
५ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झण्डै दुई साता लामो भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरे ।
शाहलाई भारतको उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेला आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले हिन्दू सम्राटको हैसियतमा सहभागी हुन २०७७ साल चैत १० गते पत्र पठाएका थिए । सोही पत्रका आधारमा पूर्वराजा शाह चैत २६ गते भारततर्फ प्रस्थान गरेका उनका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई बताए ।
पाठका अनुसार २७ गतेसम्म दिल्लीमै बसेका शाहले केही विशेष भेटघाट पनि गरे । २८ गते दिउँसो हरिद्वार पुगेका उनले भोलिपल्ट त्यहाँ रहेको माँ दक्षिणकालीको पूजा अर्चना गरे, जुन झन्डै ४५ मिनेट चल्यो ।
पूर्वराजा शाहलाई अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष महन्थ नरेन्द्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष महन्थ रवीन्द्र पुरीलगायतका अन्य थुप्रै साधु सन्तले उनलाई स्वागत गरे । एउटा सार्वजनिक कार्यक्रममा अभिनन्दन भयो ।
३० गते सोमबारे औंसीको दिन हरिद्वारको गंगा किनारमा हजारौं साधुसन्तका बीचमा उनले स्नान गरे । त्यसपछि अखडादेखि गंगाको हर्किपौरीसम्म रथारोहण गरे । ३१ गते बिहान पतञ्जली योगपीठमा गएका उनले बाबा रामदेवसँग ध्यान, योग र आयुर्वेदको महत्वबारे छलफल गरेका थिए ।
साँझ हरिद्वारमा गंगा किनारमा आरती गर्न पुगे । त्यसक्रममा उनले आफूले पहिला पनि हरिद्वारको भ्रमण गरेको, तर यसपालि कुम्भमेलामा सहभागी हुन आएको प्रतिक्रिया दिएका थिए ।
१ गते बुधबार सडकमार्ग हुँदै दिल्ली फर्किएका पूर्वराजा शाह ४ गतेसम्म त्यहीँ बसे । ५ गते बिहीबार कोरोना परीक्षण गराएका उनी आइतबार दिउँसो नेपाल फर्किएका हुन् ।
प्रतिक्रिया 4