकिने दिन मन परेका मित्रहरूबीच पत्रसँगै हिरो–हिरोइनका पोस्टर आदानप्रदान हुन्थ्यो । हरेक महिनाको ५ र २० गते लाग्ने सप्तमी बजारमा गएर पोस्टर किन्नुपथ्र्यो । आफ्नो मन परेको साथीका लागि पहिल्यै बजार गएर पोस्टर किनेर राख्ने गरिन्थ्यो । घरमा फलेको साग बोकेर सप्तमी बजारमा बेचेपछि आएको पैसाबाट केही पैसाले आमाले डुनोट किनिदिनुहुन्थ्यो । त्यो समय किनेर खाएको डुनोट–स्वादको प्रशंसा गरी के साध्य हुन्थ्यो !

घर फर्किने बेला राजेश हमाल, विराज भट्ट, रेखा थापा, निखिल उप्रेती, रमित ढुङ्गानाको पोस्टर किनेर फर्किनु नित्य कर्म नै थियो ।

अनि घर पुगेपछि भर्खरै चिचिला लाग्दै गरेका आल्चा खाँदै साथीलाई गफ लगाउनुको मज्जा । ती नयाँ वर्ष साँच्चै विशेष थिए । केटी साथीले केटालाई र केटाले केटी साथीलाई पोस्टर दिने चलन थियो ।

‘शहरको एउटा कुनामा बसेर मैले आफ्नो बालापन र नयाँ वर्षलाई स्मरण गरिरहेको छु । सम्झिरहेको छु– ‘डण्डिबियो’ खेल्ने साथीलाई । पोस्टर उपहार दिने मनहरूलाई । लप्सीको गुच्चा खेल्ने साथीलाई । र, मेरो प्रिय गाउँलाई !’

तर, मैले भने पोस्टर कसैलाई दिइनँ, बरु मलाई एकजना मिल्ने केटा साथीले नै अहिलेका महानायक राजेश हमालको पोस्टर दिएको थियो । मैले त्यो पोस्टर रातो माटो र कमेरोले पोतेको भित्तामा सजाएर वर्ष दिनसम्म राखें । यो कुरा हो, कक्षा ६ पढ्दाको । पोस्टरसँगै राता अक्षरले लेखिएको केही हुन्थ्यो–

‘नजिकको साथी । आउने साल भेट होला–नहोला तिमीलाई यो साल धेरै सम्झना है !’

सँगै लेखिएको हुन्थ्यो एउटा शायरी पनि–

वसन्तको सौगात तिमीलाई

म शिशिरको उजाड भए पनि

दुई शब्द उपहार छ तिमीलाई

केवल म मरेर गए पनि !’

प्राप्त गर्ने विवेक रेग्मी, पठाउने……फलानो । श्री कटुञ्जे माध्यमिक विद्यालय, धोद्लेखानी–३, भोजपुर ।

यसरी पत्रमित्रसँगै पोस्टर पठाउने र प्राप्त गर्ने प्रचलन स्मरण गर्दा म दुई दशक अगाडि गाउँमा हुर्किएको बालापनमा हराइरहेको छु । वास्तवमा गाउँलाई चलाउन न कुनै राज्य चाहिन्थ्यो, न कुनै संयन्त्र ।

स्कूलमा पढ्दा लप्सीको दानाले गुच्चा खेलेको कुराले झक्झकाउँछ, नयाँ वर्षमा । गुराँस ढकमक्क फुलेको, ऐंसेलु फक्रिंदै गरेको, घँगारुले नयाँ पालुवा दिइरहेको र उत्तिसको रूखले नयाँ पात दिइराखेको ।

यी कुराले त झन् नयाँ वर्षको आगमन भइरहेको आभास हुन्थ्यो । अहिले ती स्मरणले मनको ढोका ढक्ढक्याउँछ । दिन, महिना सँगै समय र परिस्थिति पनि फेरिंदोरहेछ । हिसाब गर्दै जाँदा समयले पनि कति छिटो नयाँ वर्ष दिएर जान्छ । ल्याइदिन्छ जिन्दगीमा पुराना दिनका यादहरू र बनाइदिन्छ भावुक !

अहिले सोच्छु– जिन्दगीमा कहिल्यै पनि फिल्म नहेरेका हामीलाई कसरी थाहा भयो होला हिरो हिरोइनको मुहार । कसरी थाहा भयो होला तिनै हिरो–हिरोइन त्यो समयका चर्चित हुन् !

यी सबै स्मृतिहरू अब सम्झनामा मात्रै हैन, इतिहासजस्तो बनेर उभिइरहेका छन्, पुराना पात्रोमा । समयले हरेक क्षण स्मृति मात्र दिंदोरहेछ । त्यसो त बालापन मात्रै नभएर जीवनको छोटो समयमै आएका आरोह–अवरोहले सधैं झक्झकाइरहेका हुन्छन् । अहिले शहर रेडिमेट शुभकामनाले भरिएको छ । शहर र गाउँको अन्तर शुभकामनामा मात्र हैन हरेक कुरामा हुँदोरहेछ ।

अहिले शहरको एउटा कुनामा बसेर मैले आफ्नो बालापन र नयाँ वर्षलाई स्मरण गरिरहेको छु । सम्झिरहेको छु– ‘डण्डिबियो’ खेल्ने साथीलाई । पोस्टर उपहार दिने मनहरूलाई । लप्सीको गुच्चा खेल्ने साथीलाई । र, मेरो प्रिय गाउँलाई !’ त्यो बेला दिमाग कलिलै थियो । तर पनि मन चिन्तनशील हुन्थ्यो, चिन्ताग्रस्त हुन्थेन । अहिले दिमाग छिप्पिएको छ । मन चिन्ताग्रस्त छ, चिन्तनशील छैन ।

ओहो ! मन त सम्हाल्न सक्ने भइसक्दा पनि स्मृतिको सागरमा डुब्न मन पराइरहँदोरहेछ ।

(लेखक रेग्मी इटहरीमा बसेर पत्रकारिता गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment