Comments Add Comment

कोरोना महामारीमा पनि किनमेल गर्न भारत जाने क्रम उस्तै

समुदायमा संक्रमण फैलिने जोखिम

१० वैशाख, बुटवल । भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढे पनि नेपाली उपभोक्ता बेलहिया नाका हुँदै भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन ।

नेपालमा भन्दा सस्तो मूल्यमा लत्ताकपडा, खाद्यान्न, चिनी, दलहन, तेलहन, मसलाजन्य घरायसी सामान किनमेल गर्न रुपन्देही र आसपासका जिल्लाका नेपालीहरु कोरोना संक्रमणको पर्वाह नगरी सुनौली जाउ–आउ गरिरहेका छन् ।

भारतमा कोरोना संक्रमण रोकथाम गर्न विभिन्न राज्यमा लकडाउन गरिएको छ । तर उत्तर प्रदेशमा पर्ने सुनौलीमा लकडाउन छैन । सुनौलीमा सामान किनमेलका लागि जाने नेपालीहरुबाट कोरोना संक्रमण भित्रिने र समुदायस्तरमा फैलिने जोखिम रहेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

भारतमा किनमेल गरेर एकै दिनमा फर्किनेहरुमा कोरोना संक्रमण भए पनि तत्काल ज्वरो र लक्षण नदेखिने भएकाले समुदायमा कोरोना भाइरस पुग्ने जोखिम हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

सुनौलीको ९० प्रतिशत ब्यापार नेपालीमा निर्भर रहेको छ । भारतबाट रोजगारी र अन्य कामको सिलसिलामा गएर फर्केका नेपालीहरुलाई नाकामा राखिएको एउटा हेल्थ डेस्कमा ज्वरो नापेर प्रवेश दिइन्छ । शंकास्पद बिरामी देखिएमा मात्र उनीहरुको एन्टिजेन परीक्षण गरिन्छ ।

तर भारतमा किनमेल गरेर एकै दिनमा फर्किनेहरुमा कोरोना संक्रमण भए पनि तत्काल ज्वरो र लक्षण नदेखिने भएकाले समुदायमा कोरोना भाइरस पुग्ने जोखिम हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

भैरहवाबाट सुनौलीमा किनमेल गर्न गएर फर्केका युवक आशिष अग्रहरिले सुनौलीमा संक्रमण फैलिनसकेकाले सामान किनमेल गर्न जाने गरेको बताए । ‘औषधिलगायत चाहेको सामान यता पाइन्न, उता नगई सुखै छैन’ उनले भने । नाकामा सामान किनमेल गर्न जाने नेपालीको तथ्यांक राख्ने गरिएको छैन ।

बुटवलकी रेनुका विष्ट पनि नेपालमा भन्दा सुनौलीमा सस्तो पर्ने भएकाले कपडा, चिनीलगायत सामान किन्न गएको बताउँछिन् ।

‘बुटवल भैरहवामा दोब्बर महंगो भन्छन्, यहाँ सस्तो पाइन्छ’ विष्टले भनिन्, ‘त्यही भएर मास्क लगाएर किनमेल गरेर आएकी हुँ ।’
किनमेल गर्न सुनौली जाने धेरैजसोले औषधि किन्न र भारतमा दैनिक मजदुरी गर्न जाने बहाना बनाउने गरेका छन् ।

सुनौलीबाट सामान किनेर नेपाली बजारमा बेचेर गुजारा चलाउनेहरु पनि छन् । उनीहरु पनि विभिन्न बहाना बनाएर, प्रहरीको आँखा छलेर सुनौलीमा आउजाउ गर्ने बेलहियाका नागरिक अगुवा राम बस्नेत बताउँछन् । सामान किनमेल गर्न जाने नेपालीलाई पूर्णरुपमा रोक लगाउनुपर्ने र भारतीय ट्रक चालक र सहचालकहरुको अनिवार्य पीसीआर परीक्षण गरेर प्रवेश दिइनुपर्ने बस्नेतको आग्रह छ ।

खुला सीमा भएका कारण भन्सार नाकाबाट भन्दा अन्य स्थानबाट पनि मानिसहरु आवतजावत गर्ने गरेका छन् । उनीहरुबाट पनि संक्रमण फैलिने भएकाले खुला सीमामा सुरक्षा निगरानी बढाउनुपर्ने नागरिक समाज रुपन्देहीका सचिव दीपक रोकाले बताए ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले सुनौलीमा किनमेल गर्न जाने नेपालीलाई कडाइका साथ नियन्त्रण गरिने बताए । ‘बिहीबारसम्म जनशक्ति अभावले खुकुलो थियो, शुक्रबारदेखि कडाइ गरेका छौं’–उनले भने ।
८ दिनमा ३२०० नेपाली भारतबाट आए

भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेपछि रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा भारतमा रहेका नेपालीहरु घर फर्कने क्रम बढ्न थालेको छ । वैशाख १ गतेदेखि ८ गतेसम्म नौ सय ५५ जना महिला र २२ सय ६४ पुरुष गरी ३२ सय १९ नेपाली बेलहिया नाका हुँदै नेपाल आएका प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । वैशाख १ गते दुई सय जना र ७ गते सबैभन्दा धेरै पाँच सय २७ जना नेपाली स्वदेश फर्केका छन् ।

भारतबाट फर्किएकामध्ये शंकास्पद ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको उनले बताए । बेलहिया हेल्थ डेस्कमा कडाइका साथ परीक्षण हुन थालेकाले बेलहिया हुँदै घर फर्किने नेपालीहरु कृष्णनगर, जमुनाह र महेशपुर नाकाबाट भित्रिन थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment