+
+
Shares

माधव समूहको अपीलः असहमतिहरु बैठकबाट समाधान गर्न सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १४:२४

९ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर अपील जारी गरेको छ । स्थायी कमिटीका नेताहरुले सामूहिक रुपमा जारी गरिएको अपीलमा पार्टीको विवाद बैठकबाट समाधान गर्न सकिने उल्लेख गरिएको छ ।

‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग पनि उहाँका पनि अनेक असहमति हुन सक्छन् । जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत् बैठकबाट समाधान गर्न सकिन्छ’, अपीलमा उल्लेख छ । त्यसका लागि अदालतको फैसलाअनुसार, एमाले २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने उल्लेख गरिएको छ ।

अपीलमा अध्यक्ष ओलीप्रति कडा आक्रोश पोखिएको छ । ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरिएको छ । दोस्रो महाधिवेशनमा कार्यक्रम पुष्पलालको पारित भए पनि नेतृत्वमा रायमाझी आएको उल्लेख छ । त्यही घटना २०७१ मा सम्पन्न नवौं महाधिवेशनमा दोहोरिएको जनाइएको छ ।

नवौं महाधिवेशनबाट पारित कार्यक्रमका विरोधी ओली नेतृत्वमा आएपछि कार्यदिशा, विधान र विधि–पद्धति लत्याउनेतिर लागेको अपीलमा उल्लेख छ । अहिले ओली कम्युनिष्ट पार्टीलाई विसर्जन र विभाजनतिर लगेको आरोप लगाइएको छ ।

‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलाई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिष्ट आन्दोलनकै विसर्जनको दिशा हो’, अपीलमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?