Comments Add Comment

प्रधानमन्त्री र विप्लवबीच फेरि भेट, बन्दी नछुटेकोमा असन्तुष्टि

५ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका हुन् ।

भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अनलाइनखबरलाई बताए ।

कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै विप्लवले यसअघि ९ चैतमा पनि प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गरेका थिए ।

विप्लव समूहका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन् । अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन् ।

विप्लव समूह र सरकारबीच २० फागुनमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

यो पनि पढ्नुहोस जघन्य अपराधमा पनि विप्लव समूहले छुट पाउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment