Comments Add Comment

प्रदेश २ को नाम मधेस राख्‍न जसपा र माओवादीले दर्ता गराए बेग्लाबेग्लै प्रस्ताव

५ वैशाख, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न २ वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्मका लागि प्रस्ताव आह्वान गरेपछि आइतबार दुई वटा प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार दुवै दलले छुट्टाछुट्टै रुपमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढ जसपाका सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेस हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा सांसदहरु रानी शर्मा तिवारी र वविता कुमारीले समर्थन जनाएका छन् ।

माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले मधेस नामाकरण हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साहले समर्थन गरेका छन् ।

राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै जसपाका सांसद परमेश्वर साहले दर्ता गराएको प्रस्तावमा चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीराकुमारी साहले समर्थन जनाएका छन् भने माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साह समर्थक छन् ।

प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्न कुल सांसद संख्याको दुई तिहाइ आवश्यक पर्दछ । प्रदेश २ मा १०७ जना सांसद रहेकोमा ४ जनालाई माओवादी केन्द्रले बर्खास्त गरेपछि अहिले प्रदेशमा १०३ जना सांसद छन् । यसको दुई तिहाइ ६९ जनाले समर्थन गरेमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिन सक्छ ।

सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम मधेस र स्थायी राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराए पनि यी दुई दलको समर्थनमा मात्रै यो कार्य पूरा हुँदैन । जसपाको ५५ र माओवादी केन्द्रका ७ गरी ६२ जना सांसद हुन्छन् । यसमा अझै ८ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशमा नेकपा एमालेको २१, नेपाली कांग्रेसको १९ नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

यसअघि प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि भएको प्रयास असफल भएको थियो । ४ चैत २०७६ मा नामाकरण र राजधानीका लागि मतदान भएको थियो । मतदानमा प्रदेशको नामसम्बन्धी चारवटा र स्थायी राजधानी तोक्ने तीनवटा प्रस्ताव अस्वीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment