Comments Add Comment

मेरियट वार्ता : ओलीको तीन चासो, नेपालको एउटै अडान

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताले पार्टी पुनर्मिलनको झिनो आशा दिलाए पनि अभिव्यक्तिले भने समस्या कायमै रहेको प्रष्ट सन्देश दिएको छ । एमालेभित्रै अलग सांगठनिक संरचना सञ्चालन गरिरहेका ओली र नेपालले सार्वजनिक अभिव्यक्तिमार्फत विवाद समाधान उन्मुख नरहेको संकेत गरेका छन् ।

अघिल्लो दिन तय भएको समयअनुसार, बिहीबार दिउँसो मेरियट होटलमा भएको भेटवार्तापछि नेता नेपालले ‘कुराकानीमा कुनै प्रगति’ नभएको प्रतिक्रिया दिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने भेटअघि नै अनुशासनहीनसँग कुनै सम्झौता हुन नसक्ने अभिव्यक्ति दिएका थिए ।

बल्खुमा निर्माण गरिने केन्द्रीय मुख्यालय उद्घाटनमा एकदिन अगाडि मात्रै निम्तो दिएका ओलीले बिहीबार बिहान भने त्यहाँ पुगेर चेतावनीको भाषामा बोले । ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं’, ओलीको भनाइ थियो ।

जबकि, तिक्ततापूर्ण सम्बन्धमा रहेका ओली र नेपाल अघिल्लो साँझ मात्रै आफू निकट नेताहरुसँग सल्लाह गरेर थप कुरा गर्ने सहमतिका साथ उठेका थिए ।

बिहीबार भेटवार्ता अघि र पछिका अभिव्यक्ति र गतिविधिले भने दुवै नेता अडानमा कायमै रहेको बुझ्न गाह्रो पर्दैन । ‘केपी ओली अघिल्लो दिनको कुराबाट पछि हट्नुभयो । यसले वातावरणमा सुधार हुन सकेन’, नेपाल निकट एक नेता भन्छन् । उनका अनुसार, बिहीबारको छलफलका क्रममा अध्यक्ष ओलीले २८ फागुन यता गरिएका निर्णय कायमै राख्ने अडान लिएका छन् ।

अघिल्लो दिनको भेटवार्तामा भने आफू निकट नेताहरुसँग कुरा गरेर नेपाल समूहले राख्दै आएको शर्तबारे निर्णय लिने बताएका थिए । बिहीबार विहान राजधानीमा उपलब्ध केही केन्द्रीय सदस्य र सांसदहरुसँग भएको छलफलमा पनि नेता नेपालले अध्यक्ष ओली सकारात्मक देखिएको बताएका थिए । ‘२ जेठ २०७५ को अवस्थामा पार्टी लैजाने प्रस्तावमा केपी ओलीले यसबारे सल्लाह गरेर भोलि कुरा गरौं भनेका छन्’, नेपालको ब्रिफिङ एक सहभागीले सुनाए ।

तर, त्यसैबेला ओलीले बल्खुबाट कडा अभिव्यक्ति दिए । त्यो भिडियो नेपाल समूहका नेताहरुले सामूहिक रुपमै हेरे ।

यसपछि भने ‘कुरा मिल्ने छाँटकाँट देखिएन, तर पनि कुरा गर्छ’ भन्दै नेपाल ओलीलाई भेट्न गएका थिए । नभन्दै, भेटवार्ता पछि नेता नेपालले कुरा मिल्नेतिर नगएको सन्देश दिए । ओलीतर्फका नेताहरू भने यसबारे बोलेका छैनन् ।

ओलीका तीन चासो, नेपालको एउटै अडान

बिहीबार भएको डेढ घण्टा वार्ता उपलब्धिमूलक र सकारात्मक बन्न नसके पनि अघिल्लो दिन भने ओली र नेपाल बीच लामै समय मन माझामाझ भएको थियो । विगतका घटना र निर्णयहरुमा दुवैले खुलेर कुरा राखेका थिए । स्रोतका अनुसार, ओलीले मूलतः तीन वटा चासो राखेका थिए ।

पहिलो– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध

दोस्रो–वर्तमान सरकारको निरन्तरता

र, तेस्रो– एकअर्कालाई गरिएको कारबाही 

ओलीले अहिले पनि प्रचण्डसँग भइरहेको कुराकानी र योजनाबारे नेता नेपालको विचार बुझ्न चाहेका थिए । सार्वजनिक रुपमा पनि यसबारे ओलीले बताउने गरेका थिए ।

दुवैतर्फका केही नेताहरुको पहलमा टेलिफोन गरी नेपालसँग भएको भेटमा ओलीले ‘एमाले भन्ने, अनि प्रचण्डसँगको उठबस’ बारे प्रष्ट हुनुपर्ने बताएका थिए ।

साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आफूलाई कारबाही पनि सम्झिएका थिए । पटक–पटक आफूमाथि गरिएको कारबाहीकै कारण अहिलेको अवस्था आएको ओलीको तर्क थियो ।  प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकार कसरी टिकाउने भन्नेबारे पनि नेपालसँग कुरा राखेका थिए । ‘एमाले एउटै हुँदा पनि सरकारले निरन्तरता पाउन सक्दैन । अझ, तपाइँहरु अर्को सरकार बनाउनेतिर लाग्नुहुन्छ’, ओलीको भनाइ थियो ।

तर, वरिष्ठ नेता नेपालले भने सर्वोच्च अदालतको फैसलाअनुसार, एमाले २ जेठ २०७५ कै अवस्थाबाट चलेपछि समस्या समाधान हुने बताएका थिए । अहिले देखिएको सबै समस्या २८ फागुन यता गरिएको निर्णयहरुका कारण भएको उनको तर्क थियो ।

मुख्यगरी, एकअर्काले विगतमा गरेका निर्णय र गतिविधिमा केन्द्रित भएको भेटवार्ताको अन्त्यतिर भने सहमतिको विन्दु खोज्नेतिर केन्द्रित भएको थियो । ‘उहाँहरुबीच फेरि बसेर कुराकानी गरौं भन्ने भएरै आज (बिहीबार) फेरि बस्नुभएको हो । अहिलेलाई संवादहीनता तोडिनु नै उपलब्धि हो’, एक नेता भन्छन् ।

तर कार्यकर्ता पंक्तिलाई उत्साहित बनाउनेगरी बुधबार शुरु भएको भेटवार्ता बिहीबारपछि फेरि अनिश्चित बनेको छ । अर्को वार्ताको मिति समेत तय नगरी टुंगिएको छ ।

बरू, दुवै समूह आ–आफ्नै पूर्वनिर्धारित कार्यक्रम अनुसारको गतिविधिमा केन्द्रित भएका छन् । अध्यक्ष ओलीसँग वार्तामा बसेका नेपाल समूहका १९ जनाले बिहीबार नै स्पष्टीकरण बुझाएका छन् भने १५ जना स्थायी कमिटी सदस्यहरुले संयुक्त हस्ताक्षर गरी संयुक्त अपील जारी भएको छ । अध्यक्ष ओलीले नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले संयुक्त अपील जारी गर्ने निर्णय गरेको थियो । ओलीसँग भेटवार्ताले यो अपील रोकिएन । ‘कम्युनिष्ट आन्दोलन विभाजन र विसर्जन गर्नतिर ओली लागेको देखि केशरजंग रायमाझी नियति दोहोरिएको’ समेत आरोप अपीलमा उल्लेख छ ।

अध्यक्ष ओली समूहले पनि भेटवार्ताबाट विवाद समाधान उन्मुख भएको सन्देश दिएन । पूर्वनिर्धारित पार्टी कार्यालय उद्घाटन गर्ने र स्पष्टीकरण सोधिएका नेताहरुले पठाएको जवाफ संकलन गरेको अध्यक्ष ओली समूहले शुक्रबार बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्नेबारे कुनै निर्णय गरेको छैन । बरू, स्पष्टीकरणको भाषा हेरेर थप निर्णय लिनेतिर तयारीमा जुटेको छ ।

‘स्पष्टीकरण नपठाउनु भएकाहरुले भोलि पठाउनु होला । त्यो हेरेर थप निर्णय हुन्छ’, प्रमुख सचेतक विशाल भट्टराई भन्छन् । ६ वैशाखमा बसेको बैठकबाट कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्ने पाँच प्रदेश सांसद र नेता नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment