Comments Add Comment

६० रुपैयाँ लिटरमा किनेको पेट्रोलमा ५५ रुपैयाँ कर

पेट्रोलको भाउ १० महिनामा प्रतिलिटर १७ रुपैयाँ वृद्धि

८ वैशाख, काठमाडौं । नेपाल आयल निगमले नयाँ वर्षसँगै वैशाख ४ गते अबेर साँझ पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गर्‍यो । नयाँ मूल्य समायोजन अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढायो । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य दुई रुपैयाँले वृद्धि भयो ।

नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजल/मट्टितेलको १०४ रुपैयाँ पुग्यो । यस्तै आन्तरिक हवाई इन्धनको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । गत चैत २२ गते मात्रै इन्धनको मूल्य बढाएको निगमले १४ दिनमै पुनः मूल्य बढाउने निर्णय गर्‍यो ।

१० महिनामा ११ पटक बढ्यो पेट्रोलको भाउ

चालु आर्थिक वर्षको १० महिनामा १३ पटक निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । जसमा ११ पटक पेट्रोलको भाउ बढेको छ भने दुई पटक मूल्य स्थिर रह्यो ।
११ पटक डिजल तथा मट्टीतेलको मूल्य समायोजन हुँदा आठ पटक भाउ बढेको छ भने दुई पटक भाउ घटेको निगमले जनाएको छ । गत साउनदेखि वैशाख पहिलो सातासम्म आइपुग्दा पेट्रोलको भाउ प्रतिलिटरमा १७ रुपैयाँले बढेको छ । आर्थिक वर्षको पहिलो पेट्रोलियम पदार्थ समायोजनको दिन साउन १७ मा १०४ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको भाउ वैशाख ४ को समायोजनसम्म आइपुग्दा १२१ रुपैयाँ पुगेको छ ।

गत साउन १७ मा १०४ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको भाउ वैशाख ४ को समायोजनसम्म आइपुग्दा १२१ रुपैयाँ पुगेको छ ।

यस्तै डिजल तथा मट्टीतेलको भाउ १० महिनामा लिटरमा १४ रुपैयाँ बढेको छ । साउन १७ गते ९० रुपैयाँ प्रतिलिटर रहेको डिजल तथा मट्टीतेलको भाउ ४ वैशाखसम्म आइपुग्दा १०४ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस अवधिमा डिजल तथा मट्टीतेलको भाउ ९ पटक बढेको छ भने एक पटक स्थिर र एक पटक भने घटेको निगमको विवरणले देखाउँछ । चालु आर्थिक वर्षमा एक पटक मात्रै खाना पकाउने ग्याँसको मूल्य बढेको छ । गत माघ २८ गते निगमले खाना पकाउने ग्याँसको प्रति सिलिण्डरमा २५ रुपैयाँले मूल्य बढाएको थियो ।

किन बढ्यो पेट्रोलियम पदार्थको भाउ

इन्धनको मूल्य बढ्नुमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य बढ्नु र डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनु प्रमुख कारण रहेको निगमको दाबी छ । पहिलो चरणको लकडाउन सकिएपछि नेपालले खरीद गर्ने बे्रन्ट कच्चा तेलको मूल्य निकै उकालो लागेको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

नेपालले तेलको रकम भुक्तानी गर्ने डलर महँगो हुनु र नेपाली रुपैयाँको अवमूल्यन बढ्दै जाँदा त्यसको असर पेट्रोलियम पदार्थको मूल्यमा परेको निगमको दाबी छ ।

अन्तर्राष्ट्रिय मूल्य घटे घट्ने र बढे बढ्ने स्वाभाविक प्रक्रिया भएकाले इन्धनको मूल्य वृद्धिमा निगमको भूमिका खासै नभएको दाबी प्रवक्ता उपाध्याय गर्छन् । अन्तर्राष्ट्रिय मूल्य वृद्धिकै कारण १५ दिनमा अहिले पनि ७० करोड ६६ लाख रुपैयाँ घाटामा निगम रहेको उनले बताए ।

‘हामीलाई अझै पनि पेट्रोलमा ६.७२ पैसा, डिजलमा ४४ पैसा र खाना पकाउने एउटा ग्याँस सिलिण्डरमा ४१८ रुपैयाँ घाटा छ । हरेक महिना झण्डै डेढ अर्बका दरले निगमको घाटा बढिरहेको छ’, प्रवक्ता उपाध्यायले भने ।

पछिल्लो चार महिनामा निगम झण्डै ७ अर्ब रुपैयाँ घाटामा रहेको र यही अनुपातमा घाटा बढे निगमको नाफा र मूल्य सञ्चित कोषको रकमले पनि नधान्ने अवस्था आउने उनको भनाइ छ ।

‘कोषमा अहिले १२/१३ अर्ब रुपैयाँ बाँकी छ, मासिक हामीले १६/१७ अर्बको पेट्रोलियम किनिरहेका छौं, अहिलेकै दरले घाटा बढ्ने हो भने निगम टाटपल्टिन्छ र आपूर्तिमा पनि समस्या आउन सक्छ’, उनले भने ।

खाना पकाउने ग्यासमा मात्रै निगमलाई हरेक १५ दिनमा ६० करोड रुपैयाँ घाटा रहेको निगमको दाबी छ ।

कति बढ्यो कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य ?

चालु आर्थिक वर्षमा निगमले साउन १७ गते (एक जुलाई २०२०) देखि मूल्य वृद्धि शुरू गरेको थियो । सो दिन अन्तर्राष्ट्रिय बजारमा निगमले किन्ने ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४३.१३ डलर थियो । त्यसयताको १० महिनामा उच्चतम बिन्दु ६९.९५ डलर प्रति ब्यारेलसम्म भाउ पुगेको तेलको अन्तर्राष्ट्रिय मूल्य इतिहास तथ्यांक राख्ने वेबसाइट म्याक्रोट्रेन्डमा उल्लेख छ ।

१ सेप्टेम्बरदेखि ३० अगष्टसम्म निरन्तर ओरालो लागेर ३५ डलर प्रतिब्यारेलसम्म झरेको कच्चा तेलको भाउ ५ मार्चमा उच्च बिन्दु प्रति ब्यारेल ६९.९५ मा पुगेको थियो । १९ अप्रिलसम्म आइपुग्दा प्रति ब्यारेल ६७.०८ डलरमा झरेको छ । एक ब्यारेलमा १५८.९८ लिटर कच्चा इन्धन हुन्छ ।

भारतसँग प्रतिलिटर ६० रुपैयाँ ५५ पैसामा किनेको पेट्रोलमा सरकारले ५५.८६ पैसा कर लगाएको छ । व्यावसायिक प्रयोजनमा उपभोग हुने हवाई इन्धन ५२ रुपैयाँ २३ पैसामा खरीद गरेर सबैभन्दा थोरै १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ ।

६० रुपैयाँको पेट्रोलमा ५५ रुपैयाँ कर

सरकारले कर असुल गर्ने प्रमुख अस्त्रको रूपमा पेट्रोलियम पदार्थलाई बनाएको छ । भारतसँग प्रतिलिटर ६० रुपैयाँ ५५ पैसामा किनेको पेट्रोलमा सरकारले ५५.८६ पैसा कर लगाएको छ ।

यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८.५३ रुपैयाँ र ५५ रुपैयाँ ६१ पैसामा किनेको मट्टितेलमा १९.९८ रुपैयाँ कर लगाइएको छ ।

व्यवसायिक प्रयोजनमा उपभोग हुने हवाई इन्धन ५२ रुपैयाँ २३ पैसामा खरीद गरेर सबैभन्दा थोरै १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ । सरकारले १२४६ रुपैयाँ ९ पैसामा खरीद गरेको एक सिलिण्डर खाना पकाउने ग्याँसमा २३७ रुपैयाँ ८१ पैसा कर थपेको छ ।

कर पुनर्मूल्यांकन गर्छौं

इन्धनमा लगाइँदै आएको कर सम्बन्धमा विवाद चलिरहेकै बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने करको पुनर्मूल्यांकनबारे छलफल थालेको जनाएको छ ।

इन्धनमा लगाइएको कर अत्यधिक भएको र यसले उपभोक्तामा परेको असरबारे मन्त्रालयले प्राथमिक चरणको छलफल शुरू गरेको निगमका अध्यक्ष एवं वाणिज्य सचिव दिनेश भट्टराईले बताए ।

बजेटमार्फत आर्थिक ऐनले मात्रै करको दरमा हेरफेर गर्ने भएकाले बजेट आउँदासम्म करको पुनर्मूल्यांकनका लागि कुर्नुपर्ने सचिव भट्टराईले बताए ।

‘प्राइमरी तहको छलफल भएको छ, कर आर्थिक ऐनमार्फत बजेटले व्यवस्था गर्छ । अब नयाँ बजेटसम्मै यसबारे पर्खनुपर्ने अवस्था छ’, सचिव भट्टराईले भने ।

करको दर घटाएर बढ्दो मूल्यमा उपभोक्तालाई राहत दिन मन्त्रालयले उच्चतम प्रयास गरिरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment