Comments Add Comment

जसपाका ४ सांसद मन्त्री बन्दा एक पक्षको कारबाही, अर्को पक्षको बधाई

मन्त्रीको सपथ लिँदै जसपाका नेताहरु ।

७ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ४ सांसद सरकारमा सहभागी भएको विषयमा पार्टीकै दुई समितिले आपसमा विपरीत प्रतिक्रिया जनाएका छन् ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलले उनीहरुसँगसँग स्पष्टीकरण माग गरेको छ । तर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीका अध्यक्षले भने बधाइ दिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जनता समाजवादी पार्टीका सांसदहरु कल्पना पाण्डे, विजय बहादुर यादव र सुमन रायमाझीलाई मन्त्री र सन्तोषकुमार पाण्डेलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुले सोमबार नै सपथ लिएका थिए ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् ।

‘पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’ पत्रमा सोधिएको छ, ‘दल र दलका नेताको निर्देशन (ह्वीप) किन उल्लंघन गरेको हो ? प्रचलित कानून र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन केका आधारमा गरेको हो ?’

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रक्रिया अघि बढाउने दलका नेता यादवले बताए ।

पूर्वसमाजवादी पार्टीका नेता यादव बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका हुन् । जसपामा यो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन् ।

त्यस्तै जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समिति समितिका अध्यक्ष रविदत्त मिश्राले विज्ञप्ति निकालेर मन्त्री भएकाहरुको सफल कार्यकालको शुभकामना दिएका छन् । उनले पार्टीको प्रत्यक्ष सम्पर्कमा रही पार्टीको निर्देशनअनुसार लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिएको पनि उल्लेख गरेका छन् ।

पार्टीका केही नेताले तानाशाही प्रवृत्ति देखाउँदै विना बैठक र छलफल राय सल्लाह नै नगरी निजहरुसँग स्पष्टीकरण सोधेको भन्दै मिश्राले आपत्ति जनाएका छन् ।

मिश्रा पूर्वराजपा पक्षका हुन्, यो पक्षका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु केपी शर्मा ओलीसँग सहकार्यको पक्षमा छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment