Comments Add Comment
लोक संगीत : रोइलाको रन्को :

‘रोइला’ छोटो समयमै स्थापित बन्यो

नेपाली लोकसंगीतको एउटा विधा हो, रोइला गीत । समूहमा गाउने भएकोले यो दोहोरी विधामा पर्छ । यसलाई ‘ख्याली’ वा ‘चुड्का’ भनेर पनि बुझ्ने गरिन्छ । यद्यपि, रोइला, ख्याली, चुड्काका फरक–फरक परिभाषा पाइन सक्छ । यिनले प्रतिनिधित्व गर्ने शैलीहरू भने उस्तै–उस्तै हुन् । गीत–संगीत बजारमा अहिले पनि यी सबैलाई ‘रोइला’ नै भन्ने प्रचलन छ ।

रोइला विशेषगरी लुम्बिनी, गण्डकी र धौलागिरी क्षेत्र (तत्कालीन अञ्चल)मा प्रचलित छ । अथवा भनौं, कालीगण्डकी आसपासका क्षेत्रमा रोइला लोकप्रिय छ ।  जातीय हिसाबले हेर्दा यो विशेषगरी आर्य समुदायले गाउने गीत हो । कालीगण्डकी आसपासमा मगर र गुरुङ समुदायमा पनि रोइला प्रचलित छ ।

०००

रोइलाको उत्पत्तिबारे कुरा गर्दा कहींकतै मृत्यु संस्कारबाट पनि यो आएको भन्ने गरिन्छ । तर, मेरो अध्ययनमा यो भजनसँग अन्तरसम्बन्धित छ । भजनबाटै रोइला विकसित भएको लाग्छ ।

यसो त भजन अधिकांश नेपाली समुदायमा गाइन्छ । त्यसमा खैंजडी, मजुरा, मादलको प्रयोग हुन्छ । रोइलामा पनि भजनकै वाद्यवादन प्रयोग हुन्छ । गाउँमा पूजाआजा, स्वस्थानी, सप्ताह, यज्ञ–यज्ञादी हुँदा भजनबाट टुंग्याउने प्रचलन छ । भजन भगवानका विषयमा गाइन्छ । भजन टुंग्याएपछि वा भजन विषयान्तर हुँदै जब मायाप्रेम वा अर्कै संसारको विषयवस्तुमा पुग्छ तत्पश्चात् रोइला वा ख्याली गाइन्छ ।

भजन र रोइलाको भाका, वाद्यवादन मिल्छ । जस्तैः ‘रामलाई वनिवास, भरतलाई रजाइँ’ भनियो भजन भयो ।

तर, ‘नजरैको भर, ज्यान त मेरो के छर’ भनियो भने त्यो रोइला अर्थात् ख्याली भयो ।

‘रोइला’ले छोटो समयमै पहिचान बनाउनु, श्रोता दर्शकले रुचाउनुमा यसका केही खास विशेषताले काम गरेको छ । पहिलो त यो भजनसँग मिल्छ । भजन जो–कोहीलाई मन पर्छ । त्यसकारण रोइला गीतलाई श्रोता दर्शकले रुचाउन पुगेको अनुमान गर्न सकिन्छ ।

यसरी हेर्दा रोइला वा ख्यालीको उत्पत्ति भजनबाट भएको सामान्य आकलन गर्न सकिन्छ । यसको उद्गमस्थल कोहीले स्याङ्जा, कोहीले गुल्मी भनिएको पाइन्छ । यकिन नभएपछि कालीगण्डकीको आसपासबाट नै यसको उत्पत्ति भएको कुरामा दुईमत छैन ।

०००

म पाल्पाको दर्लमडाँडामा जन्मिएको हुँ । त्यहाँ पूजाआजा, स्वस्थानी, सप्ताह सकिएपछि ‘ख्याली’ गाइन्थ्यो । त्यही परिवेशबाट म गायनतर्फ आकर्षित भएको हुँ । मैले पहिलो रोइला गीत २०६१ सालमा ल्याएको थिएँ । आमाले संकलन गर्नुभएको शब्दमा ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’ बोलको गीत थियो, त्यो ।

खासमा यो गीत ल्याउनुअगाडि ‘रोइला’ भन्ने मलाई थाहा थिएन । मैले गाउँबाट गीतको शब्द संकलन गरेर काठमाडौं आउँदा ‘ख्याली’ होला ठानेको थिएँ । काठमाडौं आएर पुस्तकहरू अध्ययन गर्दा यसप्रकारको भाका र गीतलाई ‘रोइला’ लेखेको पाएँ । त्यसपछि एल्बमको कभरमा ‘रोइला गीत’ लेखेर सार्वजनिक गरें ।

त्यतिञ्जेलसम्म यस्तो भाकामा थुप्रै गीत रेकर्ड भएका थिए । अग्रज गायक÷गायिकाहरूले यस प्रकारका गीत गाइसकेका थिए । तर, ‘रोइला’ नभनी दोहोरीकै रूपमा ती गीतहरू सार्वजनिक र प्रसारण भएका थिए । भिडियो भने बनेका थिएनन् ।

उसो त, मैले गीत रेकर्ड गर्ने तयारी गर्दैगर्दा पनि धेरैले के हो यस्तो गीत भनेका थिए । जब गीत सार्वजनिक भयो, नसोचेको सफलता पायो । डेढ दशकभन्दा अगाडि अहिलेजस्तो प्रविधिको विकास थिएन । गीत चलेको/नचलेको थाहा पाउन केही समय कुर्नुपथ्र्यो । बजारमा पठाएका एल्बम बिक्री सकिएर रि–अर्डर आयो । खुशीको सीमा रहेन । त्यसपछि भने अन्य कलाकारहरूले ‘रोइला’ भनेर गीत सार्वजनिक गर्नुभयो ।

त्यसपछि ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’ बोलको रोइला गीतले अझ बढी चर्चा पायो । यो गीत पूर्वदेखि पश्चिमसम्म रुचाइएको थियो । कोमल वलीसँग गाएको ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’ बोलको रोइला गीतलाई पनि श्रोता÷दर्शकले निकै रुचाउनुभयो । रोइलाकै कारण देश–विदेशमा पुगेर प्रत्यक्ष गाउने मौका पाउँदै गएँ ।

यतिञ्जेलसम्म अग्रज कलाकारहरूले पनि रोइला किटान गरी गीत ल्याए । उनीहरूका गीतलाई पनि श्रोता/दर्शकले निकै रुचाए । क्रमशः रोइला व्यावसायिक बन्दै गयो । अहिले हेर्दा चलेका अधिकांश लोकदोहोरी गायक/गायिकाले ‘रोइला’ गीत गाएका छन् । यो खुशीको कुरा हो ।

०००

‘रोइला’ले छोटो समयमै पहिचान बनाउनु, श्रोता दर्शकले रुचाउनुमा यसका केही खास विशेषताले काम गरेको छ । पहिलो त यो भजनसँग मिल्छ । भजन जो–कोहीलाई मन पर्छ । त्यसकारण रोइला गीतलाई श्रोता दर्शकले रुचाउन पुगेको अनुमान गर्न सकिन्छ ।

यसको लयविधान पनि विल्कुलै फरक हुन्छ । जहाँ गीतको फुर्को, दुई–तीनवटा हुन्छ । अन्त्यानुप्रास मिल्ने–नमिल्ने दुवै हुन्छ । कुनैमा अन्तरा जोडिएको हुन्छ, कुनैमा जोडिंदैन ।

त्यस्तै यसको अर्को विशेषता भनेको बाजाहरू खैंजडी, मजुरा, मादल प्रयोग हुन्छ । जसको प्रयोगको गति पहिला ढिलो र पछि छिटोछिटो हुन्छ । वाद्यवादन ‘इनरजेटिक’ हुन्छ । जसले जो–कोहीलाई ‘नाचुँनाचुँ’ बनाउँछ ।

पुरुषले गाउँदा महिलाले पनि छोप्ने (सँगसँगै गाउने), महिलाले गाउँदा पुरुषले छोप्ने (सँगसँगै गाउने) त्यो पनि यसको एउटा विशेषता हो । अनि अत्यन्तै साहित्यिक, श्रृङ्गारिक शब्दहरू रोइलामा प्रयोग गरिएको हुन्छ । नेपाली लोक संगीतमा बढी साहित्यिक शब्दहरू प्रयोग हुनेमा रोइला गीतहरू नै पर्दछ जस्तो लाग्छ ।

आज रोइला एकै क्षेत्रमा मात्र सीमित रहेन । गाउँमा रोइला गाउने पुरानै चलन भएकाले, रोइला गाउने स्थानबाट अन्यत्र बसाइँसराइ गरेकाले नयाँ स्थानमा पनि रोइला गाउन थाले । विशेषगरी पहाडबाट तराईतिर बसाइँसराइ हुँदा रोइला तराईका क्षेत्रमा पनि पुग्यो । नेपालगञ्ज, बर्दिया जस्ता तराईका जिल्लातिर पनि रोइला/ख्याली गाउने गरेको भेटिन्छ ।

आज सयौंको संख्यामा रोइला गीतहरू सार्वजनिक भएका छन् । यूट्युबमा सार्वजनिक भएका रोइला गीतले राम्रो चर्चा पाएका छन् । यसका श्रोता–दर्शक राम्रो हुनुहुन्छ । यसरी हेर्दा रोइला नेपाली लोकसंगीतको अभिन्न अंग बनिसकेको छ । लोकसंगीतको इतिहासमा अब रोइला मासिने अवस्था आउँछ जस्तो लाग्दैन ।

०००

मलाई गायकको रूपमा रोइलाले नै स्थापित बनाएको हो । भलै, मैले रोइलाभन्दा अन्य गीतहरू बढी गाएको छु । धेरैले मलाई रोइला गायकको रूपमा चिन्नुहुन्छ, विभिन्न उपनाम जोडिदिनुहुन्छ । मैले त्यति धेरै केही पनि काम गरेको छैन भन्ने लाग्छ । यद्यपि यसमा खुशी लाग्छ । श्रोता दर्शकहरूले त्यसरी नाममा केही फुर्को जोडिदिंदा जिम्मेवारी थपिएको महसूस हुन्छ । अझ धेरै गर्नुपर्छ भन्ने लागेको छ ।

शुरुआत, ‘खरबारीमा जान्छु’लाई रुचाउनुभयो । त्यसपछि देवी घर्तीसँग गाएको ‘मत आउने थिइनँ, यही चाल होला भन्या भा’ रुचाउनुभयो । क्रमशः कोमल वलीसँग गाएको ‘दुर्गा हौ कि भवानी’ रुचाउनुभयो । ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र…’ बोलको रोइला गीत पनि रुचाउनुभयो । अहिले पनि निरन्तर रोइला गीत ल्याइरहेको छु । यस वर्ष ‘बोलीदेउ आधार’ बोलको रोइला गीत ल्याएको छु ।

आउँदा दिनमा पनि श्रोता दर्शकलाई अझ राम्रा रोइला (ख्याली) गीतहरू दिने तयारी गरिरहेको छु । यसका शब्दहरू संकलन हुने भएकोले गाउँघरमा पुगिरहेको हुन्छु । विगतका मेरा धेरै गीत संकलन गरिएका हुन् । अझ, धेरै गीत त आमाले संकलन गरिदिनुभएको हो । त्यसमा फूलबुट्टा भरेर गाएको हुँ । अहिले म रोइला गीतको अध्ययन, शब्द संकलनका लागि गाउँघरमा पुगिरहेको हुन्छु ।

(रोइला गायक शिरीष देवकोटासँग सुशील नेपालले गरेको कुराकानीबाट)

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment