Comments Add Comment

रेष्टुरेन्ट व्यवसाय फेरि मन्दीतर्फ

स्वास्थ्य प्रोटोकलमा कडाइ गरौं, लकडाउन नगरौं : रेबान

फाइल तस्वीर

५ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहर आउनासाथ फेरि रेष्टुरेन्ट व्यवसायमा मन्दी छाउन थालेको छ । व्यवसायीका अनुसार पछिल्ला दिनमा ग्राहक घटेका छन् । त्यसमाथि प्रहरीले राति ९ बजे नै कारोबार बन्द गर्न दबाब बढाउँदा समस्या थपिएको छ ।

रेष्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अनुसार गत तिहारपछि महामारी साम्य हुँदै जाँदा ५०–६० प्रतिशत व्यापार हुन थालिसकेको थियो ।

‘मूलतः पर्यटकको लागि खोलिएका रेष्टुरेन्टहरुमा त व्यापार अझै पनि शून्यप्रायः नै छ, मैले नै ठमेलको रेष्टुरेन्ट अस्थायी रुपमा बन्द गरें,’ रेबानका महासचिव एकराज अधिकारी भन्छन्, ‘अहिले त अरु रेष्टुरेन्टहरु पनि ग्राहकविहीन हुन थालेका छन् ।’

उनका अनुसार अहिले घाटामा चलिरहेका रेष्टुरेन्ट र क्याफे आफैं बिक्रीमा रहेको विज्ञापन सामाजिक सञ्जाल र ई–कमर्स साइटहरुमा देखिन थालेका छन् । कतिपय रेष्टुरेन्टले सटर बन्द गरेर त कतिले खुलै राखेर बिक्रीको सूचना राखेका छन् ।

गुल्मीका कृष्ण न्यौपानेले नयाँ बसपार्कमा चलाएको रेष्टुरेन्ट पनि बिक्रीमा छ । मासिक ४० हजार भाडा तिर्न र रेस्टुेरन्टको अन्य खर्च धान्न मुस्किल परेपछि उनले बिक्रीको बाटो रोजेका हुन् ।

उनका अनुसार साढे तीन वर्षअघि रेष्टुरेन्टबाट मासिक एकडेढ लाख बचत गर्न मुस्किल थिएन । तर, अहिले रेष्टुरेन्टमा आउने ग्राहक नै नभएपछि १७ लाख लगानीको रेष्टुरेन्ट १२ लाखसम्म पाए बिक्री गर्न चाहेको न्यौपानेले बताए । उनले भने, ‘तर, फेरि लकडाउन हुने हल्लाका कारण किन्ने मान्छे पनि पाइएको छैन ।

उनका अनुसार अहिले घाटामा चलिरहेका रेष्टुरेन्ट र क्याफे आफैं बिक्रीमा रहेको विज्ञापन सामाजिक सञ्जाल र ई–कमर्स साइटहरुमा देखिन थालेका छन् । कतिपय रेष्टुरेन्टले सटर बन्द गरेर त कतिले खुलै राखेर बिक्रीको सूचना राखेका छन् ।

गोंगबुमा लज चलाएका पूर्णचन्द्र अधिकारीले गत असारमा लकडाउन खुलेपछि बागबजारमा रेष्टुरेन्ट पनि किनेका थिए । विस्तारै व्यापार बढाउँदै लगेका उनलाई अहिले महामारीको त्रासले पिरोलेको छ । रेष्टुरेन्ट किन्ने ग्राहक खोजिरहेका उनी भन्छन्, ‘किन्छु भनेर हेर्न आउनेहरु पनि लकडाउन हुने डरमा छन्, के गर्ने !’

दरबारमार्गमा रेष्टुरेन्ट चलाएका उग्रसेन रायमाझी अब विदेश जाने योजनामा छन् । ‘व्यापार धेरै सुस्त भयो,’ उनी भन्छन्, ‘लामै समय मन्दी रहने अवस्था देखिएकाले विकल्पको खोजीमा छु ।’

अहिले बिक्रीमा रहेका रेष्टुरेन्ट सञ्चालकहरु व्यापार नभएको भन्न सक्ने अवस्थामा पनि छैनन् । उनीहरु घाटाबाहेकको कारण वा बहाना बनाएर रेष्टुरेन्ट बिक्री गर्ने प्रयासमा छन् । कतिपय सञ्चालक भने अहिले लगानीको समस्या नभएकालाई सस्तोमा रेष्टुरेन्ट किन्ने अवसर भन्दै ग्राहक खोजिरहेका छन् ।

उठ्नै लाग्दा अवरोध

नेपालमा पछिल्ला वर्षहरुमा रेष्टुरेन्ट व्यवसायमा ठूलो लगानी भित्रिएको थियो । रेष्टुरेन्ट, बार, क्याफे र साना खाजा पसल व्यवसायमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ । रेष्टुरेन्ट जाने, खाने, रमाइलो गर्ने संस्कृति मौलाइरहेकाले यो व्यवसायको लगानीलाई अरुभन्दा सुरक्षित र प्रतिफलमुखी पनि मान्न थालिएको थियो ।

२०७६ माघसम्म रेष्टुरेन्ट, क्याफेमा हुने व्यापार बढ्दो दरमा थियो । नयाँ ‘आइडिया’सहित यो व्यवसायमा प्रवेश गर्नेहरुको संख्या पनि ठूलो थियो । अन्य पेशा–व्यवसायमा भएकाहरुले पनि क्याफे–रेष्टुरेन्ट समेत हुनुलाई कमाइसँगै प्रतिष्ठाको विषय मान्न थालेका थिए ।

सानो र मध्यम लगानीमै खोल्न सकिने र नाफा पनि राम्रो हुने भएकाले धेरैले रेष्टुरेन्ट–क्याफेमा लगानी गरेका छन् । महामारी अघिसम्म विदेशबाट फर्किएकाहरु पनि धमाधम यो व्यवसायमा हात हालिरहेका थिए ।

ठूला व्यवसायीदेखि राजनीतिक दलका नेता, कार्यकर्ता, सेलिब्रेटी र पत्रकारसम्मले क्याफे–रेष्टुरेन्ट चलाएका थिए । आफ्नो जनसम्पर्क (पीआर) प्रयोग गरेर आम्दानी गर्न यो व्यवसाय उत्तम ठहरिएको थियो ।

स्तरीय क्याफेमा भेटघाट, रमाइलो गर्ने संस्कार झाँगिदै गर्दा हप्ताको कम्तीमा एकपटक सपरिवार लन्च वा डिनरका लागि रेष्टुरेन्ट जाने जीवनशैली विकास हुँदै थियो । शहर मात्र होइन, राजमार्ग क्षेत्र र शहरीकरण भइरहेका गाउँहरुमा पनि रेष्टुरेन्ट संस्कृति फैलिँदै थियो ।

फाइल तस्वीर

चीनमा कोरोनाको महामारी फैलिएर ‘सामाजिक दूरी’को लागि आह्वान हुन थालेपछि भने संसारभर नै रेष्टुरेन्ट व्यवसाय थला पर्न थाल्यो । नेपालमा २०७६ चैत ११ बाट लकडाउन शुरु भएपछि रेष्टुरेन्टहरुले बढीमा ‘टेक–अवे’ सेवा चलाउन सके । लकडाउन खुलेपछि रेष्टुरेन्टको व्यवसाय पुरानो लयमा फर्किन समय लाग्यो ।

२०७७ को तिहार अघिसम्म आम्दानी न्यून हुँदा अन्य व्यवसायीलाई जस्तै रेष्टुरेन्ट सञ्चालकलाई पनि कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको न्यूनतम खर्चलगायतले पिरोलिरहेको थियो । धेरै रेष्टुरेन्ट सञ्चालकहरु कि बेच्ने, नभए बन्द गरेर हिँड्ने मनोदशामा थिए ।

रेष्टुरेन्ट समस्यामा पर्दा व्यवसायी मात्रै हैन, त्यहाँ निर्भर धेरै कर्मचारी समस्यामा पर्छन् ।  ग्राहक घटेपछि नगद प्रवाह रोकिएर रेष्टुरेन्टले भाडा तिर्न पनि समस्या गरेको छ । शहरमा ठूलो खाली क्षेत्र र भवन भाडा लिएर रेष्टुरेन्ट सञ्चालन गरिएकाले भाडाबापतको रकम धेरै हुन्छ ।

केही रेष्टुरेन्टले अनलाइन प्लेटफर्ममार्फत परिकार बेचेर टिक्ने कोसिस गरे । तर, धेरैका लागि यो सम्भव भएन । जसोतसो टिकेकाहरुलाई फेरि खराब दिन नदोहोरिने आशा थियो । तर, अहिले फेरि व्यवसायीले समस्या दोहोरिने खतरा देख्न थालेका छन् ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएर रेष्टुरेन्ट व्यवसायमा फेरि नकारात्मक असर देखिन थालेको रेष्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान)को भनाइ छ । रेबानका अध्यक्ष अरनिको राजभण्डारी तिहारपछि विस्तारै लयमा फर्किन थालेको व्यवसायमा फेरि कालो बादल मडारिएको बताउँदै भन्छन्, ‘फेरि उठ्ने कोसिसमा रहँदै गर्दा अर्को समस्या आइपरेको छ ।’

बन्द नगरी प्रोटोकलमा कडाइ गरौं’

पुराना र स्थापित चेन रेष्टुरेन्ट पनि महामारीमा समस्यामा छन् । भर्खरै स्थापित भएर लगानी उठाउन नपाएकाहरु त त्यसै पनि सकसमा छन् ।

रेष्टुरेन्ट समस्यामा पर्दा व्यवसायी मात्रै हैन, त्यहाँ निर्भर धेरै कर्मचारी समस्यामा पर्छन् ।  ग्राहक घटेपछि नगद प्रवाह रोकिएर रेष्टुरेन्टले भाडा तिर्न पनि समस्या गरेको छ । शहरमा ठूलो खाली क्षेत्र र भवन भाडा लिएर रेष्टुरेन्ट सञ्चालन गरिएकाले भाडाबापतको रकम धेरै हुन्छ ।

रेबानका महासचिव एकराज अधिकारी व्यापारले कर्मचारीको तलब र घरभाडा धान्न नसक्दा व्यवसायीहरु पलायन हुने अवस्था छ । पटक–पटक एउटै खालको समस्या भोगिरहनुपर्दा व्यवसायीमा नैराश्य पैदा भएको उनले बताए ।

रेबान अध्यक्ष राजभण्डारी सरकारले रेष्टुरेन्ट बन्द गराउने नसोची स्वास्थ्य प्रोटोकल कायम गराए सबैको भलो हुने बताउँछन् । ‘रेष्टुरेन्टहरु स्वास्थ्य प्रोटोकल पालना गर्न तयार छन्,’ उनी भन्छन्, ‘सरकारले कार्यान्वयनमा कडाइ गर्दा हुन्छ ।’

सम्साँझै रेष्टुरेन्टहरु बन्द गराउँदैमा कोरोना नियन्त्रण नहुने बरु दिउँसो, राति जतिबेला पनि स्वास्थ मापदण्ड प्रयोगमा कडाइ गरेर व्यावसाय चल्न दिनु बुद्विमानी हुने उनले बताए ।

अध्यक्ष राजभण्डारीका अनुसार धेरै युवाले रेष्टुरेन्टबाटै व्यवसाय शुरु गरेका हुन्छन् । ‘रेष्टुरेन्ट क्षेत्रले वर्षमा झण्डै ४ अर्ब कर तिर्छ,’ उनी भन्छन्, ‘माछामासु, दूध, फलफूल, तरकारी जस्ता कृषि उपज खपत हुने मुख्य रेष्टुरेन्ट नै हुन् । रेष्टुरेन्टहरु थला पर्दा त्यसको अप्रत्यक्ष मार कृषकमा पर्छ ।’

रेष्टुरेन्ट अत्यावश्यक सेवा भएकाले त्यसैअनुसार व्यवहार गर्न उनको आग्रह छ । उनका अनुसार देशभर ठूला लगानीका ३३ सय र साना लगानीका १० हजारभन्दा बढी रेष्टुरेन्ट छन् । सामान्य अवस्थामा देशभरका रेष्टुरेन्टमा दैनिक १० करोडभन्दा बढी कारोबार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment