Comments Add Comment

प्रदेश २ मा निजामती सेवा नियमावली बनाउन सांसदहरुको माग

१० वैशाख, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले निजामती सेवासम्बन्धी ऐन पारित गरेपनि बाँकी प्रक्रिया अगाडि नबढाएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै सत्तारुढ र विपक्षी दलका सांसदले सरकार ऐन पारित गराउन मात्रै अग्रसर रहेको र बाँकी काम गर्न नचाहेको बताए ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का सांसद परमेश्वर साहले निजामती सेवासम्बन्धी ऐन बनाएको कुनै अर्थ नभएको बताए । ‘यसको नियमावली, निर्देशिका नबन्दा मनोमानी कर्मचारी भर्ना गर्ने र सरुवा गर्ने खेल भइरहेको छ’ उनले भने, ‘यसले प्रदेशका कर्मचारीको मनोबल गिराउने काम पनि भइरहेको छ ।’

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले निजामती कर्मचारी भर्ना गर्नका लागि नियमावली र निर्देशिका नबनाउनु दुःखद भएको बताए । उनले यो कार्य अबिलम्ब अगाडि बढाउन सरकारसँग आग्रह गरे ।

जसपाकी सांसद रानीकुमारी तिवारीले सरकारले नियमावली बनाउनेतर्फ ध्यान नदिएर ऐन मात्रै पारित गर्ने मनसाय राखेको बताइन् ।

एमालेका सांसद सुन्दरबहादुर विक, जसपाकी सांसद डा. रिना यादव, करिमा बेगमले पनि निजामती कर्मचारी भर्ना गर्नका लागि अबिलम्ब नियमावली र निर्देशिका बनाउनुपर्नेमा जोड् दिए ।

कोरोना रोकथाममा ध्यान दिन आग्रह

शुक्रबारको बैठकमा सांसदहरुले कोरोनाको महामारी बढ्दै गएपनि प्रदेश सरकारले ध्यान नदिएको गुनासो गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले कोरोनाको अवस्था भयावहतर्फ उन्मुख भएपनि प्रदेश सरकार तात्न नसकेको बताए । ‘यो निकम्मा सरकार हो । जनताको स्वास्थ्यसँग कुनै मतलव राखेको छैन’ यादवले भने, ‘अर्बौं रुपैयाँ अन्यथा खर्च गरिरहेको सरकार कोरोनातर्फ कुनै किसिमको ध्यान दिइरहेको छैन ।’

एमालेका सांसद सुन्दरबहादुर विकले सरकारले क्वारेन्टिन, आइसोलेसनतर्फ कुनै ध्यान नदिएको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद दिलिप साहले कोरोना महामारी नियन्त्रण गर्ने सन्दर्भमा प्रदेश सरकारको तयारी शून्य रहेको बताए ।

अध्ययन विशेष समिति गठन

सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक विस्तार गर्ने नाममा ५० बर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आएका ३५ परिवारको उठीबास लगाइएको भन्दै त्यसको अध्ययन गर्नका लागि संसदीय समिति गठन गरिएको छ ।

शुक्रबारको बैठकले सांसदहरु अशोककुमार यादव, उपेन्द्र महतो, जगत यादव, वीरेन्द्र सिंह र बेचु लुंगेली रहनेगरी संसदीय अध्ययन समितिको गठन गरिएको हो ।

ईश्वरपुर नगरपालिकाको निर्णय अनुसार वडा नम्बर ६ मा फुलजोर त्रिभुवन सडक विस्तार गर्ने नाममा १०५ फिट जग्गा लिने भएपछि ३५ परिवारको उठीबास हुने देखिएकाले अध्ययन विशेष समिति गठन गरिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

उक्त सडक निर्माणको स्थलगत अध्ययन गरी एक महिनाभित्र वास्तविक व्यहोरा पत्ता लगाउन समितिलाई कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment