Comments Add Comment

नेपालगञ्जको दृश्य : बेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी

९ वैशाख, काठमाडौं । ‘अस्पताल ल्याइएको बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन्छ । तत्काल अक्सिजन दिएर उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई पनि बेड छैन भन्नुपर्ने हाम्रो बाध्यता छ ।’ 

भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माको यो भनाइले कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको अवस्था दर्शाउँछ ।

हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये धेरै होम आइसोलेनसमा छन् भने कतिपयलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छन् । तर अस्पतालहरुमा बेड पाइन छाडेको छ । तत्काल अक्सिजन सपोर्ट दिएर उपचार गराउनुपर्ने कोरोना संक्रमितहरु समेत कहिले बेड खाली होला भनेर अस्पताल बाहिर कुरिरहेका छन् ।

बाँकेमा भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ । दुवै अस्पताल संक्रमित बिरामीले भरिएका छन् । गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई राखेर उपचार गराउने बेड अभावका कारण बिरामीहरुले पालो कुरेर उपचार गराउनुपर्ने अवस्था आएको बाँकेका फोकल पर्सन तेज ओलीले अनलाइनखबरलाई बताए ।

भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माका अनुसार होम आइसोलेसनमा बसेकाहरु स्वास्थ्यमा समस्या आएपछि र अन्य अस्पतालबाट रिफर भएर आउने बिरामीको संख्या एकसाता यता बढ्दो छ । ‘अस्पतालमा रहेका बिरामीको अवस्था र उपचार गराउन आउनुभएका बिरामीको अवस्था उस्तै देखिन्छ’ शर्माले भनिन्, ‘कसलाई राख्ने कसलाई नराख्ने भन्ने समस्या हुन्छ ।’

उनले अघि भनिन्, ‘अस्पताल आइसकेका बिरामीलाई हामीलाई फर्काएका छैनौं । अन्य ठाउँको बेड तानेर भएपनि जसोतसो उपचार गरिरहेका छौं । यसरी उपचार गर्दा बिरामीलाई असहज महसुस भएको त अवश्य  हुनसक्छ । तैपनि यसरी उपचार गर्नुको विकल्प हामीसँग छैन ।’

एकसाता यता दैनिकजसो उपचार गराउन आएका बिरामीहरुले अस्पतालको गेटमा पालो कुरेर बस्नुपर्ने अवस्था आएको उनले बताइन् । शर्माका अनुसार अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि १०२ र शंकास्पद बिरामी राख्नका लागि ४० वटा बेड छुट्याइएको भएपनि कोरोना पुष्टि भएका बिरामी बढी देखिएपछि सबैजसो बेडमा संक्रमित बिरामी राखेर उपचार भइरहेको छ ।

‘बिहीबार साँझसम्म १३९ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक/दुई जनाबाहेक सबै बिरामीलाई कुनै न कुनै मोडबाट अक्सिजन सपोर्ट दिएर उपचार गराइरहेका छौं,’ इन्चार्ज शर्माले भनिन् । अस्पतालमा उपचार गराइरहेकामध्ये १५ जनालाई आईसीयूमा, ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताइन् ।

मेडिकल कलेजमा पनि बेड अभाव

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई राखेर उपचार गर्न बेड अभाव रहेको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनौडियाले जानकारी दिए ।

डा. कनौडियाले भने, ‘६५ जना कोरोना संक्रिमितको उपचार भइरहेको छ, जसमध्ये २९ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई आईसीयू कक्षमा राखेर उपचार गराइरहेका छौं । थप गम्भीर प्रकृतिका बिरामी राखेर उपचार गराउनका लागि यहाँ पनि बेड खाली छैन ।’

बुधबार मात्रै आईसीयूमा बेड अभावका कारण एकजना महिलाले ज्यान गुमाउनुपरेको उनले बताए । डा. कनौडियाले भने, ‘उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो । आईसीयूमा राखेर उपचार गराउने पर्ने थियो । तर अस्पतालमा बेड खाली थिएन । आईसीयूमा राखेर उपचार गराउन पाएको भए उहाँको ज्यान बच्न सक्थ्यो ।’

डा. कनौडियाका अनुसार ६५ जना कोरोना संक्रमित बिरामीमध्ये ३६ जना मध्यम खालका भएपनि उनीहरुलाई पनि अक्सिजन सपोर्टमा राखेर उपचार गरिएको छ । ‘पहिले र अहिले देखिने संक्रमण फरक छ । संक्रमण पुष्टि भएका व्यक्तिहरुमा उच्च ज्वरो, निमोनिया तथा श्वासप्रश्वासमा समस्या छ । त्यसैले पनि उनीहरुलाई सामान्य बेडमा राखेर उपचार गराउने अवस्था छैन’ उनले भने, ‘जति बिरामीहरु आएका छन्, सबैजनामा गम्भीर लक्षण देखिएको छ ।’

जनशक्ति अभाव

कोरोना संक्रमितको संख्या बढिरहेका बेला उनीहरुको उपचारमा खटिने जनशक्तिको अभाव भएको छ ।

कोरोना संक्रमितले अस्पताल भरिएपछि उपचारमा खटिने जनशक्तिको अभाव सिर्जना भएको भेरी अस्पतालले जनाएको छ । ‘अस्पताल आइसकेका बिरामीलाई राख्नका लागि अहिलेसम्म जसोतसो व्यवस्था मिलाएका त छौं । तर जनशक्ति अभावका कारण उपचारमा समस्या आएको छ’ कोभिड वार्डकी इन्चार्ज शर्माले भनिन् ।

‘कोभिड वार्डमा ३९ जना स्टाफ छन्, जसलाई तीन सिफ्टमा विभाजन गरेका छौं’ शर्माले अगाडि भनिन्, ‘भर्ना भएका सबै बिरामीलाई अक्सिजन सपोर्ट दिनुपर्ने छ । तर एकजना स्टाफले २५/३० जनालाई हेर्नुपर्ने अवस्था छ । तैपनि हामीले बिरामीको उपचार गरेकै छौं ।’

अक्सिजन सपोर्ट भएको आइसोलेसन सेन्टर बनाउन आग्रह

कोरोना संक्रमण दर उकालो लागेसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षसँग  छलफल र पहल  गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले बताए ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मात्रै कोरोना संक्रमितको उपचार गराउने सम्भावना नरहेका कारण सबै स्थानीय तहलाई अक्सिजनसहितको ५० बेडको आइसोलेसन तयार गर्न सुझाव दिएको ओलीले बताए ।

उनले भने, ‘प्रत्येक दिन कोरोना ग्राफ उकालो लागिरहेको छ । कोभिड बिरामीले सबै अस्पताल भरिइसकेको अवस्था छ । अब संक्रमितलाई राखेर उपचार गराउनका लागि स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन तयार गर्नुको विकल्प छैन ।’

कोभिड बिरामीले अस्पताल भरिभराउ भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना संक्रमित राखेर उपचार गराउनका लागि अक्सिजनसहितको ५० बेडको आइसोलेसन थप्ने तयारी गरेको छ ।

नेपालगञ्ज उपमहागरपालिका–२० स्थित मनिकापुरमा १२० बेडको क्वारेन्टिन सञ्चालनमा ल्याएको उपमहानगरले अक्सिजनसहित ५० बेडको आइसोलेसन बनाउने तयारी गरेको उपमेयर उमा थापामगरले अनलाइनखबरलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘अक्सिजनसहितको ५० बेडको आइसोलेसन सञ्चालनको तयारी भइरहेको छ । तर अक्सिजन अभावका कारण सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको छ ।’

कोरोना संक्रमण रोक्न एकसाता लामो लकडाउन गरिएको उपमेयर थापामगरले बताइन् । उनले भनिन्, ‘नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । हेल्थ डेस्क राखेर स्वास्थ्य चेक जाँच गरिएको छ । जनस्तरमा कोरोनासम्बन्धी जनचेतना फैलाउन जस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।’

एकैदिन दुई जनाको मृत्यु, ३८८ जनामा संक्रमण पुष्टि

बाँकेमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण बिहीबार एकैदिन दुईजना महिलाको मृत्यु भएको छ भने ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।बिहीबार नेपालगञ्ज उपमहानगरपालिका–१ की ६५ वर्षीया र वडा नम्बर १७ की ८६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

बिहीबार बाँकेका चार स्थानमा ४८२ जनाको नमुना परीक्षण गर्दा ३८८ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले बताए । ओलीका अनुसार भेरी अस्पतालमा २७६ जनाको नमुना २४८, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १०७ जनाको नमूना परीक्षण गर्दा ७३ जना, बागेश्वरी ल्याबमा ७४ जनाको परीक्षण गर्दा ५९ जना र जमुनाहा नाकामा २५ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा बिहीबार बिहानसम्म सक्रिय संक्रमितको संख्या १३०० नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment