Comments Add Comment

टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिनेमा सन्दीपले उछिने करणलाई

८ वैशाख काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा मंगलबार नेदरल्याण्ड्सविरुद्ध ४ विकेट लिँदै सन्दीपले विकेट संख्या ४२ पुर्‍याएका छन् ।

नेदरल्याण्ड्सविरुद्ध खेल्नुअघि करण केसीको ४० विकेट थियो भने सन्दीपको ३८ विकेट थियो । सन्दीपले ४ विकेट लिँदा करणले १ विकेटमात्र लिए । सन् २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले २३ खेल खेल्दै ४२ विकेट लिएका हुन् । सन्दीपको उत्कृष्ट प्रदर्शन ४/२० हो ।

नेदरल्याण्ड्सविरुद्ध उनले नेपालका लागि सर्वाधिक ४ विकेट लिए पनि महँगा सावित भए । उनले ४ ओभरमा ४८ रन खर्चे । नेपालले पहिले ब्याटिङ गर्दै २०६ रन बनाएपछि नेदरल्याण्ड्सले २०७ को लक्ष्य ३ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको थियो ।

सन् २०१५ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका करणले ३१ खेल खेल्दै ४१ विकेट लिएका हुन् । करणको उत्कृष्ट प्रदर्शन ४/१७ हो ।

यस्तै नेपालले खेलेको पहिलो टी-२० देखि अहिलेसम्म खेलिरहेका मध्ये एक सोमपाल कामीले ३१ खेल खेल्दै २८ विकेट लिएका छन् । मंगलबार उनले नेदरल्याण्ड्सविरुद्ध कुनै विकेट लिन सकेनन् ।

नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेल्दै बलिङ गरेका मध्ये शरद भेषवाकर र रासिद खानले मात्र विकेट लिन सकेका छैनन् ।

ब्याटिङतर्फ भने टी-२० अन्तर्राष्ट्रियमा पारस खड्काले सर्वाधिक ७९९ रन बनाएका छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ५९९ रन बनाएका छन् । करण केसीले १८३ र सन्दीप लामिछानेले २० रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment