Comments Add Comment

चिकित्सकको आग्रह : बालबालिकालाई घरबाहिर नलैजाऔं

५ वैशाख, काठमाडौं । बाल स्वास्थ्य चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले कोभिड–१९ को संक्रमणबाट बालबालिकालाई जोगाउन पाँच बुँदे अपिल जारी गरेको छ ।

आइतबार विज्ञप्ति निकालेर सोसाइटीले अति आवश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई घरबाहिर नलैजान आग्रह गरेको छ । केही गरी जानुपरेमा मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।

कोरोना भाइरस महामारी द्रुत गतिमा फैलिएकाले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमा मात्र  बालबालिकालाई विद्यालय पठाउन पनि सोसाइटीले अपिल गरेको छ । त्यस्तै सार्वजनिक वा अन्य साधनबाट यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र बालबालिकामा कुनै समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा गई सल्लाह लिन पनि बालबालिकासम्बन्धी चिकित्सकले आग्रह गरेका छन् ।

सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टले विज्ञप्ति जारी गरी ठूला व्यक्तिहरुको तुलनामा बालबालिकामा कम परीक्षण भएकाले बालबालिकामा संक्रमण हाल देखिएको भन्दा बढी हुन सक्ने बताएका छन् ।

बालबालिकामा लक्षण नदेखिए पनि रोग भएको भए सार्न सक्ने भन्दै सोसाइटीले बच्चाहरुमा रोग लागेको ४ देखि ६ हप्तापछि सिकिस्त हुन सक्ने, त्यसको उपचार निकै महंगो हुने र आईसीयूकै आवश्यकता पर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ बच्चाहरुलाई कोभिड-१९ लाग्न नदिई त्यसको रोकथाम गर्नु नै यो समस्याको समाधान हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment