+
+
Shares
सन्दर्भ : बिस्का: जात्राको अन्तिम दिन :

बिस्का:को अमूर्त पक्ष : भैरवको मूर्ति निकालेसँगै किन तल राखिन्छ सबै देवता ?

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १३:२३

सोलार क्यालेण्डर अनुसार मनाउने भक्तपुरको एकमात्र चर्चित जात्रा विस्काःको आइतबार विधिवत् रूपमा समापन हुँदैछ । ८ रात नौ दिनसम्म मनाइएको यो जात्रा आइतबार भैरवलाई टौमणि टोलको भैरव मन्दिरको पुरानै आसनमा बसालेसँगै यो जात्राको विधिवत् समापन हुने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए । अरू सबै चन्द्रमास अनुसार मनाइने पर्व भए पनि यो एउटा मात्रै पर्व सौरमास अनुसार मनाउने गरिएको भेले बताउँछन् ।

सोलार क्यालेण्डर अनुसार वैशाख ५ गते विधिवत् रुपमा सम्पन्न हुने यो पर्व चैतको महिना ३१ गतेसम्मको भएमा २८ गतेदेखि र ३० गतेको महिना भएमा २७ गतेदेखि सुरु हुने यो पर्वको रौनक भने चैत २४ गते भद्रकालीको पूजासँगै सुरु हुन्छ।

यो वर्ष बदलिएको बिस्काःको संस्कृति

यो वर्ष अघिल्लो वर्षको जस्तै कोरोना महामारीको जोखिम बढ्यो । अत्यधिक भिडभाडका यसपालि पनि जात्रा रोक्ने विषयमा जिल्ला प्रशासनले स्थानीय सरकारसँग छलफल गरेको थियो । स्थानीय सरकारले पनि जात्रा रोक्नेबारेमा सकारात्मक संकेत दिएपनि प्रशासनले जात्रा रोक्ने निर्णय गर्यो । तर यसको स्थानीयबाट चर्काे विरोध भएपछि यसमा स्थानीय सरकार अघि बढ्यो र स्वास्थ्य मापदण्ड पूरा गरेर जात्रा मनाउने निर्णय गर्‍यो ।

तर यो वर्ष केही सांस्कृतिक परिस्कार पनि देखियो । हरेक वर्ष बन्चरोले काट्ने बिस्काको लिंगो यो वर्ष मेसिनले काटियो । साथमा मान्छेले जात्रा गर्दै ल्याउनुपर्ने लिंगो यो वर्ष डोजरले तानेर ल्याइयो । यहीँदेखि अमूर्त सांस्कृति सम्पदाको रुपमा रहेको एउटा आस्थामा परिवर्तन गरिएको बताउँछन् भक्तपुर पर्यटन विकास समितिका महासचिव दीपेशराज शर्मा ।

बिस्काः जात्राको अमूर्त पक्ष

बिस्काः जात्रा देख्नमा मूर्त सांस्कृतिक सम्पदा जस्तो भए पनि यसमा रहेको अमूर्त सम्पदा उत्ति नै महत्वपूर्ण छ । बिस्काःमा तानिने रथ सांस्कृतिक सम्पदा होला तर यसको बारेमा रहेका अनेकौं विश्वासहरु आफैँमा अमूर्त सम्पदाका उदाहरणहरु हुन् ।

जुन आस्था जसले हामीलाई अनुशासनमा राखेको छ, यही आस्था नै अमूर्त सम्पदा हो जहाँ रथ तान्ने विषयमा विवाद हुन्छ, विविध बहाना बनाएर जात्रा रोक्नुपर्छ भन्ने तर्क पनि एउटा विश्वास जोडिएको विषय रहेकोले यो पनि आफैँमा अमूर्त सम्पदा रहेको बताउँछन् भेले । यसबाहेक यसमा रहेको अनेकौं किंवदन्ती एवं आस्थाहरु आफैँमा अमूर्त सम्पदाहरु हुन् ।

यो साल तोकिएको दिनमा पनि केही ढिलो मात्रै उक्त लिंगो ठड्याइएको थियो । लिंगो उभ्याउन नसकेको कुरालाई डोजरको प्रयोग गरेकोले यसलाई समयमा नै उभ्याउन नसकेको भनेर स्थानीयले आपसमा कुराकानी सुनाए । यो पनि एक किसिमको आस्था र अमूर्त सम्पदा हो भन्छन् भेले ।

भक्तपुरमा उभ्याउने लिंगो ढालिसकेपछि उक्त टाउकोको फूल लिन सक्यो भने उसको फलिफाप हुन्छ भन्ने विश्वास छ । त्यो पनि एउटा अमूर्त सम्पदा हो ।

‘विश्व विजय’को सम्झना !

चैतको ३१ गते उठाएर वैशाख १ गते ढालिने यो लिंगलाई हलिंग पटः भनिन्छ । त्यसको अर्थ भनेको विश्व ध्वजा भन्ने हुन्छ ।

बिस्काः जात्राको सुरुवात मध्यकालमा भयो । तर यो सिं द्यो अर्थात् लिंगो उभ्याउने यो संस्कृतिको इतिहासबारे ज्ञात छैन । यो बिस्काःभन्दा पुरानो संस्कार हो ।

महासचिव शर्माका अनुसार काठमाडौं उपत्यकामा पनि राजाको बस्ती रहेको भक्तपुरका राजाहरूले तिब्बतदेखि लद्दाखसम्म महिनौं हिँडेर जितेपछि उनीहरुले सारा विश्व जितेको सम्झिए । जसका कारण विश्वकेतुको प्रतीकको रुपमा एउटा लिंगो उभ्याएर विश्व विजयको संकेत सबैलाई दिन थालियो । यही नै पछि संस्कृति बन्यो र अहिले आस्थाको स्रोत पनि बन्यो ।

तर बिस्काःको इतिहास ४०० वर्ष पुरानो छ । विस्काको सम्बन्ध विश्नाथसम्म पनि रहेको पाइन्छ ।

तान्त्रिक मतको विश्वास

यो जात्रा एक किसिमको तान्त्रिक विधिबाट मनाइने जात्रा पनि यो । यसको विषयमा पनि छुट्टाछुट्टै विश्वासहरू छन् ।

भनिन्छ, यो जात्रा हेर्न काशी विश्वनाथ पनि आउने गर्थे । एकपटक आएका विश्वनाथलाई यहाँका तान्त्रिकहरुले चिनेर उनलाई समात्न खोज्दा उनी आफ्नो शक्तिले जमिनमा भासिन खोजे । उक्त तान्त्रिकले विश्वनाथको टाउको काटेको कारणले अहिले भक्तपुरमा अहिले पनि हँसियाले धान काट्ने गर्दैनन् । यो पनि अर्काे आस्था हो र यही अमूर्त सम्पदा पनि ।

अर्काेतर्फ भक्तपुरलाई तान्त्रिक केन्द्रको रुपमा विकास गर्नको लागि महादेवको स्तुति महत्वपूर्ण हुन्छ र त्यसमा पनि भैरवको स्तुति बढी प्रभावकारी हुन्छ भन्ने विश्वास छ । त्यसैले बिस्काः जात्रामा भैरवको शिरलाई महत्व दिइन्छ । भैरवको मुकुटलाई बाहिर निकालेपछि भक्तपुर क्षेत्रका सबै मन्दिरका देवतालाई एक स्थान तल राख्ने गरिन्छ । यो पनि अर्काे एउटा अमूर्त सम्पदा हो । शर्माका अनुसार तान्त्रिक रूपमा शक्तिशाली देवताको सम्मानको लागि एक स्थान तल राखेको भन्ने धार्मिक मान्यता यसमा पाइन्छ भने वर्षको एकदिन भए पनि भगवानको पादपीठ सफा होस् भनेर पनि यस्तो गरिएको हो ।

यो बनारसको भैरवको शिर हो र शरीर बनारसमा नै छ भन्ने विश्वास गरिन्छ । यही विश्वासलाई पुष्टि गर्छ वनारसबाट आएका ४ जना कानफटा योगीहरुले भक्तपुरमा दिने बलीको संस्कारले । फेरि भैरवलाई आइतबार यथास्थानमा राखेपछि सबै देवतालाई समेत यथास्थानमा राख्ने गरिन्छ । यो पनि रोचक खालको संस्कृति रहेको शर्मा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?